अभ्युन्नत बन्नेछ नयाँ बर्ष २०८२
परशुराम नगरपालिकाले नयाँ शैक्षिक सत्रदेखि कक्षा ११ निःशुल्क पढाउने घोषणा गरेको छ ।
डडेल्धुराको अवशरविमुख मानिने भित्रिमधेस क्षेत्रस्थित परशुराम नगरपालिकाले नयाँ शैक्षिक सत्रदेखि कक्षा ११ निःशुल्क पढाउने घोषणा गरेको छ । सम्भवतः मुलुककै कान्छा नगरप्रमुख भरत बडायर जोशीले नयाँ बर्ष २०८२ सालको शुभकामना आदान प्रदानका क्रममा सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारीगर्दै नगर क्षेत्रका सबै विद्यार्थीका लागि पढाई निःशुल्क हुने र नगरपालिकाले शुल्क ब्यहोर्ने जनाएका छन । नगरप्रमुख जोशीले आगामी शैक्षिक सत्रदेखि कक्षा १२ पनि निःशुल्क बनाउने तयारी भइरहेको उत्साहप्रद जानकारी दिएका छन ।
मुलुकको सिमान्त नगरले शैक्षिक उत्थानका लागि गरेको घोषणा कार्यान्वयनको कसीमा कसरी अघि बढ्ने छ ? त्यो भविष्यमा देखिएला तर, नयाँ बर्षको उल्लाससँगै सञ्चार भएको यो नविनतम सन्देशले स्थानीय सरकार जिम्मेवार बन्न सकेमा थुपै्र रुपान्तरण गर्न सकिने अपार सम्भावनालाई उजागर गरेको छ । नतुन बर्षको स्वागत गर्दैगर्दा अन्य स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले पनि यस्तै साना साना खुसी दिने सन्देश सहज रुपमा प्रवाह गर्न सकेमा हरेक नेपालीका लागि नयाँ बर्ष २०८२ अभ्युन्नत वर्ष बन्नेछ ।
राज्य प्रणालीसँग आशा गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा रहेका नागरिकहरुको सेवासुविधा वृद्धिमा ध्यान दिँदै परिवर्तनको अनुभूति प्रदान गर्नु मुलुकका हरेक स्थानीय तहको प्राथमिकता बन्न पुगेको छ । बितेको वर्षको समीक्षा गर्दै अगामी दिनलाई अपेक्षाकृत सफल तुल्याउने प्रतिबद्धता व्यक्त गर्ने नयाँ वर्षको परम्परा हो । हरेक नतुन बर्ष विगतको उपलब्धिको समीक्षा गर्दै कमजोरी सुधार गर्ने अवसर पनि हो । बिदा भएको २०८१ र प्रारम्भ भएको २०८२ बीचको फरक पनि स्वयंको प्रतिबद्धता र सुधारसँग जोडिएको छ ।
नयाँ बर्ष २०८२ को स्वागतका क्रममा परशुराम नगरपालिकाले नगर क्षेत्रका हरेक विद्यार्थीलाई कक्षा ११ निःशुल्क पढाउने घोषणा प्रभावकारी रुपमा कार्यान्वयन हुनसकेमा यसको सिको गर्न देशभरका ७५३ वटा स्थानीय तह बाध्य हुनेछन । शिक्षा र पूर्वाधारको विस्तारमार्फत मानव पुँजीको विकास गर्दा उत्पादन क्षमता वृद्धि हुने र औद्योगिक वृद्धिमा सहयोग पुग्ने भएकाले सिंंगो मुलुकका लागि यो अनुकरणीय सिकाई बन्नेछ । बितेको समयमा गर्न नसकेका कामका बारेमा चिन्ता गर्नुभन्दा त्यसबाट सिकेर भविष्य कसरी उज्ज्वल र उपलब्धिमूलक बनाउने भन्नेबारेमा चिन्तन गर्नु बुद्धीमानी हो । बितेको समयका बारेमा चिन्तन गरेर बस्नु भनेको समय खेर फाल्नु मात्र हो ।
यसर्थ, नयाँ वर्ष मनाउँदै गर्दाको खुसियाली, हर्ष र उल्लास त्यतिबेला मात्र सार्थक हुन जान्छ, जतिबेला हिजोका दिनमा जानेर वा नजानेर भएका वा गरिएका गल्ती आज दोहोरिन पाउँदैनन् । अघिल्लो वर्षको समीक्षा गर्दै गर्दा हरेक व्यक्ति भविष्यप्रति आशावादी हुनैपर्छ । किनभने सुन्दर भविष्य निर्माणका लागि हरेकले असल कर्म गर्नुपर्ने हुन्छ र, नयाँ बर्षले असल कार्य गर्ने उत्प्रेरणा प्रदान गर्छ । हरेक नेपाली नागरिकका लागि २०८१ साल उपलव्धिमुलक र खासै उत्साहप्रद हुन सकेन । नयाँ बर्ष २०८२ लाई सफल बनाउने उपलब्ध अवसरलाई फलदायी बनाउने हो भने परशुराम नगरपालिकाले प्रवाह गरेजस्तै सानै र थोरै भए पनि केहि न केहि नवप्रवद्र्धनात्मक कार्यहरुको आरम्भ गरिनु अपरिहार्य छ ।
नयाँ वर्षको आगमन व्यक्ति, संस्था वा देश स्वयं उत्प्रेरित र उद्देश्यउन्मुख बन्ने उपक्रमसँग जोडिन्छ । तसर्थ जोसुकै व्यक्ति, संस्था वा सरकारका लागि २०८२ का हरेक दिन आफ्नो प्रतिबद्धता पछ्याउने उत्प्रेरणा र कमजोरी सुधार गर्ने साहसद्वारा भरिपूर्ण हुनु जरुरी छ । बि.सं. २०६२-०६३ को ऐतिहासिक जनआन्दोलनको सफलतापछि मुलुकको विकास, सुशासन, सेवा प्रवाह आदिमा व्यापक सुधार गरेर नेपाल र नेपालीको जीवनस्तर उकास्ने प्रमुख एजेण्डा स्थापित बन्न पुगेको हो । आम नागरिकलाई ‘नयाँ नेपाल’ नाम दिइएको यो भाष्य झन्डै पाँच-सात वर्षपछि सेलाउन पुग्यो ।
लोकतन्त्रको प्रयोगशाला मानिने संघीयता विश्वव्यापी प्रचलित लोकप्रिय शासन प्रणाली हो । संघीय राज्यमा केन्द्रमा रहेको समग्र अधिकार एवं सत्ता, शक्ति र स्रोत तल्लो निकायसम्म विकेन्द्रित गरिएको हुन्छ । मुलुकमा युगान्तकारी परिवर्तन ल्याउन सफल जनआन्दोलनका उपलब्धिहरूको रक्षाका लागि यथास्थितिलाई निरन्तरता मात्र दिइरहने हो भने नयाँपनको खोजमा रहेको पुस्ता विरक्तिएर दुस्साहसी विकल्प पहिल्याउनतिर पनि लाग्न सक्ने पछिल्ला राजनीतिक घटनाक्रमहरुले देखाई सकेका छन । जनतामा व्याप्त निराशा चिर्ने गरी ठोस काम गर्न नसकिएमा प्राप्त राजनीतिक उपलब्धिमाथि नागरिकको विश्वास टुट्न सक्छ ।
अहिले हरेक नागरिकमा देखिएको तिव्र असन्तुष्टि विश्वासको संकटबाटै उत्पन्न भएको हो । मूलधारका सबै जसो राजनीतिक दल र नेतृत्वप्रति नागरिकहरुसँग प्रयाप्त गुनासा, प्रश्न र आक्रोश छन । वैकल्पिक भनेर उदाएका दलको नेतृत्वले पनि आफूभित्रकै बेथिति ढाकछोप गर्न जनताको भावनाको दोहन गरेको घटनाक्रमले पुष्टि गरेको छ । मुलुकको आर्थिक वृद्धि दर सुस्त छ । बेरोजगारी समस्या चुलिँदो छ । मूल्यवृद्धि तथ्यांकमा कम देखिए पनि आम जनताको भान्छा महँगो हुँदै गएको छ । राजस्वले चालू खर्च थेग्न हम्मेहम्मे परेको छ । पुँजीगत खर्च नहुने दीर्घरोगले मुलुक आक्रान्त छ । लगानीको वातावरण संकुचन हँुदै गएको छ । सर्वत्र बिचौलियाहरुको हालिमुहाली बढेको छ । विद्यमान शासकीय र आर्थिक बेथितिको कुरा गरी साध्य छैन ।
बोल्न, लेख्न र विचार राख्ने स्वतन्त्रतासहितको लोकतन्त्र प्राप्तिका लागि विगतमा भएका संघर्ष र बलिदानकै कारण मुलुकमा ठुला राजनीतिक परिवर्तन भएका छन । अपितु, राजनीतिक पार्टीहरूले रूपान्तरित संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सकेका छैनन् । व्यवहारमा गणतान्त्रिक राजनीतिक संस्कार र सांस्कृतिक अभ्यास हुन सकेको छैन । संघीयताको सशक्त र व्यावहारिक कार्यान्वयन हुन सकेको छैन । संघीय गणतन्त्रसँगै जनतामा जागेका आशा, अपेक्षा र चाहना परिपूर्ति गर्नेतर्फ राजनीतिक नेतृत्वको ध्यान जान सकेको छैन ।
अब मुलुकको अर्थ–राजनीतिक व्यवस्थामा आइपरेका मुख्य समस्या र चुनौतीलाई मिहिन ढंगले विश्लेषण गर्न जरुरी छ । यस्ता संकट निम्तिनुमा राजनीतिक पार्टी र नेतृत्वको भूमिका गम्भीर समीक्षा हुनुपर्छ । मुलुकलाई अगाडि बढाउने स्पष्ट भिजन, दृष्टिकोण, रणनीति र कार्ययोजनासहित राजनीतिक नेतृत्वले प्रभावकारी काम गर्न नसकेकै कारण हाम्रो विगत लज्जाष्पद बनेको हो । स्वाभाविक रूपमा दृढ र जनताप्रति प्रतिबद्ध राजनीतिक नेतृत्व र पार्टीबिना देशको सामाजिक–आर्थिक जटिलता हल गर्न सम्भव छैन ।
गणतन्त्रलाई संस्थागत गर्ने, भ्रष्टाचार, अराजकता र दण्डहीनताको अन्त्य गर्ने र देशको समग्र आर्थिक–राजनीतिक रूपान्तरणको स्पष्ट दृष्टिकोणसहितको अवधारणा अविलम्व आमनागरिक समक्ष ल्याउन सकिएमात्रै हामीले उल्लासका साथ स्वागत गरिरहेको नयाँ बर्ष २०८२ हामी सबै नेपालीका लागि अभ्युन्नत बर्ष बन्नेछ । अन्यथा, नागरिकहरुमा बढेको गम्भीर निराशालाई चिर्ने र मुलुकलाई रुपान्तरणको मार्गमा अघि बढाउने स्पष्ट भिजन राजनीतिक रूपमा आउन नसकेमा हामीले झेलिरहेको राजनीतिक अराजकतावाद थप मौलाउँदै जानेछ ।
स्रोत साधन अत्यन्तै सीमित मान्छेको कब्जामा हुँदा धेरै मान्छेमा निराशा उत्पन्न हुनु स्वभाविक हो । राज्य व्यवस्थालाई सामाजिक बनोटसँग जोडेर फिट गर्न सकिएमात्रै नागरिकहरुमा आशाको सञ्चार हुनसक्छ । जसले जे भने पनि नेपाली नागरिकहरु हाल स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानले निर्धारित गरेको बाटोबाटै भरोसालाग्दो र क्षमता सम्पन्न नेतृत्वको खोजीमा छन । आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरण अहिलेको टड्कारो आवश्यकता हो ।
ऐतिहासिक कालखण्डदेखि नै हामी नेपालीहरुको सांस्कृतिक पहिचानको महत्वपूर्ण पाटो नै उच्च आत्मबल, दृढता र बहादुरी हो । गरिबी र अभावका अनेकन चरम दुःखहरूसँग जुध्दै बाँचेका नेपाली नागरिकले तीव्र र ठोस सुधारको अपेक्षा गर्नु अस्वभाविक होइन । मानव जीवन असाध्यै अदभुत छ, यसमा खोज्नेले सबै पाउँछ । जो मान्छे खोज्न जान्छ, उसले अवश्य पाउनेछ । नयाँ सबैतिर छ, हरेक पल नयाँ छ । नयाँको सम्मान गर्ने बेलामा पुरानोको अपेक्षा गर्न मिल्दैन । हामी पुरानोको अपेक्षा गर्छौँ । हामी चाहन्छौँ कि हिजो जे भएको थियो, आज पनि त्यो होस् । त्यसरी त आज पुरानो हुन जानेछ । दार्शनिक ओशोको विचारमा पुरानो सुख भन्दा नयाँ दुःख राम्रो हुन्छ, किनभने नयाँ भनेको नयाँ हो । त्यसमा पनि एउटा जिन्दगी र एक रस हुन्छ ।
अरु कसैले हाम्रा लागि नयाँ गर्न सक्दैन । हामी आफैँले नयाँ काम गर्नुपर्ने छ । र नयाँ गर्नुको मतलव पूरा दिन वा पूरा वर्षलाई नयाँ गर्न सकिन्छ भन्ने होइन । एक–एक कण, एक–एक क्षणलाई नयाँ गर्न सकेमा अन्ततः पूरा दिन, पूरा वर्ष नयाँ हुनेछ । एउटा अद्भुत नायकको खोजीमा रहेको देशको तन्नेरी पुस्ता विद्यमान परिवेशमा भरोसालाग्दो नायक नपाएर अलमलमा छ । हामी समस्याको फेहरिस्त प्रस्तुत गरेर मात्रै अगाडि बढ्न सक्दैनौं । जनसरोकारका विषयमा राज्यका सबै तह र निकायमा सुशासनको अभियान चलाउने हो भने महत्वपूर्ण जनमुखी र रूपान्तरणकारी काम हुनसक्छ ।
यही यथार्थ गम्भीरतापूर्वक मनन गरेर मुलुकको राजनीतिक नेतृत्वले नयाँ वर्ष–२०८२ लाई सुधार र रूपान्तरणको वर्ष बनाउन सकेमा नयाँ बर्ष हाम्रा लागि अद्भुत बर्ष बन्नेछ ।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो, सशक्त, राजनीतिक पार्टीलाई जिम्मेवार र जवाफदेही बनाउन सचेत नागरिकले निरन्तर खबरदारी गर्न आवश्यक छ । अहिलेको प्राथमिक काम भनेको गाउँलाई उत्पादन र रोजगारीको केन्द्र बनाई नयाँ विकासको मोडलमार्फत गाउँमै मानिस हाँसीखुसी रहन सक्ने वातावरण बनाउन सक्नु हो ।
सर्वसधारणलाई तरकारी पसलमा तरकारी सस्तो चाहिएको छ । चामल, तेल सस्तो चाहिएको छ । कम खर्चमा छोराछोरीले राम्रो स्कुल पढ्न पाऊन् भन्ने चाहन्छन । सस्तोमा स्वास्थ्य उपचार चाहन्छन । सस्तो र भरपर्दो सार्वजनिक यातायात चाहन्छन । मुलुकमा व्याप्त संस्थागत भ्रष्टाचार, राजकीय लुटतन्त्र, वित्तीय लुट तथा उत्पीडन, जातीय द्वन्द्व र सामाजिक विखण्डनजस्ता विकृतिको अन्त्य गरी प्रगतिको कदममा अघि बढ्ने हो भने नयाँ बर्षमा विकासका पूर्वाधारहरू तयार पार्ने, ती आधारहरूमा टेकेर उत्पादन वृद्धि गर्ने र मुलुकका आय बढाउने लक्ष्य हासिल गर्न सकिन्छ ।
हाम्रो निदृष्ट लक्ष्य प्रस्ट छ । प्रक्रिया ठीक छ । तर यो प्रक्रियाको कार्यान्वयन सबैभन्दा निराशाजनक छ । समाजमा नकारात्मक भावना उद्वेलित गर्ने प्रवृत्तिलाई निरुत्साहित गरेर सकारात्मकतातर्फ समाजलाई डो¥याउन अब ढिलाई गर्नु हुँदैन । नयाँ पिँढीले मात्रै नभई आम नेपालीले विकसित नेपालको भविष्य देखेका छन । नेपालमा प्रविधि, सञ्चार, आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा व्यापक परिवर्तन आएको छ । यो परिवर्तनको प्रक्रिया निकै तीव्र छ र यसले भविष्यमा नेपाललाई प्रगतिको मार्गमा हिँडाउने विश्वास बढाएको छ । शान्ति र विकासको आफ्नै बाटो तय गरेको मुलुकले समृद्ध भविष्यको बाटो तय गर्न सकेमा हामी सबैका लागि नयाँ बर्ष सार्थक र उपलब्धिमुलक बन्नेछ ।