मस्त र कष्ट – बडिमालिका यात्रा

धेरै पहिलेदेखि घुम्नैपर्ने गन्तव्यको सूचीमा राखेर पनि पुग्न नसकिएको गन्तव्यहरु मध्येको एक सुन्दर सुदूरपश्चिमको बडीमालिका क्षेत्रको कष्टकर र मस्तकर यात्राको अनुभव लिने मौका यो वर्ष बल्ल जुर्यो ।

पछिल्लो समय विभिन्न समाजिक सञ्जालमा राखिएका बढीमालिका क्षेत्रको सुन्दर तस्विर र भिडियोहरुले हामीलाई मात्र होइन धेरैलाई बडीमालिका घुम्न उत्प्रेरित गरेको रहेछ । यात्राको क्रममा भेटिएका ईलाम, पोखरा, चितवन, गोर्खाका यात्रीहरु यूट्युब, फेसबुक तथा टिकटकमा राखिएका भिडियोहरुले आफूलाई बडीमालिका आउन उत्प्रेरित गरेको बताइरहेका थिए ।

बाजुराको सदरमुकाम मार्तडी र मार्तडीभन्दा २७ किलोमिटर वर बाम्का बजारबाट बडीमालिका क्षेत्र पुगिने भएपनि अधिकांशले मार्तडीबाट सोतापाटन, घोडेपाटन र त्रिवेणी हुँदै बढीमालिका जाने रुटलाई रुचाउदा रहेछन् ।

मार्तडी बजार

बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट सुरु हुने पहिलो दिनको यात्रा अलि कष्टकर हुने रहेछ । धेरैको आत्मविश्वास माथि हमला गर्ने एकदमै ठाडो उकालो बाटोमा करिव ७ घण्टा हिँडेपछी पाती हाल्ने (फूल चढाउने)ठाँउमा पुगेर केही राहत महशुस गरे पनि अझै ३ घण्टा हिँडेपछि मात्र बल्ल बास बस्नका लागि घोडेपाटन पुगियो ।

स्वास फेर्न पनि कठिन हुने मार्तडीको त्यो उकालोको केही स्थानमा सामान्य विश्रामस्थलहरु बनाइएका छन्, जहाँ हामीले बोकेर लगेका खाजा खाएका थियौँ । यो रुटमा यात्रा गर्दा आफ्नो लागि आवश्यक पर्ने खाना तथा नाना बोकेर लैजानुको विकल्प छैन रहेछ । कतिपय यात्रीहरु पायक पर्ने गरी यिनै विश्रामस्थलमा बास बस्दा रहेछन् तर हामी भने घोटेपाटनको खर्कमा बास बस्यौँ ।

त्रिवेणी पाटन

मार्तडीबाट यात्रा सुरु गर्ने यात्रीहरुमध्ये अधिकांश यात्रीहरु सोता पाटनमा रहेको खर्कमा पहिलो बास बस्दा रहेछन् भने केही यात्रीहरु मात्र घोडेपाटन वा भित्तिचिन्नासम्म पुग्दा रहेछन् । सोता पाटन, घोडेपाटन र भित्तिचिन्ना यि कुनै पनि ठाँउमा गेष्टहाउस तथा पसलहरु छैनन् । यहाँ रहेका भेडिगोठ र खर्कहरुले यात्रीहरुलाई गाँस र बासमा प्रवन्ध मिलाईदिदा रहेछन् ।

दोश्रो दिन केही घण्टाको हिँडाइपछि भेटिने पाटनहरुले पहिलो दिनको थकाईलाई बिर्साउदो रहेछ । सुन्दर हरिया घाँसे मैदान, कलकल आवाजसहित बगीरहेका स-साना खोला र थेप्चो परेका उकाली ओरालीपछि पुगिने भित्तिचिन्ना माथि आँखैले हेर्ने नभ्याउने विशाल पाटनहरु देख्दा थकान कता पुग्छ ? कसैलाई थाहा नै नहुँदो रहेछ ।

आमनेसामने हिमालहरु

यात्राको दोश्रो दिन घोटेपाटनबाट बिहान हिँडेको हाम्रो टोलीले भित्तिचिन्नाको खर्कमा खाना खाएको थियो भने त्यहाँबाट हिडेको करिव १ घण्टामा बुढीमाईको मन्दिर भएको विशाल हरियो पाटनमा पुगेपछि सबैले संसार बिर्सिए । त्यो विशाल हरिया फाँटमा पुग्ने वित्तिकै धेरैको मुखबाट अनायसै आवाज आउदो रहेछ वाहा…! त्यो ठाँउमा पुग्ने बित्तिकै धेरै यात्रीहरुले प्रतिकृया दिन सुरु गर्दा रहेछन्….तपाईलाई स्वर्गमा स्वागत छ ….वाहा साच्चिकै स्वर्गमा पुगियो आदी आदी ।

आमनेसामने हिमालहरु

प्राचिनकालदेखि भदौ शुक्ल पूर्णिमाको अधिल्लो दिन अर्थात चतुर्दशीका दिन मेला लाग्ने गरिएको बडिमालिकामा कहिलेदेखि पूजा सुरु भयो भनी एकिन नभए पनि पूजारीको १४औँ पुस्ताका नेत्रराज उपाध्याय हालका पूजारी हुनुले पनि प्राचिनकालदेखि नै बडिमालिकामा पूजा हुने गरेको विश्वास गर्न सकिन्छ । यद्यपि पछिल्लो समय यस क्षेत्रमा पर्यटकिय दृष्टिकोणले घुम्न आउनेहरु बढिरहेको देख्न सकिन्छ ।

तेश्रो दिन त्रिवेणीधाममा स्नान पश्चात सुरु भएको यात्रालाई बाटोले भन्दा पनि त्यहाँको सुन्दरताले अवरोध पुगायो हाम्रो टोलीलाई । जता हेर्यो सुन्दर दृश्य देखिने अनि सुन्दरतालाई क्यामेरामा कैद गर्ने चक्करमा त्रिवेणीदेखि लौरी बिनायकसम्म पुग्न पनि ७ घण्टा लगायो हाम्रो टोलीले ।

हाम्रो टोली

समुन्द्रि सतहबाट ४ हजार २१९ मिटरको उचाईमा रहेको लौरी बिनायक बडिमालिका मन्दिर भन्दा १९ मिटर अग्लो रहेछ । लौरी विनायक बसेर केही क्षण बडिमालिका मन्दिरलाई नियाल्यौ कालो चिया पिउदै । अनि केही साथी भावुक पनि बने अलौकिक बडिमालिका पुग्नै लागेको खुशीमा ।

बडिमालिका पुग्नै लाग्दाको कष्टकर बाटोले एक छिन फेरी रमाईरहेका यात्रीहरु लाई गम्भिर बनाईदियो । निकै कहालीलाग्दो भिर, साघुँरो बाटो, पानि नपाउने उकालो, श्वास फेर्न पनि असहज अनि धेरैलाई लेक लाग्ने डर र हिजो मात्र लेक लागेर त्रिवेणीधाम नजिक एक जना युवकले ज्यान गुमाएको अपुष्ट समाचारले हामीहरुको खुट्टा पनि लगलग कमायो ।

जेनतेन करिव १ बजे तिर बडिमालिका माताको दरबारमा हाम्रो टोलीका ११ जना यात्रीहरु सकुशल पुग्यौँ र आ-आफ्नो ढंगले पूजाआजा गरियो । पूजाआजा पश्चात सामान्य नाश्ता गरेर हाम्रो टोली नाट्यश्वरीतर्फ लाग्यो ।

नमरी स्वर्ग देखिदैन भन्ने उखान बल्ल प्रमाणीत भयो । धेरै जनासंग फर्किने बाटो अर्थात नाट्यश्वरी जाने बाटोको बारेमा सोधिखोजी गर्दा बाटो राम्रो नै भएको जवाफ दिएका थिए तर ठिक उल्टो शरीर नै सिरिंग पार्ने भिरको बाटो रहेछ । विभिन्न भिडियो हरुमा यो भिर लाई ड्रोन बाट खिचेर डर लाग्दो रुपमा प्रस्तुत गरिएको हेरेका थियौँ तर बास्तवीकतामा अझै कैयौँ गुणा डर लाग्दो भिर रहेछ । त्यो कहाली लाग्दो भिर छिचोलेर कसरी चियागडा भनेर चिनिने ठुलागडा पुगियो थाहा नै भएन बरु सपनामा पनि आइरह्यो ती राक्षस जस्ता भिरहरु ।

भोलि अर्थात जनै पूर्णिमाको दिन हाम्रो बडिमालिका यात्रा समापन हुने दिन बास बसेको ठुलागडाबाट हाम्रो हिडाईले करिव ४ घण्टा हिँडेपछि नाट्यश्वरी मन्दिर भेटिनेछ र जनै फेर्ने र रक्षा बान्ने काम गरेपछि हाम्रो यात्रा समापन हुनेछ । हामीसंग नेपालका धेरै पर्यटकिय गन्तव्यहरुमा ट्रेकिङ गरिसकेका साथिहरु छौं र केही छिन समिक्षात्मक गफ गरिरहेका छौं यो यात्राको बारेमा ।

प्राकृतिक सुन्दरताले स्वर्गको टुक्राभन्दा कुनै कमी छैन वडिमालिका क्षेत्र तर संरचना, सुविधा, व्यवस्थापन र व्यवहारले निकै कष्टकर छ बडिमालिकाको यात्रा । पर्यटनमा सबैभन्दा मुख्य कुरो आतिथ्यता हो जस्तो लाग्छ तर यो यात्रमा त्यो करिब धेरै नै कमी रहेको महशुस गरियो ।

सोतापाटनसम्म पुगेको सडक लाई स्तरोन्नती तथा सोता पाटन, घोडेपाटन र भित्तिचिन्नामा केही व्यवस्थित अतिथि गृहहरु बनाउने सके र विभिन्न स्थानहरुमा शौचालय बनाउन सके बडिमालिका पदयात्रा निकै सहज र यादगार हुने थियो ।

जय बडिमालिका

You might also like
Leave A Reply

Your email address will not be published.