गहुँ फल्ने खेतमा सुन फलाउदै दुवालीखेतका किसानहरू

गणेश बहादुर मगर, डडेल्धुरा
कुनै बेला अन्नबालीका लागी प्रख्यात आलितालको दुवालीखेतमा किसानहरू आजभोली सुन जस्तै आलु फलाइ रहेका छन । बुडर जोगबुढा सडक खण्डमा पर्ने आलितालको गोदाम बजारसँगै जोडिएको दुवालीखेतमा कुनैबेला धान र गहुँका वालाहरु लहलह लहराउने गर्दथ्यो तर पछिल्लो केही वर्ष यता खेतै भरी तरकारी देखिन थालेका छन् ।
२०७३ सालतिर दुवालीखेतको एउटा कुनोमा तरकारी खेती गर्न सुरु गरेका थिए, आलिताल गाँउपालिका वडा नं.८, डोला गाउँका युवा लाल बहादुर डालाले । त्यतिबेला तत्कालीन आलितालको कृषि शाखाबाट आलुको बिउ ५० प्रतिसत अनुदान सहयोग पाए पछी थोरै क्षेत्रफलमा आलु खेती सुरु गरेका थिए । अहिले भने दुवालीखेतको करिव १३० रोपनी जमिनमा आलु फलिरहेको छ ।
अहिले दुवालीखेतमा लाल बहादुर डाला मात्र तरकारी फलाई रहेका छैनन्, आलिताल गाउँपालिका वडा नं. ८, डोला गाँउका करिव ४० घरधुरीका किसानहरू तरकारी फलाइ रहेका छन् ।

२०७८ सालमा २०० दाना आलु रोपेर आलुखेतीमा होमिएका स्थानीय जयन्ती मगरको बारीमा त्यो वर्ष ६२ किलो आलु उत्पादन भयो अनि दोश्रो वर्ष त्यही ६२ किलो आलुलाई बिउको रुपमा बारीमा लगाएपछि त्यो वर्ष ६ क्विन्टल आलु उत्पादन भयो ।
राम्रो उत्पादन देखेपछि हौसिँदै दोश्रो वर्ष उत्पादन भएको ६ क्विन्टल मध्ये आधा आलु बिक्री गरेर आधा आलु २ रोपनी जमिनमा लगाएकी जयन्ती मगर आजभोली प्राय दुवालीखेतमै भेटिन्छन् आलुको हेरचाहमा । तुलनात्मक रुपमा गहुँले भन्दा आलुले दोब्बर उत्पादन दिने कुरा थाहा पाएपछि गँहु छोडेर आलु खेतीमा लागेको जयन्ती मगर बताउँछन् ।
हुन त २०७५ सालमा नै रंगुन ताजा तरकारी उत्पादन कृषक समुह गठन गरी सामूहिक रुपमा कृषि गर्ने अभियान सुरु भए पनि विधिवत रुपमा भने २०७८ मा समुह दर्ता भयो । समुहमा आवद्ध करिव ४० परिवारले हाल आलुखेती गरिरहेकोमा ९ जनाले भने बृहत रुपमा आलुखेती गरिरहेका छन् ।
पछिल्लो समय हावापानीमा आएको बदलावले किसानहरूलाई निकै दुख दिएको प्रत्यक्ष देख्न पाइरहेको किसानहरूको भनाई छ । पछिल्ला वर्षहरूमा पानी कहिले पर्छ टुंगो नै छैन, कहिलेकाँही डम्म लाग्नहुस्सुले किसानहरूलाई खास गरी गहुँखेतीमा समस्या देखिन थालेपछि किसानहरू वैकल्पिक खेती तर्फ आकर्षित हुन थालेको स्थानीय बताउँछन् ।

दुवालीखेतको आलुवारी
मौसमको प्रतिकुलताको कारण निकै राम्रो उब्जनी हुने दुवालीखेतमा पछिल्लो वर्षहरूमा तुलनात्मक रुपमा गहुँबालीको उत्पादन कम हुन थाल्यो । किसानहरूले ठ्याक्कै हावापानीमा आएको परिवर्तनले आफ्नो उत्पादनमा कमी आएको भनेर नबुझे पनि पछिल्लो समय गहुँ उत्पादनमा निकै कमी आएको महसुस गरिरहेका थिए ।
यसै क्रममा कृषि ज्ञान केन्द्र डडेल्धुराको आलु पकेट क्षेत्र कार्यक्रमले यहाँको किसानलाई आलुखेती तर्फ लाग्न प्रोत्साहित गर्यो । सुरुको समयमा ५० प्रतिशत अनुदानमा आलुको बिउ र एउटा हाते ट्रयाक्टर उपलब्ध गराएको थियो भने गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपर जोनको तर्फबाट दुवालीखेतमा सिँचाइको सुविधा थप गरिदिएको छ । सिचाई मात्र होइन, गत वर्षको कार्यक्रमबाट समुहलाई ५० प्रतिशत अनुदानमा ८ वटा हाते ट्रयाक्टर र आलुको बिउ उपलब्ध गराइए पछि किसानहरू थप उत्साहित भएका छन् ।
यस वर्ष डडेल्धुरा जिल्ला स्तरीय भीमदत्त उत्कृष्ट किसान सम्मानवाट पुरस्कृत भएका लाल बहादुर डाला बिहान देखी बेलुकी सम्म नै दुवालीखेतमा तरकारी तथा पशुपालनमा खटिरहेका भेटिन्छन् । दुवालीखेतमा पहिलो पटक ७ वर्ष पहिले व्यवसायिक तरकारीखेती सुरु गरेका डाला अहिले आफ्नै शुभम् कृषि तथा पशुपक्षी फर्ममा आलु, तरकारी, बंगुर हुर्काइरहेका छन् ।
धेरै युवाहरूले कृषि कर्म सुरु गर्ने तर बिचमै छोड्ने गरेको प्रति लाल बहादुर डालाको दुखेसो छ । कृषि कर्ममा प्रवेश गर्नु पूर्व मानसिक रुपमा तयार हुन सम्पूर्णलाई आग्रह गर्नुहुन्छ । कृषि कर्ममा धैर्यता र निरन्तरता आवश्यक रहेको र नयाँ प्रविधि, नयाँ सोच, नयाँ बिउको प्रयोग गरेर नै किसानले फाइदा लिन सक्नु पर्ने बताउँछन् ।

अगुवा कृषक लाल बहादुर डाला

You might also like