कविता :फ़ेरि हिउँद आयो

नआइदिए हुन्थ्यो
काठ्याङ्ग्रीदो जाडोको हिउँद
हिउँ बनेर लेकमा
हुस्सु बनेर तराईमा
फुस्रो,खारो,तुसारो बनेर बाटोमा
हिउँद आयो
अगहन मधेस झरेका
वञ्ज ब्यापारमा जुटे
कालापहाड पसेका मजदुरीमा लागे
मुगलान गएका
ओबिकाम,धोबिकाममा लागे
बुढापाका दिउँसो पारिलो घाम
साझ बिहानमा अगेनो संग
जोडिएर बसे
जे जस्तो गरे पनि
मुटु कपाउने चिसो छ हिउँदको
यो हिउँद काटे पछि
बाचिन्थ्यो कि
जीउने आशा बोकेका हुन्छन
रुइ,फुइ,दुईले जाडो हटछ
विकल्प खोज्दैछन
रुघाखोकी, निमोनिया,बाथ
बल्झिरहन्छ धेरैको
दसा बनेर आएको हुन्छ कसैका लागि
चराचुरुङ्गी,जीवजन्तु जाडो छल्न
बासस्थान फेरिरहन्छ
हिउँद मालमधेस र धुप भोटमा
रहन्छ भोटे पनि
भोटबाट नुन आउछ हिउँद संगै
नुन गुडका लागि
अगहन मधेस झर्छन मौवाल
पुस माघले हिउँद बुझाउछ
पारिलो घामले हिउँद बुझाउछ
हिउँले हिउँद बुझाउछ
जाडोले हिउँद बुझाउछ
माघ जाडो,मेघ जाडो भन्छन
घैलोमैलो ,जिङरिग लुगाफाटोले
हिउँद बुझाउछ
पुस जाडो हाइहाई
माघ जाडोले कलेजो खाई
मंसिर ढल्दै गयो चिसो बढदै गयो
दिन ढल्दै गयो चिसो बढदै गयो
पानी पर्‍यो चिसो बढदै गयो
हिउँ पर्‍यो चिसो बढदै गयो
गोड्या ओडि जाडो छल्ने भन्दैछ
म त गोड्या ओढदैछु
गरिब के ओढलान
समय हो फेरिन्छ नै
आउछ अबिश्य आउछ
गर्मी आउछ
बर्खा आउछ
हिउँद आउछ
सधै झै
फेरि हिउँद आयो ।


परशुराम १२ उनरुवा,डडेल्धुरा 

You might also like
Leave A Reply

Your email address will not be published.