काठमाडौं, २८ असार
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र KOICA (Korea International
cooperation Agency) नेपालका पदाधिकारीहरूबीच नेपाल प्रहरीको साइबर व्यूरोको
क्षमता अभिवृद्धिका लागि साइबर व्यूरो प्रोजेक्ट सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम
नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले वित्तिय अपराध, साइवर बुलिङ लगायतका
साइबर अपराधहरु दिन प्रति दिन बढ्दै गएको अवस्थामा यस्ता कार्यक्रमले नेपाल प्रहरीको
संस्थागत विकासका साथै साइबर अपराध नियन्त्रणका लागि थप टेवा पुग्ने बताउनुभयो । साथै
उहाँले नेपाल प्रहरी यस प्रकारका अपराध नियन्त्रण तथा अनुसन्धानका लागि अति संवेदनशील
र गम्भीर रहेको उल्लेख गर्नुभयो ।
प्रहरी महानिरीक्षक सिंहले साइबर अपराधविरुद्ध एक्लै लड्न नसकिने उल्लेख गर्दै
KOICA को साइबर व्यूरो प्रोजेक्टसँग आपसी समन्वय र सहयोग आदान प्रदान गरी अगाडि
बढ्न नेपाल प्रहरी तत्पर रहेको बताउनुभयो । साथै उहाँले परियोजनाहरूले आगामी
दशकहरूमा साइबर अपराध अनुसन्धानको लागि बलियो आधार निर्माण गर्ने विश्वास समेत
व्यक्त गर्नुभयो ।
सो अवसरमा KOICA नेपालका डेपुटी कन्ट्री डाइरेक्टर Jong-Sung Choi ले साइबर
अपराध नियन्त्रण नेपालको लागि ठूलो चुनौतीको विषय रहेको उल्लेख गर्दै परियोजना
अन्तर्गत आपसी समन्वय गरी काम गर्न आफूहरू तयार रहेको चर्चा गर्नुभयो । साथै उहाँले
नेपालमा पनि साइबरको माध्यमबाट वित्तिय अपराध, यौन उत्पीडन र हिंसालगायतका
अपराध हुने गरेको पाइएकोले यस्ता अपराध न्यूनीकरणका लागि परियोजनाले जगको रूपमा
काम गर्न नेपाल प्रहरीसँग सहकार्य गर्ने बताउनुभयो ।