दिजगंगा मेमोरियल क्रिकेट सम्पन्न : परशुरामले चुम्यो उपाधि

समापन कार्यक्रम

२ कार्तिक
डडेल्धुरामा आज सम्पन्न प्रथम दिजगंगा मेमोरियल टि २० जिल्ला स्तरीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि परशुराम नगरपालिकाले जितेको छ । आज सम्पन्न भएको फाईनल खेलमा आलिताल गाँउपालिका लाई पराजित गर्दे परशुराम नगरपालिकाले उपाधि चुमेको हो ।

टस जितेर पहिले व्याटिंगमा उत्रेको आलिताल गाउपालिकाले २० ओभर खेलेर ९ विकेट गुमाई जम्मा १२२ रन बनाएको थियो । प्रत्युत्तरमा १२३ रनको लक्ष पछयाउदै परशुराम नगरपालिका ले १८ओभर खेलेर ३ विकेट गुमाउदै उपाधि हात पारेको हो ।

आज सम्पन्न फाईनल खेलमा परशुराम नगरपालिकाका कृष्ण बिष्ट म्यान अफ द म्याच घोषित भएका थिए । प्रतियोगिता भरि उत्कृष्ट बलिंग गरेका आलिताल गाउपालिकाका निरज ऐरले बेस्ट बलरको उपाधि पाए भने आलिताल कै सचिन साँउद उत्कृष्ठ व्याट्सम्यान घोषित भए उनिहरु दुबै जनाले जनही रु२५००। नगद सहित ट्रफि प्राप्त गरे ।

प्रतियोगिताको खेलहरुमा अलराउण्डर प्रस्तुती गरेका परशुराम नगरपालिकाका अर्जुन वि.क.ले प्लेयर अफ द टुर्नामेन्ट को उपाधि पाए , उनलाई नगद रु ५०००। का साथै ट्रफि प्रदान गरियो ।

उपविजेता आलिताल गाँउपालिका सामुहिक तस्विर खिचाउदै

डडेल्धुरा जिल्ला क्रिकेट संघका अध्यक्ष हरि प्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रममा डडेल्धुरा उद्योग बाणिज्य संघका का.वा. अध्यक्ष दिपक बहादुर महता प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर बहादुर साँउद, भायानेट कम्युनिकेशनका शाखा प्रवन्धक सजन सिँह ठकुरी, रुपाली ट्रेडर्सका प्रबन्धक दिपक रुपाली, शिक्षक मोहन सिँह भण्डारी लगायत अतिथिहरुको उपस्थिती रहेको थियो ।

असोज २९ गते देखी कार्तिक २ गते सम्म संञ्चालन भएको प्रतियोगिताको उपाधि विजेता परशुराम नगरपालिका ले ट्रफि, प्रमाणपत्र तथा नगद रु ५११५१ । तथा उपविजेता आलिताल गाँउपालिका लाई ट्रफि प्रमाणपत्र तथा नगद रु २५५५१ । प्रदान गरिएको थियो । साथै प्रतियोगितामा सहभागी सबै पालिका लाई प्रमाणपत्र तथा प्रतियोगिता सम्पन्न सहयोग गर्ने व्यक्ति तथा निकायहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

साथै उक्त प्रतियोगितका सहभागीहरु मध्ये बाट खेलको प्रदर्शनीको आधारमा प्राविधिक समितिले निर्मल रोक्काको कप्तानीमा १४ सदश्यीय जिल्ला स्तरीय टोलीको छनौट गररेको छ । उक्त टोलीको प्रशिक्षकमा निरज रावल लाई छनौट गरेको छ भने डडेल्धुरा जिल्ला क्रिकेट संघका सदश्य विष्णु राज ओझालाई व्यवस्थापकको रुपमा छनौट गरेको छ ।

डडेल्धुराको क्रिकेट टिमले भोली धनगढीको फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा बझांग संग प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता खेल्नेछ ।

You might also like
Leave A Reply

Your email address will not be published.