पराजय

दुर्योधन बचाउने निहुमा
अमोध अस्त्र खोसिएका सेनापती
समरमा कसरी बिजेता बन्लान
आत्मवल कमजोर गरि युद्ध मैदानमा रहदा
आत्मरक्षा नै अहं हुन जान्छ
युद्ध कला र रण कौशल फिका हुन्छ
शस्त्र अस्त्रको खजानाले मात्र पुग्दैन
ठूलो सैनिकदस्ता ले पनि काम गर्दैन
धेरै महारथी भएर पनि हुदैन
‘नश्यन्ति बहुनायक’
अंगुठा काटिएका एकलब्यहरु
शिर काटिएका वर्वरिकहरु
केराको पातले बज्र छेकिएका दुर्योधनहरु
कुण्डल कवच खोसिएका कर्णहरु
शिखण्डि अगाडी आत्मसमर्पित भीष्महरु
भ्रमको जालमा रुमल्लिएका द्रोणहरु
सरासर निस्तेज हुन्छन
सारथि बनेका शल्यहरु
शत्रुपक्षको तीरमा तेज देख्दछन
शक्तिहीन भएका महारथीहरु
निरीह अभिमन्यु चक्रब्युहुमा फसाइ
आत्मरति गरिरहेका हुन्छन
सुतिरहेका पाण्डव पुत्रहरु मारी
आफ्नो सौर्य र पराक्रम बिर्सिरहेका हुन्छन
अश्वस्थामाहरु
भावना नै नमिल्ने संग यात्रा गर्दा
सधै वर्ग शत्रु भनी व्यवहार गर्ने संग
स्याल मित्तेरी गरि गठजोड गर्दा
उभो त कसरी लागेला
बचेको साख पनि गुम्न जाने हुन्छ
शल्यलाई बलैगरी सारथि बनाउदा
कर्णको रथ भन्दा अर्जुन रथ राम्रो लाग्थ्यो
अर्जुनका हरेक वाणको प्रशंसा हुन्थ्यो
तै पनि बिजयको कामना गर्थे
जयको सपनामा
पराजय बिपना हुन जानेछ
कुरुक्षेत्रको युद्धमा
ठूलो योजना थियो दुर्योधन संग विजयको
संकल्पमा निष्ठा थिएन कुण्ठा थियो
सत्य,इमान थिएन
असत्य,वेइमानी र अधर्म थियो
थिए भीष्म,द्रोण ,कर्ण जस्ता
महारथी थिए
एघार औक्षिणी सेना थियो
तर निष्ठा थिएन,सत्य थिएन
द्वेष ,ईष्र्या ,आग्रह ,पुर्वाग्रह थियो
जय थिएन ,पराजय थियो

कैलासकुमार पाण्डेय
परशुराम १२ डडेल्धुरा 

You might also like