राम धामी
विदेशी भूमी जापान पुगेर सफल व्यवसायीका रुपमा पहिचान बनाउन सफल ‘विनय’ प्रकाश मल्ल आफुसँगै सिँगो समाजलाई परिवर्तनको मार्गमा डोरयाउन निरन्तर योगदान पुरयाइ रहेका छन । जन्मभूमि नेपाल, कर्मभूमि जापान भए पनि नेपालको माया, नेपाल प्रतिको लगाव र नेपालप्रतिको चिन्ता असीम छ, उनलाई । वास्तवमै बिभिन्न बाध्यता र विवशताका कारण आफ्नो देश छोडेर विदेशमा बस्नेलाई मात्रै थाहा हुन्छ, जन्मभूमी नेपाल छोड्दाको गहिरो पीडा र मातृभूमी नेपालप्रतिको असीम र प्रगाढ माया ।
यस्तै, मायाले होला, डडेल्धुराको अमरगढी नगरपालिका–४ खलंगाका ‘विनय’ प्रकाश लाई आफू परदेशमा भए पनि नेपाल र नेपालीप्रतिको माया सधैं उस्तै छ । समाजसेवा विकासोन्मुख देशको विकासका लागि एउटा मेरुदण्ड नै हो । समाजसेवामा नागरिकहरुको आकर्षण बढाउने र नयाँ पुस्तालाई प्रेरणा दिने अभिप्रायले विनयले समाजसेवालाई हृदयको गहिराइदेखिनै आत्मसात गरेका हुन् । उनी युवा ताजगी र ऊर्जाका साथ समाजसेवामा क्रियाशील छन । वास्तवमा अधिकांस नेपालीहरु कोमल मनका छन् । अझ विदेशमा त्यो कोमलता गर्मीको घिउझैं पग्लिने विनयको अनुभव छ । कोमल विनयले आफ्नो भावुक मनमा समाजसेवाको आगो झोस्दै डडेल्धुराका विकट बस्तीसम्म सेवा र सहयोग गरिरहेका छन ।
हृदयदेखिनै निस्वार्थ रुपमा समाजसेवा गर्ने विनयले आमनागरिकको विश्वास र माया बटुलेका छन् । समाजसेवाबाटै जीवनको सफलता देख्ने विनय प्रकाशलाई उपचार नपाएर मृत्युको मुखमा पुगेका विपन्न समुदायका बिरामीहरुको उपचारमा सहयोग गर्न पाउँदा आनन्दको अनुभुती हुन्छ । समाजमा केहि गरौं भन्ने भावनाले कामकाजमा अहोरात्र खटेका युवाहरुलाई आर्थिक अभावका कारण केहि गर्न नसकेका बेला विनय चाहे अनुरुप खर्च उपलब्ध गराउन पाउँदा खुसी हुन्छन । जीवनको परिभाषा मानिस अनुसार फरक–फरक हुन्छ । कसैले जीवनलाई व्यक्तिगत स्वार्थमा मात्र सीमित गरेर बुझ्छन् भने कसैका लागि प्रसिद्धिको अर्को नाम । निःस्वार्थरुपमा जीवनलाई समाजसेवामा समर्पित गर्नु जीवनको अर्को परिभाषा हुनसक्छ ।
प्रसिद्धिको आशाले, नामको आशाले र आर्थिक लाभको आशाले समाजसेवामा लाग्नेहरु भन्दा अल्लगै पहिचान बनाएका छन विनयले । समाजमा निस्वार्थ भावले समाजसेवामा लाग्ने कमै हुन्छन् । असल समाजसेवीहरु असाधारण भावना भएका खुल्ला दिलका मानव हुन् । बिभिन्न सामाजिक संघ–संस्थामा आबद्ध बनेर दिनरात निःस्वार्थ रुपमा समाजसेवामा लागेर प्राप्त गर्ने उपलब्धी के हो ? भन्दा समाजसेवी विनय भन्छन,‘आत्मसन्तुष्टी र खुशी ।’ सम्पत्तिवालाहरु अकुत धनदौलतको सिरानी हालेर पनि सहजै निदाउन सक्दैनन् । तर, सच्चा समाजसेवा गर्ने मानिस निःस्वार्थ रुपमा समाजसेवा गरेर आनन्द प्राप्त गर्ने विनयको बुझाई छ ।
हाम्रा धार्मिक ग्रन्थहरुले जीवनको मुख्य लक्ष्य र प्राप्तिलाई खुशी, शान्ति र आनन्दसँग जोडेका छन । समाजसेवाबाट विनयले त्यही प्राप्त गरिरहेका छन् । भविष्यको आशा भएन भने मानिसको जीवनको कुनै सार्थकता छैन । भविष्यप्रति हामीले सदैव आशा राख्नुपर्ने हुन्छ । निराशाका घनघोर रात्रीमा पनि मानवलाई बाटो देखाउने भनेको जीजीविषा हो । साँचो अर्थमा मानवसेवाको अभिष्ट बोक्नेका लागि अगाडिका सबै समस्या सामान्य लाग्छन् । मानव हित नै सबै धर्मको सार हो र परोपकारमा वास्तविक धर्मको मर्म लुकेको हुन्छ भन्ने समाजसेवी विनयको जीवनदर्शन छ ।
मानव जीवनको सार्थकता अरुको भलो गर्नमा रहेको छ । सकारात्मक दिशातिर परिलक्ष्यित भएका कदमहरु निरन्तर निर्दिष्ट लक्ष्यतर्फ लागिरहनेमा विनयको गहिरो विश्वास छ । उनी भन्छन,‘मानव मुक्तिको सपना सबभन्दा बढी लोकतान्त्रिक, उन्नत र मानवताले ओतप्रोत सपना हो । हरेक नागरिकलाई न्याय र समानताको सपना देखाउने र सोही अनुरुप मुलुकमा साँचो अर्थमा समाजको परिवर्तन र मुलुक नवनिर्माणको लहर ल्याउन सक्ने नेतृत्व आजको आवश्यकता हो ।’ वास्तवमै समाजसेवीहरु प्रचारप्रसारका भोका हुँदैनन् । समाजसेवालाई अहिले धेरैले नाम र दाम कमाउने मलिलो पेशाका रुपमा ग्रहण गरेका छन् ।
समाजसेवाकै आवरणमा कालो धनलाई उजिल्याउनेको संख्या पनि ठूलो छ नेपालमा । अपराधी छविलाई धोइपखाल्न पनि समाजसेवाको दोसल्ला ओढ्नेको संख्या पनि कम छैन । तर, सबै मानिसमा विनयको जस्तो सामाजिक भावको मानवीय गुण नहुन सक्छ । ‘स्वार्थीहरुको हृदयममा सम्पूर्ण समाजको उत्थान होस् भन्ने भावना उत्पन्न हुँदैन । यस्ता व्यक्ति समाजको सेवा गर्न अयोग्य मात्र होइन, समाज विकासका लागि घातक पनि हुन्छन् ।’ विनय भन्छन,‘पैसा भएकाहरुले मात्र समाजसेवा गर्छन् भन्नु भ्रम मात्र हो । मानव हितका लागि आफूले गर्न सकिने काम गर्ने हो । समाजसेवा भनेको आफूले जे गर्न सकिन्छ, त्यही आफ्नो ठाउँबाट इमान्दार भएर गर्ने हो । त्यही नै महानता हो ।’
समस्त प्राणीमा मनुष्य श्रेष्ठ प्राणी भएकाले आफ्नो मात्र हित नहेरेर मानवले समस्त समाजको सहयोगका लागि अभिपे्ररित हुनुपर्ने समाजसेवी विनय बताउछन । भागवतगीतामा भगवान श्रीकृष्णको भनाइ छ–‘पुण्य कमाउन चाहन्छौ भने परोपकार गर, पाप कमाउन चाहन्छौ भने अरुलाई पीडा देऊ ।’ बाइबल भन्छ–‘अरुप्रति तिमी त्यो काम नगर, जुन काम आफूप्रति अरुले नगरून् भन्ने चाहन्छौ । युवा समाजसेवी विनय परोपकारी भावनाका साथ समाजसेवामा समर्पित रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउछन ।
चरम गरिबी र अभावमा बितेको बाल्यकाल
१६ बैशाख २०४३ मा बुवा खडकबहादुर मल्ल र आमा बसन्तीदेवी मल्लको कोखबाट जन्मिएका विनयको बाल्यकाल भने कहालिलाग्दो छ । गरिव परिवारमा जन्मिएका विनयको बाल्यकाल निकै संघर्षमय बित्यो । ‘चरम गरिबी र अभावमा बितेको बाल्यकालले मलाई आत्मनिर्भर बन्न प्रेरित गरेको हो,’ विनय सम्झिन्छन, ‘गरिबी र अभावकाबीच सिँगो परिवारको जिम्मेवारी पनि काँधमा आएकाले मलाई सानैदेखि कर्मसिल बनेर आत्मनिर्भर बन्ने प्रेरणा जाग्यो । चरम गरिबी र अभावले जीवनको वास्तविकता सिकायो ।’
विद्यालय पढ्दै गर्दा १५ वर्षको कलिलो उमेरमा उनले बुवालाई गुमाए । हृदयघातबाट बुवाको मृत्यु भएपश्चात परिवारको सम्पूर्ण जिम्मेवारी उनको काँधमा आयो । एकातिर पढाई अर्कोतिर पारिवारिक जिम्मेवारीको भारीले विनयलाई बल्यकालदेखिनै परोपकारी बनायो । बुबाको अकाल मृत्युले उनलाई उपचार अभावमा अकाल मृत्यु भोग्न विवस विपन्न समुदायलाई सहयोग गर्ने प्रेरणा जागेको हो । विरामी भएर उपचार गर्न आर्थिक कठिनाई भएका विपन्न समुदायका दर्जनौं ब्यक्तिहरुलाई उनले उपचारका लागि आर्थिक सहयोग गरेका छन ।
स्वास्थ्य क्षेत्रमा सक्दो सहयोग गर्ने प्रेरणाका कारण उनी उपचारका लागि धमाधम सहयोग गरिरहेका छन । विपन्न समुदायको स्वास्थ्य अबस्थामा सुधार ल्याउनका लागि अक्षय कोष स्थापना गर्ने र बिस्तारै निःशुल्क रुपमा विपन्न समुदायको उपचार गर्ने अस्पताल निर्माण गर्ने योजनाको उनको छ ।
कक्षा १२ सम्मको पढाई नजिकै रहेको महेन्द्र माध्यमिक विद्यायबाट पूरा गरे उनले । हरेक परिस्थितीलाई अवसरको रूपमा लिई अगाडी बढेका विनय जिन्दगीमा आएका जस्तासुकै उतारचढाबलाई सहजै रूपमा लिएर अघि बढेको बताउछन । ‘सानै उमेरमा काँधमाथि ठूलो जिम्मेवारी थपिएर होला जस्तो सुकै कार्य गर्न सक्छु भन्ने आत्मविश्वास बढ्दै गयो ।’ विनय भन्छन ।
नेपाल प्रहरीको नौकरीदेखि सफल व्यवसायी
डिप्लोमा स्तरको अध्ययन बिचमै छोडी २०६३ सालमा नेपाल प्रहरीमा भर्ना भए उनी । प्रहरीमा भर्ना भएर पनि उनले पढाईलाई निरन्तरता दिए । प्रहरीको जागीरे उनले डिप्लोमाको अध्ययन त्रिभुवन यूनिर्भसिटीबाट पूरा गरे । नेपाल ल क्याम्पसमा एलएलबी अध्ययन गरेको उनी बताउँछन् ।
उनले २०७० सालमा प्रहरीको जागीरबाट राजीनामा दिए । उनलाई जापान जाने इच्छा लाग्यो । उनले ईन्टरनेशनल जापनिज ल्याङगोईज एकेडेमी सेन्दाई जापानमा भर्ना भई १५ महिना जापानिज भाषा अध्ययन गरे । तोहोकु कम्प्युटर कलेज सेन्दाई, जापानमा दुई वर्ष ईन्टरनेसनल विजनेश कोर्स गरे ।
विजनेश कोर्स पुरा गरेपछि उनले जापानिज कम्पनीमा ‘स्पेलिस्ट ईन ह्यूम्यानेटी ईन्टरनेसनल सर्भिसको’ भिषा प्राप्त गरेर तीन बर्ष अथक मिहेनतका साथ काम समेत गरे । जापानमा जागिरेका रुपमा काम गर्दा पनि उनले मनग्गे धनआर्जन गरिरहेका थिए । तर उनको मनमा अरूको काम कहिलेसम्म गरिरहने भन्ने प्रश्न उठ्न थाल्यो ।
अब आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने उदेश्यले अहिले उनले आफ्नै मल्ल किंग्स कम्पनी लिमिटेड खोलेर जापान सरकारबाट विजनेस भिसा प्राप्तगरि जापानमै कम्पनी सञ्चालन गरिरहेका छन । अहिले उनको कम्पनीमा जापनीज र नेपाली गरेर धेरै जनाले रोजगारी गरिरहेका छन् ।
सहयोगीको अर्को नाम विनय
समाजिक सेवा गरेर पछिल्लो समयमा युवा पुस्ता माझ लोकपृय बनेको नाम हो, विनय प्रकाश ! विनय प्रकाश लोकपृय हुनुको कारण हो दिन दुःखीलाई सहयोग गर्नु । ‘मानिस ठूलो दीलले हुन्छ, जातले हुँदैन’ भनेझैं ‘विनय’ प्रकाशको मन पनि ठूलो छ । हिलो र माटोमा खेल्दै अन्तराष्ट्रिय स्तरको सफल व्यवसायी बनेका मल्ललाई अहिले पनि विगतले झक्झकाई रहन्छ ।
विगतमा आफूले भोग्नु परेको दुःख र पीडा अरूले भोग्न नपरोस् भन्ने उनी चाहन्छन् । त्यहीँ कारण होला गरिव तथा पीडामा परेका मानिसलाई उनले जापानबाट भरपुर आर्थिक सहयोग गरिरहन्छन् । ‘मैले विताएको जिन्दगी अरूले जिउन नपरोस् भन्ने चाहन्छु । विपन्न, गरिव, अनाथ तथा दिनदःखी देख्दा मनले मान्दैन् । सहयोग गरिहाल्छु,’ उनी भन्छन् ।
विनय प्रकाशले सहयोग गर्छ भन्ने सुनेर होला अहिले गृहजिल्लाबाट धेरैको फोन आउने गरेको उनी बताउँछन् । उनले अहिलेसम्म समाजसेवाकै निम्ति जापानमा आर्जन गरेको एक करोड रूपैयाँ भन्दा बढि नगद आर्थिक सहयोग गरिसकेका छन् । कोरोना महामारीले आक्रान्त भएका बेला उनले समुदायमा कसैलाई राशन, कसैलाई आर्थिक सहयोग त कसैलाई लत्ता, कपडा उपलब्ध गराए ।
कयौं विरामीहरुलाई उपचारका लागि सहयोग गरे । समस्यामा परेका ब्यक्तिहरुलाई सहयोग गर्नु उनको दैनिकी बनिसकेको छ । कोरोना कहरको समयमा पनि उनी पीडितको लागि सारथी बनेका थिए । डडेल्धुरामा रहेका मठ मन्दिर, विद्यालय र कोरोनाको समयमा अक्सिजन गरिद गर्न सहयोग गरेको उनी बताउँछन् ।
‘हरेक मानवको भाग्य, लक्ष्य तथा अन्त्य उसको छनौट र कर्मले निर्धारण गर्छ । उसले जस्तो मार्ग छनौट गर्छ त्यस्तै फल पाउन्छ । समयको संकेत बुझेर आफ्नो भाग्य तथा लक्ष्यको छनौट गर्नुपर्छ । गलत मार्गको छनौटले भविष्यमा ठुलो दुखः र पीडा दिन्छ । त्यसैले सोचेर सम्झेर उचित मार्गको छनौट गर्ने गरौं ।’ विनय भन्छन ।
“नया पुस्तालाई सक्षम बनाउन शिक्षामा लगानी”
असल शिक्षा असल नागरिक उत्पादन गर्ने चेतना निर्माणको प्रक्रिया हो । देश र समाजको उन्नतिका लागि योग्यतापूर्वक अन्तरआत्मादेखि नै समर्पित हुन शिक्षाले आधारको काम गर्छ । शिक्षाले मानिसलाई नम्रता, ऊर्जा, सहनशीलता दिन्छ । शिक्षा क्षेत्रमा सुधार ल्याउन विनय प्रकाशले अमरगढी नगरपालिकाका ११ वटै वडाका सामुदायीक विद्यालयहरुमा अक्षय कोष स्थापना गरेका छन ।
श्री लटेश्वर आधारभुत विद्यालय अमरगढी–१ मा रु. ५५ हजार पाँच सय ५५ रुपैयाँ, श्री त्रिपुरा सुन्दरी आधारभुत विद्यालय अमरगढी–२ मा ५२ हजार, श्री निलकण्ठ आधारभुत विद्यालय अमरगढी–३ लरडा, कोटेउडामा रु ६४ हजार, श्री घटाल माध्यामिक विद्यालय नुवाकोट अमरगढी–३ मा रु ७३ हजार र श्री बैजनाथ आधारभुत विद्यालय अमरगढी–४ मा रु ५० हजार आर्थिक सहयोग गरेर विपन्न समुदायका बिद्यार्थीलाई छात्रवृती प्रदान गर्न अक्षय कोष स्थापना गरिसकेका छन ।
यसैगरि श्री अशिग्राम प्राथमिक विद्यालय अमरगढी–५सेलागाउँमा ६५ हजार, श्री शम्भुनाथ आधारभुत विद्यालय अमरगढी–६ छचोडामा रु ५५ हजार पाँच सय ५५, बेथस्दा चिल्ड्रन होम अमरगढी–७ पोखरामा रु ५१ हजारको अक्षयकोष र दोस्रो पटक लत्ता कपडा बिस्ताराको रकमसमेत प्रदान गरेका छन ।
अमरगढी नगरपालिका–८ स्थित श्री भुमीराज प्राथमिक विद्यालय बागचौरमा रु ५५ हजार पाँच सय ५५, श्री आदर्श मणिलेक प्राथमिक विद्यालय अमरगढी न.पा ९ लटसेरामा रु ५५ हजार पाँच सय ५५ मात्र र श्री अशिग्राम आधारभुत विद्यालय अमरगढी –११ लिटीर गाउँमा रु ५५ हजार पाँच सय ५५ रुपैयाँको अक्षय कोष स्थापना गरेका छन ।
डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकावाहेक जिल्लाभरिका सबै सामुदायीक विद्यालयमा पुगेर विनय प्रकाशले शैक्षिक सामाग्रीहरु र आर्थिक सहयोग गरिरहेका छन । शिक्षाको विकासले मात्रै समाजको समग्र विकास हुने भएकाले आफुले शिक्षा क्षेत्रमा सहयोग गरिरहेको विनय बताउछन । उनले विपन्न समुदायले अध्ययन गर्ने डडेल्धुरा जिल्लाभरिका सामुदायीक विद्यालयहरुलाई आर्थिक सहयोग गर्ने योजना मात्रै बनाएका छैनन् । विपन्न समुदायका लागि उच्चस्तरको प्रावधिक शिक्षालय सञ्चालन गर्ने योजनासमेत बनाएका छन ।
नेपाली विद्यार्थीलाई जापानमा अध्ययन र रोजगारीका लागि पहल
जापान गएर पढाई गर्ने र रोजगारी गर्ने युवा पुस्ताको चाहनालाई मनन गरेर विनय प्रकाशले थुप्रै युवायुवतीहरुलाई जापान पु¥याउने अभियानको थालनी गरेका छन । उनले जापानमा अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि सहज रुपमा जापान पुग्न सक्ने बनाउन साथीहरुसँग मिलेर निःशुल्क रुपमा भाषा पाठशाला चलाई रहेका छन ।
भाषा पाठशालाबाट जापानी भाषा सिकेर थुप्रै नेपाली विद्यार्थीहरु हाल जापानमा अध्ययन गरिरहेका छन । रोजगारीका लागि जापान जान चाहना राख्ने यँहाका बेरोजगार युवायुवतीहरुका लागि सिपमुलक कक्षा र भाषा कक्षा सञ्चालन गरिरहेका छन । अधिकांस नेपालीहरुले वैदेशिक रोजगारीमा जाँदा दक्षताको अभावमा कठोर र जोखिमयुक्त श्रम गरिरहेकोले दक्ष कामदार बनाएर जापान पुगाउन सहयोग गरिरहेका उनले डडेल्धुरा जिल्लाका सातवटै स्थानीय तहबाट बिपन्न समुदायका बेरोजगार युवायुवतीहरुलाई जापान पु¥याउने अभियाननै थालेका छन ।
‘हालसम्म सरकारले बेरोजगार युवायुवतीहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने किसिमले कुनै किसिमको प्रभावकारी योजना ल्याएको पाईदैन,’ उनी भन्छन,‘ समृद्धीको नारा लगाएर चुनावका बेला भोटमाग्ने परम्परा बनेको छ, तर, चुनाव जितेपछि कसैले पनि आर्थिक समृद्धीका लागि योजनावद्ध पहल गरेको पाइदैन् ।’
यसै अबस्थालाई मध्यनजर गरेर विनयले बेरोजगार युवाहरुकालागि बिभिन्न सिर्जनात्मक काममा आर्थिक सहयोग पनि गरिरहेका छन । युवाहरुलाई बैदेशिक रोजगारीमा पठाउने भन्दा पनि आफ्नै देशमा केहि गरेर मुलुकलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्ने विनयको बुझाई छ । यति भएर पनि हालको अबस्थामा तत्काल आर्थिक आत्मनिर्भरताका लागि पहल गर्न थुप्रै चुनौती छन ।
शिक्षित भएर पनि बेरोजगार रहेका युवायुवतीहरुको स्वरोजगारीको चाहना पुरा गर्न देशमा कलकारखाना र उद्योग धन्दा छैनन् । कृषि र पर्यटनको विकासका लागि लगानीको वातावरण बन्न सकेको छैन । स्वदेशमै केहि गरौं भन्ने भावना भएका युवाहरुलाई पनि राज्यले उनीहरुको योजनाअनुरुप सहयोग गर्न सक्दैन । फलस्वरुप युवायुवतीहरु भविष्यको चिन्ताले दिक्दार छन ।
युवाहरुमा देखिएको निराशा र छटपटीलाई राम्रेरी बुझेका विनयले दक्ष कामदार बनाएर जापान पठाउने अभियान थालेका हुन । उनले छोटो अवधीमै दक्ष कामदारका रुपमा तयार गरेर दर्जनौ युवायुवतीहरुलाई जापान पुगाई सकेका छन । जापान पुगेका युवायुवतीहरुलाई जापानमै बसेर विनयले सक्दो सहयोग गरिरहेका छन ।
जीवनको उदेश्य निस्वार्थ समाजसेवा
समाजसेवा भनेकै मानवसेवा हो । मानिसमा रहेको मानवतावादी सोचले नै परोपकारी भावनाको विकास हुने र परोपकारी भावनाले मानिसलाई जीवनको सही अर्थ दिने उनको बुझाई छ । समाजसेवामा निस्वार्थ भावले लाग्ने हो भने चाहेअनुसार ब्यक्ति सफल बन्न सक्ने र समाजले पनि समाजसेवी ब्यक्तिबाट केही प्राप्त गर्न सक्ने उनी बताउछन ।
‘जब मानिसलाई अरुको दुःखमा दुख्न थाल्छ र समभाव जागृत हुन्छ, तबदेखि शुरु हुन्छ उसमा परोपकारी भावना । अरुको पीडामा जब आँखाहरु टिल्पिलाउँछन् र मुटु भक्कानिन्छ, मानिसमा समाजसेवाको भावना जागृत हुन्छ, अनि उसले खोज्न थाल्छ मानवको सेवा गर्ने बाटो । सामाजिक भावना भएका मानिस जहाँ लाग्छन् हृदयदेखि लाग्छन् र उनीहरु लागेको ठाउँमा सफल बन्छन् ।’ विनय भन्छन,‘मैले मेरो जीवनको समग्र उदेश्य समाजसेवा बनाएको छु ।’
कुनै पनि विकसित समाज सदासर्वदा समाजसेवकहरुको ऋणी रहन्छ । प्राकृतिक प्रकोपको शोक र विपत्तिको घडीमा पीडितको सहयोग गर्न सामाजिक भावनाका मानिस सदैव मैदानमा उत्रिन्छन् । विषम् र दुःखद घडीमा सबैका लागि उदाहरणीय र प्रेरणाको स्रोत बनेर समाजसेवामा क्रियाशील रहने विनयको आकंक्षा छ । ‘उदाहरणीय उदारता भएका समाजसेवीहरुकै कारण समाज टिकेको छ ।’ उनी भन्छन ।
साँचो समाजसेवा सदैव स्तुत्य हुन्छ र समाजसेवीहरु सँधै वन्दनीय हुन्छन् । समाजमा धनसम्पत्ति भएका दर्जनौं मानिसहरु पाइन्छन्, तर समाजका लागि उनीहरु एक रुपैयाँ मात्रै पनि खर्च गर्न दाँतबाट पसिना चुहाउने प्रवृतीको अन्त्य गर्न जरुरी छ ।
गतिसिल समाजको चाहना
समाजलाई केही दिन उत्कट चाहना भएका विशाल हृदय भएका मानिसहरुबाटै समाजले गति लिने हो । विनय समाजलाई गतिसिल बनाउन चाहन्छन । समाजिक परिवर्तन उनको अभिष्ट अभिलाषा बनेको छ । सामाजिक भावना भएका व्यक्तिहरुले महानतम् जिम्मेवारी र विशाल जोखिमहरुले भरिएका कर्तव्यहरु आफ्नो काँधमा लिई फत्ते गर्छन् ।
आफ्ना कर्तव्यहरु पालना गर्नुलाई नै उनीहरु परम् सन्तोष प्राप्तिको बाटोको रुपमा लिन्छन्, अन्य केही पुरस्कारका आशा गर्दैनन् । हाम्रो शैक्षिक प्रणालीमा यस प्रकारका समाजसेवी भावनालाई प्रोत्साहित गर्ने शिक्षाप्रद विषयबारे बारम्बार चर्चा परिचर्चा हुनुपर्छ । हाम्रा असल समाजसेवीहरुको मनोवृत्ति र आचरणमा हामी भविष्यको नवमानवको झलक देख्न सक्छौं ।
हाम्रो इतिहासका विभिन्न कालखण्डमा समाज परिवर्तनका महान उद्देश्यप्रतिको चाहना र सम्पूर्ण लगनशीलताले भरिपूर्ण कार्यहरुलाई दोहो¥याइएको छ पटक पटक र यी सबैखाले सामाजिक परिवर्तनको केन्द्रमा समाजसेवीहरुको भूमिका महत्वपुर्ण रहेको पाइन्छ । तसर्थ, समाजसेवाको भावना शिक्षा, स्वास्थ्य, व्यापार, वाणिज्य, खेलकुद लगायत हरेक मानवीय गतिविधिमा अन्तरनिहित रहनुपर्छ ।
विनयले हरेक क्षेत्रमा सक्दो सहयोग गरिरहेकाले समाजलाई गतिसिल बनाउन उनको महत्वपुर्ण भूमिका रहेको स्थानीय युवा सुरत तमोली बताउछन । ‘समाजसेवी विनय दाईले समाजको समग्र विकासका लागि पुगाएको योगदान अतुलनीय छ,’ तमोली भन्छन,‘यस्ता प्ररणादायी युवा समाजसेवीबाट सिकेर हामी सबैले समाजलाई सक्दो योगदान दिनु जरुरी छ ।
निस्वार्थ भावनाले ओतप्रोत भएर समाजसेवामा लाग्ने मानिसहरु स्वभावैले परोपकारी हुन्छन । विनयमा परोपकारी भावना भएकै कारण उनले समाजले अपेक्षा गरेअनुसार सक्दो सहयोग गरिरहेको युवा पत्रकार दीपकराज भट्ट बताउछन । एकजना ब्यक्तिले विदेशी भूमिमा अथक मिहेनत गरेर आर्जन गरेको रकमबाट यतिधेरै आर्थिक सहयोग गर्नु समाज परिवर्तनका लागि महत्वपुर्ण उपलब्धी भएकोले समाजसेवी विनयको अभियानमा सबैले सक्दो सहयोग र सहकार्य गर्नुपर्ने पत्रकार भट्ट औँल्याउछन ।
वर्तमानमा समाजसेवाका क्षेत्रहरु विस्तारित भएका छन । सँगसँगै समाजसेवीहरुको संख्यामा पनि उल्लेखनीय रुपमा वृद्धि भएको छ । स्थानीय स्तरदेखि देशका प्रायः सबै जिल्लामा समाजसेवी छन । विनय प्रकाशले समाजसेवामा पुगाईरहेको योगदान कसैभन्दा कम देखिदैन् ।