तस्विर: प्रविण प्रसाद जैरु
‘म बाघको डमरु हुँ मलाई सिनो खाने कुकुर नसम्झ’ ! दुई सय छ वर्षअघि भएको नेपाल-अंग्रेज युद्धमा बडाकाजी अमरसिंह थापाले अंग्रेज सेनानायकलाई फर्काएको जवाफ हो यो । अंग्रेज सेनानायक ब्रिगेडियर जनरल डेभिड अक्टोरलोनीले जति भन्छौ, त्यति धन, सम्पत्ति र पद पनि दिन्छु, लडाइँ गर्न छाडेर आत्म-सर्मपण गर भन्दा आत्मसर्मपण गर्नुको साटो ‘म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ’ भन्दै बडाकाजी अमरसिंह थापाले डटेर युद्ध गरे ।
नेपाल राष्ट्र एकीकरण गर्न, जोगाउन, संरक्षण गर्न, विखण्डनबाट रोक्न, राजा, सरकार र जनता सबैले प्रयास गरेको कुरा इतिहास साक्षी छ । आधुनिक नेपालका निर्माणका सुरुवात शाहवंशबाट नै भएको थियो । पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म सीमा पुर्याउन नेपाली वीरवीरंगनाहरूको अथक प्रयास र योगदानले सम्भव भएको हो । योगदान गर्ने व्यक्ति विरलै पाइन्छन् । ती व्यक्तिहरूमध्ये बडाकाजी अमरसिंह थापा पनि एक निर्भीक योद्धा हुन् ।
अमरसिंह थापाले आफूलाई इमानदार, कुशल, साहसी, निर्भीक योद्धा, वीर पुरुषको रूपमा नेपालको मात्र नभई विश्वसामु स्थापित गराएका छन् । उनलाई किताबी पानामा मात्र सीमित गर्दा इतिहासकार र इतिहासका अध्यताले मात्र जानकारी पाउनेछन् । उनले गरेका कामको प्रतिफल त सबै वर्ग र तप्काका जनताले देखेका र पाएका छन् । तर त्यो कुरा सबैका नजरमा हुने गरी इतिहासको इतिहास राख्नुपर्ने आवश्यकता छ । यी कुरा आज ओझेलमा पर्दै गएका छन् । राष्ट्रिय विभूति राष्ट्रको चासो र सरोकारसँग जोडिएको विषय भएकोले राष्ट्रले कुनै पनि हालतमा यस्ता विभूतिलाई बिर्सनु हुँदैन ।
पढ्ने इतिहासभन्दा देखिने इतिहास आजको आवश्यकता भएको कुरा राष्ट्रिय विभूतिले नै बनाएका र बनाउन लगाएका किल्ला, गढी, मठ(मन्दिर, देवल, शतल आदिबाट स्पष्ट हुन्छ । आफ्नो बाबुको मृत्युपछि आठ वर्षको उमेरदेखि नै सैनिक तालिम प्राप्त गर्ने, जन्मजात देश र जनताको लागि मरिमेट्ने सिपाही अमरसिंह थापा हुन् । तिनलाई हामीले राष्ट्रिय विभूतिको रूपमा पाएका छौं र जो आजसम्म अमर छन् । अमरसिंहको नाम र काम नै अमर भएकोले उनी युगौं अमर नै रहिरहनुपर्छ । अमरसिंह थापा इतिहास बनाउन मात्र लागेनन् ।
अमरसिंह थापाले १७ वर्षको कलिलो उमेरमा नै कान्तिपुर विजय गरेपछि सरदार पद पाए । उनले अझ बढी जिम्मेवारीपूर्वक कार्य गरे । त्यो जिम्मेवारी पूरा गर्न ४८ वर्षसम्म राष्ट्रको सेवा गरे । आफ्नो ६५ वर्षगाँठसम्म उनले सारा तन, मन देश र जनताप्रति लगाए । उनको अधिकांश जीवन सैनिक सेवामा बित्यो । उनले देश बाहिरका फौजीसँग लड्नु परेको थियो ।
पहिले एकीकरण नगरेको भए र अमरसिंह थापाले त्यो प्रतिभाशाली योगदान अंगे्रजसँग देखाउन पाउने आशा पनि कम हुन्थ्यो । आधुनिक नेपालको परिकल्पना नै हुने थिएन । आज नयाँ नेपाल भन्ने त कुरै आउने थिएन । आए पनि अर्कै ढंगमा हुन्थ्यो होला । त्यसैले राष्ट्रको लागि मरिमेट्ने योद्धालाई राष्ट्र नै अर्कोले लिन र खान खोज्दा सिंहको जस्तो आक्रमक शैलीमा अंगे्रजसँग लडाइँ गर्न तम्सिए । रगत तातेको समयमा अंगे्रजले धन, दौलत, मानसम्मानको लोभ देखाएर समर्पण गर्न आउ भनेको पछि कर्मवीर योद्धालाई असह्य भयो ।
वीर बडाकाजी अमरसिंह थापाले देशको लागि विभिन्न जिल्लाका किल्ला, गढ, भन्ज्याङ आदि स्थानमा नै शत्रुलाई रोक्ने काम गरे । यसरी दुस्मनलाई थर्काइ, फर्काइ दिएकाले नै अमरसिंहको वास्तविकता उजागर हुन गएको छ । देश जोगाउन र बनाउन, विदेशी शत्रु भगाउने र देश बचाउने योद्धा वीर बडाकाजी अमरसिं थापा नेपालमा सधैं अमर ररिहनेछन् ।
अमरसिंह थापा, पिता उमराव बाघ भीमसिंह थापा र माता उमादेवी थापाको माहिलो छोराका रूपमा विसं। १८०८ साल साउन १२ गते तनहुँ वतनचोकमा जन्म भई १८७३ मा गोसाईंकुण्डको हिमालयतिर नै ब्रह्मलीन भए । आज देशका विभिन्न स्थानहरुमा बडाकाजी अमर सिँह थापाको २०६ औँ स्मृति दिवश मनाईरहेको छ ।
सन्दर्भ सामाग्री: मकालु खवर