जिवन्त भावमा कवि कैलाशको नयाँ कृति

वरुण पनेरु
नेपाली साहित्यको निकै चर्चित र पुरानो बिधा हो कविता । शास्त्रीय लेखन देखि उत्तर आधुनिक लेखनसम्म पुग्दा कविता नै उत्कृष्ट बिधा भएको छ । धेरै सिद्धहस्त कलम जीविले कविता बिधामा सृजना कोरेका छन् । कविता लेखनमा निकै परिचित नाम हो कैलाशकुमार पाण्डेय । डडेल्धुरा जिल्लाको परशुराम–३ थपलामा जन्मेका पाण्डेयका गीत,गजल र कविता गरि छैटौँ कृति बजारमा आइसकेको छ ।
पछिल्लो समय आधुनिक कविता लेखनमा निकै तल्लिन रहनु भएका पाण्डेयले भत्केका स्तंभहरु,आकाश छुने रहर र भर्खरै मात्र ‘एकलब्यको देशमा’ कविता संग्रह पाठक सामु पुगेको छ । एकलब्यको देशमा आधुनिक कविता समेटिएका छन । विभिन्न पत्रपत्रिका,अनलाइनमा अधिकांश प्रकाशित कविता राखेर सम्पादन हाउसको प्रकाशनमा निकै महत्वपुर्ण कृति प्रकाशित भएको छ । बिचार अभिब्यक्त गर्ने विभिन्न माध्यम मध्ये साहित्य गतिलो माध्यम हो । जहाँ मुक्त कण्ठले भावना पोखिएका हुन्छन् । भावनालाई सलल बग्न दिनु पर्छ । सलल बगाउने सशक्त तथा सवल बाटो साहित्य हो । त्यसैमा कविता अझै उच्च स्थानमा रहन्छ । गीत,गजल, कविता मार्फत प्रस्तुत हुने बिचार,भावना अर्तरहृदयको अभिव्यक्ति हो ।
कविता मार्फत कविको परिचय झल्कन्छ । कविको अनुभव, अध्ययन सृजनकौशलबाट ओजपुर्ण कविता प्रस्फुटन हुन्छन । अथाह सागर हो कविता बिधा त्यहि अथाह सागरमा डुबुल्की मारेर कैलासकुमार पाण्डेयले सागरबाट गागर थापेर ल्याएका छन् । नविनतम् बाँन्कीका साथ निकै साजसज्जा बनाएर गहकिलो कृति पस्केका छन् । मधुपर्क मासिकमा प्रकाशित एकलब्यको देशमा कवितालाई संग्रहको नाउ दिएर छ दर्जन कविता समेटेका छन् । विभिन्न परिवेश,परिस्थिति अवस्था, घटनालाई शब्दमा उतारेर दरिलो संग्रह बनेको छ । सिमान्त मुद्दाको उठान् मात्र होइन समाधान पनि पहिल्याएका छन् कविले । गाउँले जनजीवन बोलेका छन् । शहर समेटेका छन् । दुख पिडा बितृष्णा ओकलेका छन् पनि । सरल भाषा शैलीदेखि लिएर संस्कृतका धेरैले उच्चारणमा कठिनाई पर्न जाने गरि जटिल प्रयोग पनि गरेका छ । स्थुलमात्र नभइ भावनात्मक लेखाइ पनि देखिन्छ । कविता सलल बग्ने खोला मात्र होइन,स्थिर तलाउ तथा चञ्चल झरना पनि होइन् जहा मनोरम हुन्छ पानीको त्यहि गति र हिस्सा हो। भने जस्तै सलल बगेका भाव पनि छन् । स्थिर र चञ्चल मन पनि समेटिएको छ । सामाजिक परिवेशलाई कविताको माध्यमबाट पाठक माझ ल्याउन खोजेका छन् ।
मानिसमा अन्तरनिहित चेतना हुन्छ जसले अंकुरण हुने समय,स्थान वातावरण पाउनु पर्ने हुन्छ तर हाम्रो परिवेश त्यसको अनुकुल छैन् भन्ने आशय देखिन्छ यो संग्रहमा । नितान्त निजी बिषयलाई राखेका छन् । हुनत कविले कवितामा आफुलाई प्रस्तुत गर्छन् भन्ने मान्यता । त्यस्तै पाठकले अध्ययन गर्दा कवितामा आफुलाई पाउन सके त्यो सार्थक मानिन्छ । गहिरो रूपमा यो संग्रह भित्र प्रवेश गरेमा पाठकले स्वयम्लाई साङ्गोपांग रुपमा पाउँछ । मानवीय समबेदना कोरिएको छ र आम मानिसको बारेमा लेखिएको छ कवितामा । समाजले समेटेका राम्रा नराम्रा पक्ष सामाजिक अंग नै हुन । राम्रा पक्षको पक्षपोषण गर्नु र कमजोर पक्षमा सुधार गर्दै जानका लागि दुर्वल पक्षको उठान हुनु पनि जरुरी हुन जान्छ । कविले समाजका सबल दुर्वल पक्षलाई उठान मात्र गरेका छैनन सबल पक्षको प्रसंशा र प्रसस्ती र कमजोर पक्षलाई सुधारको उपाय सहित पहिल्याएका छन् ।
संग्रह निकै फराकिलो छ । आधुनिक लेखनको शसक्त उपस्थिति छ । हरेक लेखकले कहि न कहि महाभारत टेकेका हुन्छन् तर कैलासजी बढी रुमलिएका छन । महाभारतका प्रसंग कथा सबै जानकार हुन्छन तर सो प्रसंगलाई समसामयिक बनाउनु लेखकको शैली र क्षमतामा भर पर्छ । बढी प्रसंग राखे पनि अस्वभाविक भने छैनन । नितान्त निजी बिषय राखिएका छन । ब्यक्तिगत रूपमा उपयुक्त ठानिए पनि आम पाठकका लागि झर्को लाग्न सक्ने देखिन्छ ।सबै बिधामा सैद्धान्तिक र ब्यबहारिक पक्ष रहन्छन् । यो संग्रहमा पनि कविताको सिद्धान्त र प्रयोगलाई वराबरी लिइएको छ । कवितामा समेटिएका तमाम बिषय मानवीय सम्बेदशिलतासँग जोडिएका छन् । धेरै प्रसंग प्रकृतिको बयान वर्णन गरिएका छन् । समाज, राष्ट्र, राजनीति, समसामयिक अवस्थासँगै आञ्चलिकता जोडिएको छ । पुर्वको इलाम होस् वा पश्चिमको गड्डाचौकीसम्मै लेखेका छन् । काले कामी देखि गोपीरामको पिडाको उजागर गर्ने कोशिष गरेका छन् ।
संग्रहको भुमिका लेख्दै डा. नवराज लम्सालले कवि, कविता र कविता संग्रहको दुरुस्त बिबेचना गरेका छन् । डा.लम्सालले संग्रह कै चर्चा गर्दै “कविताले वर्तमानलाई पक्रेका छन् र स्थानीयताको रङलाई सुकोमल तरिकाले टपक्क टिपेका छन् । अर्मपर्म, ऐँचोपैँचो र सेउलीपातीका कथा, घरेलु द्वन्द्व र सामाजिक अन्यायका विषय छरपष्ट छन् । समाजका कथालाई कविताको बान्कीमा मज्जाले कस्न खोजका छन् ।“ भनि प्रष्ट परेका छन । हरेक पाठकलाई निश्चय पनि औधी मन पर्ने कृति आएको छ । सुदूरको मान्छे त्यो दुरदराज बस्तीमा जन्मे हुर्केको मान्छेले यत्तिको गतिलो संग्रह तयार गर्नु प्रसंशनीय कार्य हो नै ।
कविले आधुनिक लेखन शैलीको जगमा टेकेर कविताको भाव समातेका छन् । सिमान्त, चेतना, स्वतस्फूर्त बिचार निकै शक्तिशाली हुन्छ भन्ने कुरा देखाउन खोजेका छन् । कवितामा कवि,कविले प्रतिनिधित्व गरेको समाज गाउँबस्ती ,अध्ययन गरेको बिषयवस्तुलाई सरल तरिकाले बुझ्न पाइन्छ । रंगुन,धुन्धुवती,ओखलढुंगा, रुपाल आदि कविताले स्थानीय नदि,स्थान, प्रकृतिको परिचय गराउँछ । त्यस्तै फाटेको कमिज,आफर, असार, मेरो कर्तव्य,मलाई थाहा छ कविताले कविलाई बुझ्न सकिने ठाउँ पाइन्छ । छोरी,सानी छोरी,वा,मेरा पुर्वजले पारिवारिक अवस्था जान्न पाइन्छ । कविता कवि हो भनेर हरेक कवितामा कवि पाइन्छन् । हरेक कविताको भाव,शैली, बान्कीमा नयाँपन पाइन्छ । नवरसलाई हेर्दै जादाँ भेटेन्छन् । काब्यिक संरचना नभए पनि काब्यको भावभंगी पाइन्छ । जीवन, समाज,धर्म,अर्थ,काम मोक्ष,सबै जोडेका छन् । कहि निकै नास्तिक पाइन्छन् भने कहि आध्यात्मिक चिन्तक देखिन्छन् । कविले पुर्वीय दर्शनको अध्ययनसँगै कवितालाई थप समय सान्दर्भिक पनि बनाउन खोजेका छन् । एकदम गतिलो पुस्तक तयार भइ प्रकाशित भएको छ । साहित्यमा थपिएको अर्को किताब पठनीय र संग्रहणीय छ ।

You might also like