कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका स्थानीयले त्यहाँका दुर्गम क्षेत्रका वडामा प्रहरीचौकी स्थापना गर्न माग गरेका छन् । वडा नम्बर ६, ७ र ८ लाई समेट्ने गरी प्रहरीचौकी स्थापना गर्न स्थानीयले माग गरेका हुन् ।
वडा नम्बर ७ का सदस्य केशव ठगुन्नाले चार बढी घरमा एकै पटक चोरी भएको बताउँदै प्रहरी पोष्टको स्थापना भए बढ्दै गएका चोरी एवं आपराधिक घटना रोकिन सक्ने बताए । उनले पायक पर्ने ठाउँमा प्रहरीचौकी स्थापना हुनुपर्ने बताए । शुक्लाफाँटा–१२ का वडाध्यक्ष नवलसिंह रानाले वडा नम्बर १ मा स्थापना गरिएको प्रहरीको अस्थायी पोष्टलाई स्थानान्तरण गरी वडा नम्बर १ र १२ को बिचमा पर्नेगरी राख्नुपर्ने सुझाव दिए ।
स्थानीयको मागलाई मध्यनजर गर्दै वडा नम्बर ७ र ८ का बिचमा प्रहरीचौकी राख्नेबारे नगरकार्यपालिकाबाट निर्णय गरी जिल्ला सुरक्षा समितिमा पठाइएको नगरप्रमुख रणबहादुर महराले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले प्रहरीचौकी राख्नेबारे जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरेर गृह मन्त्रालयमा पठाइएको बताए । उनले वडा नम्बर १ र १२ मा प्रहरी पोष्टलाई स्थानान्तरण गरेर राख्नुपर्नेबारे बुझेर कार्य अगाडि बढाइने बताए ।