धनगढी पुगेर गृहमन्त्री अर्यालले भने– तोकिएकै मितिमा निर्वाचन हुन्छ

कैलाली — गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचन तोकिएको मितिमै, पूर्ण रूपमा निष्पक्ष र भयरहित वातावरणमा हुने दाबी गरेका छन्।
मंगलवार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्रीले फागुन २१ गते नै निर्वाचन सम्पन्न हुनेमा सरकार दृढ रहेको स्पष्ट गरे।

उनका अनुसार नागरिकलाई सुरक्षा प्रदान गर्नु, सुशासन कायम गर्नु र समयमै निर्वाचन गराउनु सरकारको प्रमुख जिम्मेवारी हो।
गृहमन्त्री अर्यालले भने, “सरकारको म्यान्डेट नै निर्वाचन गर्नु हो। शान्ति–सुरक्षा कायम गर्दै सबैले निश्चिन्त माहोलमा मतदान गर्न पाउने वातावरण सरकार बनाउँछ। चुनाव तोकिएकै समयमा हुनेछ।”

उनले निर्वाचन तयारीलाई सुदृढ बनाउन सरकारका सबै संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको बताए। राजनीतिक दलहरूले निर्वाध रूपमा चुनावी गतिविधि गर्न पाउनु पर्नेमा उनले जोड दिए।
“यो सरकार सबैको साझा सरकार हो। कसैलाई विभेद हुँदैन। कुनै दलको गतिविधिमा अवरोध आउन दिन्नौँ,” गृहमन्त्रीले स्पष्ट गरे।

उनका अनुसार प्रदेश सरकारदेखि स्थानीय तहसम्म सबै संरचना चुनावी वातावरण निर्माणमा सक्रिय छन्। सुरक्षा अवस्थाको निरन्तर विश्लेषण भइरहेका कारण आवश्यक कदम चाल्न सरकार पूर्ण रूपमा तयार रहेको उनले दोहो¥याए।

You might also like