म धरहरा
राजधानीको मुटुमा
पुन ठिङ्ग उभिए
भीमसेन थापाले रचना गरेको
इतिहास म संग छैन
म संग जंङ्गबहादुरले देखाएको
वीरता पनि छैन
केही भए मेरै छेउको खण्डहर संग होला
मेरो स्वरुप धरहरा भन्दा पनि
छड,सिमेन्ट ,गिट्टी ,वालुवाबाट बनेको
टावर मात्र हो
न त यहाँबाट काठमाडौ बासीको
घरको धुरीबाट धुवा निस्केको देखिन्छ
न त म कुनै घटनाको साक्षी हुन सक्छु
न भोकोको भोक मेटन
नाङ्गोको आङ ढाक्न नै काम आउछु
मात्र उभिएको छु
सबैले खाए पछि खाने शासक पनि त छैनन
मैले देखेका सुनेका कुरा मन भित्रै छन
देखेको छु देशको राजधानीमा पनि
दिनदहाडै मानिस लुटिएका छन
अस्मिता लुटिएका छन
एक छाक खान नपाएर भीख माग्दैछन
कैयौ जन्ती यै बाटो जान्छन
मलामीको ताती लस्कारै जान्छ
दिनै पिच्छे जात्राका झाकी देखिन्छन
जिन्दावाद ,मुर्दावाद धेरै छन
सायद म संग कान भएको भए
कोक्याएर बिमारी नै परेको हुन्थे
रात, दिन केही न केही भएकै हुन्छ
यावत घटनाको किनाराको साक्षी मात्र छु
राज्यले पहरा बस्न खटएको हो वा
अरु कुनै प्रयोजन थियो
आफ्नो दायित्व नै थाह छैन
तै पनि अहोरात्र उभिएकै छु
घण्टाघरले त कम्तीमा समय त भनिरहेको छ
मेरो इतिहास त्यति पुरानो छै
महाभुकम्प धरहरा ढलाए पछि
मेरो धरहरा म आफै बनाउछु भनी
हरेकको लगानी थोपोरेर सेतो हात्ती जस्तै छु
न त पर्यटकीय गन्तव्य नै बन्न सक्छु
न त धरहराको शहर भनि चिनाउन सक्छु
न त बटुवाको ओत लाग्न काम आउछु
मेरो आशमा बसेका परेवा,पुतली झ्याउकिरीहरु
मेरो आशमा बसेका प्रतिस्पर्धी ब्यापारीहरु
धेरैले बास ठान्नेछन,कसैले प्रतीक मान्नेछन
समृद्धिको आधार सम्झने छन
फगत ठिङ्ग उभिएको धरहरा मात्र हुनेछु
निरीह सुन्धारा पानी नपाइ काकाकुल छ
फ़ोहोर ,दुर्गन्ध ,धुलो,धुवा सामान्य लाग्छ
धरहराको शहर बन्न सकेन
शहरको धरोहर पनि हुन सकेन
निशव्द एक्लो उभिएको छु
उभिएकै हुनेछु
परशुराम १२ डडेल्धुरा