३१ असोज
डडेल्धुरामा जारी दिजगंगा मेमोरियल जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा आलिताल, भागेश्वर र परशुराम सेमिफाइनलमा प्रवेश गरेका छन्। आज भएका खेलमा जित निकाल्दै तीन वटै टिमले अन्तिम चारमा स्थान सुरक्षित बनाएका हुन्।
आलितालले लिग चरणका तीन वटै खेल जितेको हो भने परशुराम र भागेश्वरले २र२ खेल जितेका हुन्। आज भएको पहिलो खेलमा आलिताल गाउँपालिकाले अमरगढी नगरपालिकालाई ८ रनले पराजित गरेको छ। टस जितेर व्याटिङ गरेको आलिताल गाउँपालिकाले १५ ओभरमा ९ विकेट गुमाउँदै ११५ रन बनायो। जवाफी व्याटिङ थालेको अमरगढी नगरपालिका १४ दशमलव ४ ओभरमा १०७ रनमा समेटियो।
आजै भएको दोस्रो खेलमा परशुराम नगरपालिकाले नवदुर्गा गाउँपालिकालाई ८० रनले पराजित गरेको छ। टस जितेर व्याटिङ गरेको परशुरामले निर्धारित १५ ओभरमा ४ विकट गुमाएर १४० रन बनायो। जवाफी व्याटिङ थालेको नवदुर्गा १४ दशमलव ३ ओभरमा ६० रनमा समेटियो।
आजै भएको तेस्रो खेलमा भागेश्वर गाउँपालिकाले गन्यापधुरा गाउँपालिकालाई १५६ रनले पराजित गरेको छ। टस जितेर व्याटिङ गरेको भागेश्वरले १५ ओभरमा ४ विकेट गुमाएर २०५ रन बनायो। गन्यापधुरा गाउँपालिका १० दशमलव ३ ओभरमा ४९ रनमा समेटियो। भोलि लिगको अन्तिम खेल अजयमेरु गाउँपालिका र नवदुर्गा गाउँपालिकाबीच हुने छ। भोलिको खेलबाट सेमिफाइनल पुग्ने चौथो टिमको टुंगो लाग्ने छ।
प्रतियोगिता अमरगढी नगरपालिका–३ रामलिला खेल मैदानमा सञ्चालन भइरहेको छ। डडेल्धुरा जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगितामा जिल्लाका सातवटै स्थानीय तहका टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेता टिमले ट्रफीसहित नगद ५१ हजार र उपविजेता टिमले नगद २५ हजार ५ सय ५१ रुयैयाँका साथै ट्रफी पाउने आयोजकले जनाएको छ।