युगौ देखि मन्दिर भित्र
सजाएर राखेका शिलाहरु हो
अब अबोल भएर पुग्दैन
केही न केही त बोल्नै पर्छ
आशै आशमा पुस्तौंदेखि निस्काम
पुजी रहेका छौ
जतिसुकै निस्काम भने पनि
केही न केही निहित स्वार्थ त छ नै
रक्षागर हे प्रभु कामना रहिरहन्छौ
स्वार्थीहरुको लामले चिताएको पुरा होस
अब घण्टाले तथस्तु भनेर पुग्दैन
शिला स्वयं बोल्नु पर्दछ
निर्गुण,निराकार हो भने
किन साकार शिला चाहियो र
पुजा गर्दा सजीवलाई जस्तै
निकै सेवा सत्कार संग सम्मान गरे झै
पञ्चामृत सहित पञ्चमोपचार,दशोपचार
षोडसोपचार सहित पुजा गर्नु पर्छ
तिमीलाई मात्र होईन
तिम्रा नाउ जोडिएका शाखा सन्तान
आसेपासे सबैलाई पुज्नु नै पर्छ
चोखो,सफा सुग्घर ,निष्ठापुर्वक
तिम्रा लागि त्याग गर्नु नै पर्छ
पुर्वजले गरे त्यही गर्नु सनातन हो
देख्नेले समर्पणका पछाडी स्वार्थ देख्दछ
“कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन”
भन्दै हिडे पनि
फलको आशको त्यान्द्रो रहि रहन्छ
कठोर निर्णयमा पुग्नु पर्ने देखिन्छ
अब दास्यभक्ती होइन
सखा सम्बन्ध चाहिन्छ
दु:खमा साथ सहयोग चाहिन्छ
अन्यायका बिरुद्ध बोल्नु पर्छ
आस्था माथि नै प्रश्न उठे पछि त
केही नबोली भएन,बोल्नै पर्छ
तब भन्न उपयुक्त हुन्छ
त्वमेव सर्व मम देवदेव ।
मागेको सबै पुर्याउनै पर्छ भन्ने होइन
तर बिश्वास नडगमगाओस
आस्थाको सगरमाथा नभत्कियोस
चिताएको पुगोस भन्ने पनि होइन
शरणागत ,समर्पण नकुल्चियोस भन्ने हो
अब अमुक जप गरेर पनि केही छैन
जुन आस्था छ,जुन विश्वास छ
त्यसलाई बचाई राख्न पनि
अब बोल्नै पर्छ
कैलासकुमार पाण्डेय
परशुराम १२ डडेल्धुरा