ब्यस्त शहरमा

ब्यस्त शहरमा
कुनै बेला आफुलाई नितान्त
एक्लो पाउछु
ब्यस्त भिडभाडमा
एक्लो पार्ने शहरको बिशेषता
भैसकेको रहेछ
मलाई लाग्थ्यो यो शहर मेरो पनि हो
यहाँका मानिस मेरै आफन्त हुन
यहाँको समृद्धिमा मेरो पनि हिस्सा छ
प्रत्यक्ष सरोकार छ शहर संग
मेरो पनि
तर होइन रैछ
शहर बिरानो रहेछ
शहरको रहन, सहन, जन ,जीवन
हामीले सोचे भन्दा बिल्कुल फरक रहेछ
मालिक प्रवृत्तिको बिकास भएको रहेछ
घैला,मैला,गरीव,पाखे,भेडा
देख्दा रैछन गाउँमा बस्नेलाई
टोपी खस्ने आलिशान महल
गहिरिएर हेर्‍यो भने
हाम्रै पसिनाले बनेको हुनसक्छ
यहाँको माटो परीक्षण गरियो भने
हाम्रै पुर्खाको रगतको गन्ध मिल्छ होला
दु:ख लाग्छ
जहाँ हाम्रो रगत ,पसिना बगेको छ
त्यो बिरानो भयो
त्यो शहर भयो
शहरका प्रतिको मेरो द्वेष ईर्ष्या होईन
शहरका प्रती पुर्वाग्रह पनि होइन
शहर सबैको हुनु पर्थ्यो भन्ने हो
शहरका प्रति अपनत्व हुनु पर्ने हो
शहरको पनि गाउँका प्रति अपनत्व हुनु पर्ने हो
शहरका प्रती भरोसा हुनु पर्थ्यो
तर त्यो भएन
क्रमशः शहर बिरानो हुँदै गयो
हरेक मानिस आफुलाई
ब्यस्त शहरको एक्लो मान्छे
पाउन लाग्यो
शहर बिकास,उन्नतिको प्रतीक हुनु पर्थ्यो
हजारौं को भिड छ
परि हालेछ भने हात तान्ने कोहि छैनन
बरु खुट्टा तान्छन
धुवा,धुलो,फ़ोहोरलाई माया गर्छ
तर गाउँलाई हेला गर्छ,हेयले हेर्छ
गाउँ सत्रु होइन
गाउँ बोझ पनि होइन
बरु भरोसा हो
शहरको आडम्बरले क्षय गरिरहेको छ
दम्भले दुरि बढाउदै
द्वन्द निम्त्याउदै छ
रहन,सहन ,ब्यवहारले
हरेकलाई एक्ल्याउदैछ
ब्यस्त शहर एक्लो शहर भएको छ
ब्यस्त शहरमा एक्लो बनाउदैछ


परशुराम १२ डडेल्धुरा 

You might also like
Leave A Reply

Your email address will not be published.