काठमाडौँ- काठमाडौँ महानगरपालिकाका पहिलो मेयर एवम् नेपाली कांग्रेसका पुराना नेता प्रेमलाल अर्थात पीएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारी निवासमा सोमबार बिहान ८७ वर्षको उमेरमा निधन भएको हो ।
उनी केही वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए । गणेशमान सिंहको मुख्य सहयोगी भएर काम गरेका उनी गणेशमानका धर्मपुत्रका रुपमा पनि चर्चित थिए । उनी २०४९ सालमा तत्कालीन काठमाडौँ नगरपालिकाको मेयर बनेका थिए । उनकै कार्यकालमा २०५२ मङ्सिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।
सिंहको निधनमा आज महानगरपालिकाले सार्वजनिक बिदा दिएको छ । सिंहको पार्थिव शरीर बिहान ११ बजेसम्म नीजि निवास ठमेलको चाक्सीबारीमा राखिनेछ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार त्यसपछि अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा एक घण्टा राखिनेछ । दिउँसो एक बजे विष्णुमती नदी किनारामा रहेको लखतीर्थमा उनको अन्तिम संस्कार हुनेछ ।