कैलासकुमार पाण्डेय
म संग रहेका असंख्य कमजोरीहरु
निरन्तर निरन्तर म संगै हिडछन
घरी जिस्क्याउछन,गिज्याउछन
लुकाउन खोज्दा
रातको जून तथा दिनको घामले
छर्लङ्ग पारिरहेको हुन्छ
जति सुकै लुकाउन खोजे पनि
पछाडि तिर कुरा काटनेका लागि
प्रसस्त मसला बनेको हुन्छ
हरेक उन्नतिलाई पछार्छ
जीवनमा लगाम लगाउछ
कमजोरी मान्छेबाटै हुन्छ
गल्ती नै नगर्ने त भगवान हो भन्छन
गल्ती भइ सच्याउने मानिस हो रे
गल्ती गरि अटेर गर्ने हैवान हो भन्छन
कमजोरी सच्याउदा माफ माग्नु पर्छ
माफ माग्दै गर्दा शिर निहुरिन्छ
शिर निहुरिदा आत्मवल,आत्मसम्मान घटछ
शत्रुले पनि कमजोरीमा टेकि प्रहार गर्छ
सबल पक्षको कसैले वास्ता नै गर्दैन
कमजोरी पहिल्याउछन
कमजोरी मै टेक्छन र खेल्छन त्यसैमा
कमजोरी को फाइदा उठाउछ्न
धमिलो पानीमा माछा मार्न उद्दत हुन्छन
मान्यता छ
साख सृजना गर्न जति मिहिनेत गर्नु पर्छ
साख बचाउन दोब्बर मिहिनेत आवश्यक पर्छ
सानो कमजोरीले साख समाप्त हुन्छ
अर्काको कमजोरी त सजिलै पहिल्याइन्छ
देखाउन सकिन्छ शरीरमा जूम्रा हिडेको
मेरा कमजोरी सधै म संगै छन
हुन त सच्चिने मौका दिन्छन
परिस्थिति बिग्रेमा
तीलको पहाड बनाउछन
सच्याउन नसके समाप्त पनि पार्छन
सबै संग केही न केही कमजोरी रहन्छन नै
मानवीय कमजोरीहरु
सफलताको कथामा कमजोरी कहाँ लुक्ने रैछन
सफल मान्छे सधै सफल रहिरहन्छ
असफलता संग कमजोरीले बढी काम गर्छ
कमजोरीले कहिले नछाड्ने भयो
कमजोरी अभिषाप पनि होइन बरदान पनि होइन
जन्म सिद्ध पनि होइन
न कुनै रीत परम्परा नै हो
कमजोरीको न कुनै इतिहास छ
न कहि दन्त्यकथामा उल्लेख पनि
सबै सित कुनै न कुनै किसिमका कमजोरी रहन्छन
मेरा कमजोरी निरन्तर निरन्तर म संगै हिडछन
घरी जिस्क्याउछन,गिज्याउछन
लाग्छ मेरो प्रगतिको अवरोध कमजोरी नै हुन
सच्याउन न खोजेको पनि होइन
अटेरी पनि होइन
सायद भाग्य संग पनि सरोकार राख्छकी
जे जस्तो भएनी
मेरा कमजोरी निरन्तर ,निरन्तर
जिस्क्याउछन,गिज्याउछन
परशुराम १२ डडेल्धुरा