३० महिना सम्म तलव पाएनन क्याम्पसका कर्मचारीले ।

जेठ २४, २०७९ मंगलबार ; 

बैतडी –बैतडीको मेलौली नगरपालिकास्थित मणिलेक बहुमुखी क्याम्पसमा अध्यापनरत केही प्राध्यापकहरुले गएको ३० महिना यता पारश्रमिक पाउन सकेका छैनन् । मणिलेक बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्व विद्यालयको आंगिक क्याम्पस भएपछि समायोजनमा नपरेका प्राध्यापकहरुले तलब पाउन नसकेका हुन् ।

विश्व विद्यालयले क्याम्पसलाई आंगिक बनाउँदा आफूहरुका समस्या समाधान नगरेको मणिलेक बहुमुखी क्याम्पसका उपप्राध्यापक भीमसिंह धामीले बताए । २०७७ सालको पौषमा कार्यविधि बनाएर आफूहरुलाई समायोजन गर्ने भनेपनि अहिले सम्म विश्वविद्यालयले कुनै पहल नगरेको उनले बताए । 

क्याम्पसको आन्तरिक श्रोतबाट तलब खाने गरेर काम गर्न भनिएपनि क्याम्पससंग श्रोत नहुँदा आफूहरुले तलब पाउन नसकेको अर्का उपप्राध्यापक केशवदत्त पाण्डेयले बताए । ३० महिना सम्म तलब नपाउँदा आफूहरुलाई घर व्यवहार नै चलाउन मुस्किल भएको उनले बताए । 

सुदूरपश्चिम विश्वविद्यालयका पछिल्लो समयमा आंगिक बनेका १४ क्याम्पसमा पढाउने केही प्राध्यापकहरुले तलब पाउन सकेका छैनन् । आन्तरिक श्रोत भएका क्याम्पसहरुले तलब खुवाएपनि मणिलेक बहुमुखी क्याम्पसका ५ जना प्राध्यापकहरुले तलब पाउन सकेका छैनन् । 

आफूहरुका समस्याका बिषयमा सबैलाई जानकारी गराईसकिएको भएपनि कतैबाट सम्बोधन नभएको उपप्राध्यापक धामीले बताए । उनले भने ‘अब घरपरिवार चलाउनै मुस्किल भएको छ । तलब नपाएको तीन बर्ष हुन थालेको छ । यसले गर्दा निकै समस्या भएको छ ।’

You might also like
Leave A Reply

Your email address will not be published.