४ श्रावण २०७९, डडेल्धुरा
आज विहान देखि सुदुरपश्चिममा परेको अविरल वर्षा पछि आएको बाढीपहिरो ले सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका चार ठाउँमा मुख्य राजमार्ग अवरुद्ध भएको छ ।
दार्चुला, बैतडी र बझाङमा पहिरोले मुख्य राजमार्ग अवरुद्ध भएपछि यातायात सेवा ठप्प भएको नेपाल प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिकाको नङतडी, बैतडीको पाटन नगरपालिकाको थुम, सुर्नया गाउँपालिका–१ को भन्ज्याङ भन्ने ठाउँमा राजमार्गमा माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
बझाङको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा सेती नदीले कटान गरेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
दार्चुला र बैतडीका तीन ठाउँमा स्थानीय र प्रहरीले संयुक्त रुपमा पहिरो पछ्याएर सडक खुलाउने प्रयास जारी भएपनि बझाङको जालेबगरमा भने सेती नदीको बहाव बढेकाले त्यहाँ जान सकिने अवस्था नरहेको प्रहरीको भनाइ छ ।