भरत नेपाली

एउटा आदर्श ब्यक्ति
जो अधिकांश सडकमा भेटिन्छ
हरेक सामाजिक कार्यमा
अग्रपंक्तिमा देखिन्छ
न त पद प्रतिष्ठाको लोभ छ
न त मान सम्मानको मोह छ
उनै संगका मानिस जागीर सकि
निवृत जीवन बिताउदै छन
उनै संगका मानिस कुशल व्यापारी भइ
आलिशान महलमा छन
उनै संगका मानिस राज्यको
उच्चतहमा पदासिन छन
कैयौ दौँतरीका साथी निकै खेलोमेलो गरि
आरामको जीवन जिउदै छन
तर एक्लो मान्छे
सादगी ,सोझो र सरल
सदाबहार देखिन्छन भरत नेपाली
उल्लेखित पद,तहमा पुग्ने
योग्यता नभएको होइन
कारोबार गर्न स्रोत, साधनको
अभाव पनि
जागर नचलेको पनि भन्न मिल्दैन
शहरमा बस्ने
पुस्तौंदेखिको राम्रै हुने खाने परिवारको मान्छे
जागिर खान सम्म त पढेलेखेको
जसले समाज रुपान्तरणको
बाटो रोजे
जातीय बिभेदको पराकाष्ठा
प्रत्यक्ष भोगे,देखे
विपन्नता डोको भरी लामली लाएको देखे
आर्थिक ,सामाजिक परिवर्तनको
शंखनाद गरे
उपाय खोजे
बरु खादै गरेको जागिर छोडे
दिनचर्या चल्दै गरेको ब्यबसाय छोडे
तर सामाजिक परिवर्तनको
बाटो छोडेन
कैयौ सहयात्री भेटाए
शेर लुहार देखि गोपी भेरकार सम्म
अदभ्य साहास र पौरख छ मनमा
देख्छन समतामूलक समाज हासेको
लेख्छन नव पालुवा लहलहाएको
बोल्छन मेरो समाजले
परिवर्तनको शिखर चुम्छ
केहिले उपाहास गर्लान पनि
केहिले काम नपाएको भन्लान पनि
तर गाह्रो,साह्रो पर्दाको साथी
देश,काल,परिस्थिति बुझेको मान्छे
उनले उहिले उठाएको मुद्दा
उनले उहिले भनेका कुरा
राज्य आज बुझ्दैछ,सुन्दैछ
त्यही भाषा बिदेशीले बोली दिदा सुन्दर लाग्छ
त्यही कुरा बर्षौ देखि बोल्दा बोल्दा
तुफानडाडाको तुफानले
उडाउदैछ
समयले परिचय दिने छ
भरत नेपालीको
समयले बताउने छ
उनले गरेका सामाजिक कार्यलाई
समयले एउटा अगुवा जन्माएकै हुन्छ
समाजका लागि केही गरेर जानु
कर्तव्य पनि हो
भरत नेपाली सामाजिक दायित्व बोध गर्दै
कर्तव्य निर्वाह गरिरहेका छन
सतिसाल झै आफ्नो अडानमा
अडिग छन
समाजका लागि केही गरु भन्ने
हरेकले चिन्दछन
जानेकाछन,बुझेकाछन को हुन
भरत नेपाली
के हुन भरत नेपाली ?

परशुराम १२ डडेल्धुरा

You might also like