आफर

कोइला खारानी
खलात फुक्दा धुस्रो मैलो
आफर मात्र होइन
यो त भगवान बिश्वकर्माको मन्दिर हो
जहाँ निरन्तर
गोल बालेर भूदेव अग्नि
आवाहन गरिन्छ
पञ्चभूसंस्कार गरेर
पावकाग्नि स्थापित गरिन्छ
पञ्चोपचार पुजा संगै
देदीप्यमान देखिन्छन
आत्मैदेखि मानस पुजा हुन्छ
निराकारलाई आकार दिइन्छ
जहाँ निरन्तर फलाम पिटिन्छ
कुटो कोदालो हातहतियार मात्र होइन
भगवान पनि बनाइन्छन
कल्पिता विश्वकर्मणा
भनेर बिश्वकर्माको कल्पना अनुरुपका
निर्माण गरिन्छन
परिश्रम र पसिना अछुत हुदैन
आफर अछुत छैन
आफर संगै बसेको मानिस मात्रको
के दोस?
आफर
एउटा सभ्यताको प्रतीक हो
ढुङ्गेयुग बाट परिस्कृत युगमा पुग्दाको
प्रमुख कुटिर उद्योग हो
सामाजिक संरचनाको आधार स्तम्भ हो
कल, कारखाना र उद्योग पनि हो
हरेक निर्माणको जग हो
आफर संगै विशिष्ट संस्कृति पनि छ
निर्माण गरिने सामग्रीमा पाइन हालिन्छ
पाइन चढाउने सुत्र,विधि, भेद
अरुलाई थाह छैन
थाह भए पनि प्रयोगको अधिकार छैन
स्वाहाको मन्त्र जस्तै छ
आहुती योग्य छ ,पवित्र छ
आफरको अङार फुस्रो कालो होइन
अग्निकुण्डको भस्म,तीलक हो
अपवित्र पवित्रो वा भन्दै
जल छर्केर पवित्र गरि जस्तै
तातो रातो फलाम पानीमा राखी
पाइन हालेर शुद्ध पारिन्छ
खलात फुकिन्छ
त्यो कसरी अछुत हुन सक्छ
यो आफर आफर मात्र होइन
विश्वकर्माको मन्दिर पनि हो
सबैका लागि पुजनिय छ
हामीले ग्रहण गर्ने अन्न फलाउने
कुटो कोदालो बन्छ
जीवन निर्वाहको खाना पकाउने
भाडाकुडा यहि बन्छन
समर जित्ने तरवार बन्छ
हामीले पुज्ने देवीदेवता पनि बन्दछन
आयुध,अस्त्र,सुरुवा अगस्तताली
त्रिशुल ,घण्टी,भोक्कर,बिगुल यहि बन्दछ
भगवान बन्ने स्थान कहि अछुत हुन्छ?
हुनै सक्दैन
आफर लोहारको लुहा पिटने मात्र होइन
तत्राकारको तामो पगाल्ने मात्र होइन
कंशाकारको काँसो ढलोट पार्ने मात्र होइन
आफर कामीदाई को कल मात्र पनि होइन
विश्वकर्माको मन्दिर हो
सभ्याता,संस्कृति र कलाको
पहिचान हो


परशुराम १२ डडेल्धुरा

You might also like
Leave A Reply

Your email address will not be published.