यो वर्ष जे भो भो
अर्को वर्ष त सुधार गर्नै पर्छ
छेपारोकै जस्तो योजना छ उ संग
छन त छन असंख्य सपना छन
सपना संगै बुनिएका सम्भावना पनि छन
सपनामा खोले खाए जस्तै हो
आज गर्ने जाँगर छैन
आज समयले पनि भ्याउदैन
भोलि गर्छु भन्ने भोलिवाद जस्तै हो
यसपालि यस्तै भयो
अर्को वर्ष त गर्नै पर्छ
यसवर्ष कृपाङ्गमा पास भइयो
अर्को वर्ष त निश्चितरूपमा सुधार हुन्छ
यस वर्ष छाक टार्न पुग्यो
अर्को वर्ष धीत मर्ने गरि
मिठो मसिनु खानु पर्ला
यसपाली चुनावमा जे भो भो
अर्को वर्ष हेर्नै पर्छ
अर्को वर्षको आशमा पुस्तौपुस्ता बिते
एउटा बस्ती समाप्त हुँदै
अर्को वस्ती बसेका कालान्तरका
कथा बने
सर्ग प्रतिसर्ग,बंश,वंशानु चरीत
ईतिहास पुराणमा भए जस्तै
उखान,किम्बदन्ती,लोककथा
अर्ति बन्दै गए हिजोका कुरा
आज आशाको त्यान्द्रो समाती
वैतरणी तर्नु पर्छ
नर्क पो गइन्छकी
पाप धर्मको दोसाँधमा छ
धर्म,अर्थ,काम,मोक्ष
पुरुषार्थको रटान गरि
मोक्षको कामना गरिरहेको छ
आज जे भो भो भनेर
सुख पाउने बाला छैन
कामनामयी होइन परिणाममुलुक
सम्भावना होइन यथार्थमा
जे गर्नु छ आजै गर्नु छ
यसै वर्ष,यसै महिना,यसै हप्ता
आजै ,अहिले देखाउनु छ
निराशाबादीहरु आशको पोको बोकि
सुखद आगतको परिकल्पना गर्छन
यो वर्ष यस्तै भयो
यो वर्ष जे भो भो
अर्को वर्ष त सुधार गर्नै पर्छ
समय कसैको नियन्त्रणमा हुदैन
कसैको आग्रह मान्दैन
कामना सुन्दैन
बाध्यता बुझ्दैन
बलवान पनि छ
बरु हिजो बितेको सत्य हो
भइरहेको आजलाई अपनाउन छ
अव
यो वर्ष जे भो भो
अर्को वर्ष त सुधार गर्नै पर्छ
भनेर मात्र पुग्दैन
परशुराम १२ डडेल्धुरा