डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिका–१ ढुन्ढुने बजारबाट उद्धार गरिएको चितुवालाई कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पठाइएको छ । डिभिजन वन कार्यालय डडेल्धुराले नियन्त्रणमा राखेको उक्त चितुवालाई प्राथमिक उपचार गरेर कञ्चनपुर पठाएको हो ।
वन कार्यालयका सूचना अधिकारी रणेन्द्र सिंहका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोष कञ्चनपुर र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराको उद्दार टोलीले चितुवाको प्राथमिक उपचार गरेको थियो । त्यसपछि डार्ट गरेर चितुवालाई उपचार तथा व्यवस्थापनका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष कञ्चनपुरमा कार्यरत कर्मचारी र कार्यालयका फरेष्टर ओमबहादुर साउँदमार्फत पठाइएको उनले बताए ।
हिजो(मंगलबार) अपरान्ह २ बजेको आसपास ढुन्ढुने बजारमा उक्त चितुवा देखिएको थियो । स्थानीयको सूचनापछि डिभिजन वन कार्यालय डडेल्धुराले स्थानीय र प्रहरीको सहयोगमा चितुवाको उद्वार गरिएको थियो । चितुवा सुस्त अवस्थामा रहेको पाइएको थियो ।