कान्जिरोवा हिमालको काखैमा रहेको डोल्पाका लागि प्रकृतिको अलौकिक उपहार हो से–फोक्सुन्डो ताल । यस ताललाई देशको सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यको रूपमा पनि लिइन्छ । नेपालगन्जको उडानसँगै फोक्सुन्डो तालको यात्रा सुरु हुन्छ । ट्रेकिङ गर्दा ट्रेलमा झरना, मनमोहक दृश्य, कटुस, सल्ला, गोब्रे सल्ला र देवदारको रूखहरूले भरिएको घना जंगलमा वन्यजन्तु कस्तुरी, मृग, हिउँ चितुवा, नाउर, चौँरी, हिमालयन थारजस्ता लोपोन्मुख जीवजन्तु हेर्न पाइन्छ । से–फोक्सुन्डो तालसम्मको यात्रा विभिन्न जैविक विविधताका साथै र फोक्सुन्डो खोलाको मनमोहक विशाल झरनाको अवलोकन गर्दै गर्न सकिन्छ ।
कसरी पुग्ने ?
पहिलो दिनः काठमाडौंबाट नेपालगन्जसम्म (मोटरमार्ग वा हवाईमार्ग)
दोस्रो दिनः(नेपालगन्जबाट कागनीसम्म) नेपालगन्जबाट लगभग ४० मिनेटको उडानपछि जुफाल पुगिन्छ र जुफालबाट ५–६ घन्टा पैदल यात्रा गरी सुलिगाड से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको चेकपोस्ट हुँदै कागनी गाउँ पुग्न सकिन्छ ।
तेस्रो दिनः कागनीबाट झरनासम्म (६–७ घन्टा पैदल यात्रा) विभिन्न ठूला–ठूला रूखले भरिएको घना जंगलको बाटो र खोलाको तीरैतीर बिस्तारै उकालो लाग्दै सांगता, छेप्का, रेंची तापरिचा स्कुल हुँदै झरना पुग्न सकिन्छ ।
चौथो दिनः झरनादेखि से–फोक्सुन्डो ताल (रिङमो गाउँ तीन–चार घन्टा पैदल यात्रा) झरनाबाट से–फोक्सुन्डो तालसम्मको यात्रा विभिन्न जैविक विविधताका साथ र से–फोक्सुन्डो खोलासँगै र मनमोहक विशाल झरनाको अवलोकन गर्दै ठाडो उकालो लाग्दै रिङमो गाउँ (से–फोक्सुन्डो ताल) पुगिन्छ । दिउँसोको खानापछि तालको कर्नरमा रहेको बोन्पो गुम्बा अवलोकनका साथ से–फोक्सुन्डो ताल अवलोकन गर्न सकिन्छ ।
पाँचौँ र छैटौँ दिनः फोक्सुन्डो भ्यु पोइन्ट पुगेर रेची फर्कने । बिहानै भ्यु पोइन्ट गई सुन्दर से–फोक्सुन्डो ताल अवलोकन गरिन्छ । भ्यु पोइन्ट अवलोकनपछि रेची फर्केर बस्न सकिन्छ ।
सातौँ दिनः रेचीदेखि जुफालसम्म (६–७ घन्टा पैदल यात्रा) भेरी नदीको किनार चट्टानी उकालो–ओरालो बाटो हिँड्दै, सुन्दर परिदृश्यको अवलोकन गर्दै, सांग्ता, कागनी र सुलीगाडको सोही बाटो हुँदै जुफाल पुग्न सकिन्छ ।
आठौँ दिनःजुफालबाट नेपालगन्ज हुँदै काठमाडौंसम्म । बिहानै जुफालबाट ४० मिनेटको उडानपछि नेपालगन्ज र दिउँसो एक घन्टाको उडानपछि काठमाडौं फर्किन सकिन्छ ।
(नयाँपत्रिका दैनिक बाट साभार)