कुहिरोको काग

निकै अलमल छ मनमा
गन्तव्य खोज्दै भौतारिरहेको छ
कुहिरोको काग
उसलाई लाग्थ्यो गन्तव्य यही हो
उसको ठम्याई गलत पनि होइन
तर उडदै गर्दा अलमल अझै बढदै छ
रुमल्लियो,निस्सासियो
कुहिरोको काग
घाम,पानी ,शीत ,तुसारो थेग्न सक्थ्यो
बाज चील संग भिडन सक्थ्यो
चतुर्‍याइँको लाख युक्ति खोज्न सक्थ्यो
धेरै माथि धेरै माथि
हिमाल भन्दा पनि माथी पुग्न सक्थ्यो
गतिका प्रती सन्देह छ
प्वाख प्रतिको बिश्वास घटदैछ
राति देख्न नसक्ने आँखा
दिउँसो पनि नदेख्ने भएकी शंका लाग्यो
अलमलियो,सोच्नलाग्यो
कुहिरोको काग
आफुलाई स्वतन्त्र मान्थ्यो
मुक्त आकाशमा उन्मुक्त उडथ्यो

स्वतन्त्रताको सिमा खुम्चिएको पायो
घर घरमा खवर पुर्‍याउथ्यो
कुनै आगनी थिएन जहाँ कागले नछोएको
कुन रुख थिएन जहाँ काग नबसेको
हरेक कराईमा कुनै न संकेत हुन्थ्यो
कहि एक्लै,कहि समुहमा निर्वाध उडने
गन्तव्य बिहिन भएको छ
कुहिरोको काग
घरी यता घरी उता तलमाथि
रुखको हागो पाइन्छ कि
आगन छेउको दलान मिल्छ कि
मुक्त आकाश देखिन्छ कि
यहाँ खानेकुरा छ आउ
यहाँ शत्रु छ भागौ भन्ने संकेत सुन्ने

साथी पनि छैनन
शत्रुको भय भन्दा पनि बाटो बिराएको चिन्ता
एक्लै एक्लै भौतारिदै छ
कुहिरोको काग
आफुलाई नियन्त्रण बाहिर पाउछ
यतै हराए भने
शत्रु चराले ठुगी ठुगी भुत्ला निकाली
चुक्टा खानेछन
कमिला रमाउदै ताती बाधेर
कण कण लैजाने छन
बचेरा कोइलीले खाई सकेको हुनेछ
मैले दिने खवर कसले देला
म बिना यो संसारको अस्तित्व पनि
रहन्छ रहदैन
यस्तै कल्पिदै अलपत्र उडदै छ
कुहिरोको काग


परशुराम १२ डडेल्धुरा 

You might also like