दीलखुसको टाँगा

त्यो टाँगा बिल्कुल नयाँ त होइन
दीलखुस चौथो मालिक हो
मर्मत संभार रंगरोगन गरि
नया जस्तै बनाएको छ
घोडा पनि वयस्क त होइन
उमेर ढलेकै पनि होइन
दश,बाह्र जाना तान्न सक्छ
छोरा श्रीमतीको
त्यति हेरचाह गरेको छैन होला
भन्सार पुलिस सबै मिलाएको हुन्छ
बग्गीमा बसेर
एक सय एक्काइस
दस जना
दीलखुस ,बनबासा
इन्ट्रीपोष्टमा यत्ति भन्छ
दीलखुसको जीवन जिउने कला हो
टाँगा उसको खेतबारी हो
लैइनो भैसी हो
स्थायी जागीर पनि हो
टाँगाको गति बढाउन चावुक हान्छ
चोट आफुलाई लाग्छ
जीवनको चार अवस्था काट्दा
चौथो टाँगा हो यो
छैटौ घोडा हो यो
दीलखुसको पुरुषार्थ यहि छ
जीवनका सबै ऋण यहि चुकाउदैछ
बृद्धकाया टाँगामा बिसाएर
सुनौलो तस्बिर कोरिरहेको हुन्छ
दीलमाया भन्दा प्यारो
टाँगा लाग्छ
छोरो भन्दा प्यारो घोडो लाग्छ
लगामको डोरी र चाबुक गहना नै हुन
सबै घोडाको एक चाल छ
सबै टांगाको एकै अवस्था छ
घोडा, टांगा,आउनु जानु
सवारी बसाउनु झार्नु
निरन्तर छ
आफुले नखाए पनि
घोडा खुवाएको हुन्छ
परिवारको रसद पानी
नुनतेल,लुगाफाटो जुटाउनु छ
जीवन निर्वाहको दिनचर्या हो
सडकका हरेक खाडल संग परिचय छ
टाँगा अडकाउने ढुङ्गा चिनेको छ
दीलखुस टाँगा हो कि
टाँगा दिलखुस हो उस्तै उस्तै छ
बर्षौ देखि यहि सडकमा छ
सबैले चिन्दछन
दीलखुसको टाँगा
टाँगावाला दीलखुस
टाँगाको घोडा जस्तै छ
हेराई,हिडाई,बुझाई
आफ्नो बस्ने कोठा भन्दा
सफासुग्घर पार्छ तवेला
छोरा,पत्नी भन्दा बढि
माया लाग्छ घोडाको
उ चाहान्थ्यो
सन्तानले बिडो थामोस
आफु जस्तै भए पनि इलम गरोस
सरकारले पनि परिचय दिएको छ
एक सय एक्काइस नम्बर
उसलाई कण्ठस्थ छ
एक सय एक्काइस
दस जना
दीलखुस ,बनबासा
एक दिन सडकमा टांगा मात्र थियो
घोडा तबेलामा
दीलखुस भुइँमा
दीलमाया रुदै गरेकि
एउटाले सोध्छ
टांगा कस्कोरु
उत्तर आउछ
दीलखुसको
अर्कोले त्यहि प्रश्न दोहर्‍याउछ
उत्तर आउछ दीलखुस
दीलखुसको टाँगा

परशुराम १२ उनरुवा,डडेल्धुरा

You might also like
Leave A Reply

Your email address will not be published.