खगराज भट्टको अगामी राजनीतिक यात्रा

राम धामी
हाल पार्टीको अन्यायमा परेको महसुष गरिरहेका माओवादी केन्द्र सुदूरपश्चिमका शिर्ष नेता खगराज भट्टसँग ब्यक्तिगत सम्बन्ध जोडिएको झण्डै तीन दशक भयो । सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरमा कानूनका विद्यार्थी खगराजसँग सोहि क्याम्पसमा व्यवस्थापन संकायको विद्यार्थीका हैसियतले परिचय जोडिन पुगेको हो । क्याम्पसको छात्राबासमा बस्दा अखिल क्रान्तीकारीका नेता खगराजसँग निकट सम्बन्ध गासिन पुग्यो ।
माओवादी अभियोगमा क्याम्पस हाताभित्रै पसेर प्रहरीले पक्राउ गरेपछि विद्यार्थी माझ खगराजको लोकप्रियता बढेको थियो । सिद्धनाथ बहुमुखी क्याम्पस विद्यार्थी राजनीतिका लागि चर्चित थियो । सोही क्याम्पसबाट राजनीति आरम्भ गरेका वा विद्यार्थी राजनीतिमा सफल भएका थुप्रै विद्यार्थी नेताहरु हाल सुदूरपश्चिमको राजनीति हाँकी रहेका छन ।
आर्थिक रुपमा मध्यम बर्गीय परिवारका सदस्य खगराजले विद्यार्थी राजनीति गर्दा महेन्द्रनगरमा भोगेका थुपै्र कठिनाईहरु नजिकबाट नियाल्ने अवशर पाएको छु । एकसरो लुगा त्यो धोएर सुक्दासम्म छात्राबासको धारा नजिक बसेर राजनीतिक परिवर्तन बारेमा गरेका छलफलमा सहभागी भएको छु ।
विद्यार्थी राजनीतिसँगै तत्कालिन माओवादीले शुरु गरेको सशस्त्र युद्धमा सहभागी खगराजले कञ्चनपुरको बेलौरी क्षेत्र र तत्पश्चात डडेल्धुराको भित्रिमधेस क्षेत्रमा संगठन विस्तार गर्न निर्वाह गरेको नेतृत्वदायी भूमिकाको जानकारी छ । सुदूरपश्चिममा माओवादीको संगठन विस्तारमा लेखराज भट्ट, तारामान स्वार, जयराज भट्ट, पुष्कर शर्मासँगै खगराजको महत्वपुर्ण योगदान छ ।
खगराजको नेतृत्वमा होनहार विद्यार्थी र युवाहरु सशस्त्र युद्धमा नहोमिएको भए सुदूरपश्चिममा माओवादी जनयुद्धले छोटो समयमै तिव्रता पाउदैनथ्यो । इमान्दारिता, सदाचारिता, जिम्मेवारीबोध, असल आचरण र सादा जीवन खगराजमा मैले पाएका सदगुण हुन । यिनै मानवीय गुणहरु नैतिकताका आधार हुन । तर समसामयिक राजनीतिमा नैतिकताको यति स्खलन भएको छ कि नैतिकताका सबै आधार ध्वस्त छन ।
नैतिकता मुखले बोल्ने र कानले सुन्नेभन्दा बढी व्यवहारमा आँखाले देख्ने विषय हो । अझ देख्नेभन्दा पनि बढी नागरिकले अनुभूत गर्ने विषय हो । तर के नागरिकले हाम्रो राजनीतिमा नैतिकताको अनुभूत गरेका छन ? अवश्य छैनन् । राजनीतिमा जुन बिन्दुबाट इमान्दारिताको अन्त्य हुन्छ, त्यही बिन्दुबाट नैतिकताको ओरालो यात्रा आरम्भ हुन्छ । नैतिकता ओरालो लागेपछि व्यक्तिको राजनीति सधैंका लागि समाप्त हुन्छ ।
भारतीय उपन्यासकारहरुका जासुसी उपन्यास पढेर हुर्किएको हाम्रो पुस्ताले त्यसबेलाका चर्चित दार्शनिक ओशो रजनिशका किताबहरु सहजै अध्ययनका लागि प्राप्त गर्दथ्यो । खगराजका लामा भाषणहरु सुन्दा ओशो दर्शनको प्रतक्ष्य प्रभाव उनमा पाउथ्यो हामीहरु । अझै पनि खगराजको जीवन दर्शन आचार्य रजनिशबाट प्रभावित भएको महसुष भइरहन्छ ।
माक्र्सवादी दर्शनलाई जीवन दर्शनका रुपमा अवलम्वन गर्न खोज्ने खगराजले आध्यात्म दर्शनमा रुझान भए पनि अवलम्वन गर्लान जस्तो लाग्दैन । मानवजीवनको कुनै निश्चित अर्थ वा परिभाषा छैन । त्यसैले जीवनलाई जस्तो बनाउन चाह्यो, उस्तै हुन्छ भनिएको हो । आध्यात्म दर्शनकाअनुसार शरीरभन्दा मन हजार गुणा बलियो हुन्छ । मनभन्दा भाव र भावभन्दा चेतना कैयौँ गुना बढी बलियो हुन्छ ।
चेतनाले राम्रो–नराम्रो सबै थाहा पाउँछ । गर्ने–गराउने सबै मनले मात्र गर्छ, चेतनाले गर्दैन । नराम्रो कुरा आफँै आउँछ, राम्रो ल्याउन प्रयत्न गर्नुपर्छ । खगराजले माओवादी आन्दोलनका लागि राम्रै गर्न खोजेका हुन । बलिदानी संघर्षले भरिएको उनको राजनीतिक जीवनले बिभिन्नखाले चुनौतीसँग पैठेजोरी खेलेर अहिलेको सफलता हासिल गरेको हो ।
सशस्त्र द्वन्द्वकालमा खगराजसँग आक्कलझुक्कल भेटघाट हुन्थ्यो । युद्धमा होमिएका बेला रमेश उपनामले चिनिने खगराजपछि बिनोदको नामबाट पार्टी नेतृत्वमा थिए । खगराज माओवादी युद्धका बेला कहिल्यै निर्मम र कहिले निकै भावुक बन्ने गरेको सहकर्मी माओवादी नेताहरु बताउँथे ।
२०६४ सालको पहिलो संबिधानसभा निर्वाचनका बेला झिनो मतले पराजित खगराजले मत परिणाम सार्वजनिक भएपछि अलिक संयमता गुमाएको अनुभुती हुन्छ । पछि दोस्रो संविधानसभा निर्वाचन २०७० का बेला पनि खगराजमा युद्धकालिन धङधङीको अवशेष बाँकीनै थियो । एकातिर पार्टीका शिर्ष नेता लेखराज भट्टको प्रतक्ष्य पेलान, पार्टीभित्रै असहयोग र अर्कोतिर इमान्दारिताको राजनीतिक पथमा हिडन खोज्दा कार्यकर्तास्तरबाट थुप्रै अपेक्षाकाबीच उनले राजनीतिलाई निरन्तरता दिइरहे ।
युद्धकालिन अवस्थादेखिनै डा. बाबुराम भट्टराई पक्षधर मानिने नेता खगराजले बाबुरामले पार्टी छोडेपछि पार्टी पंक्तिभित्र अझ बढि प्रताडित हुनुप¥यो । काँग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिष्प्रर्धा गर्नुपर्दा २०६४ को तुलनामा २०७० र २०७४ सम्म आईपुग्दा मतान्तर बढ्न थाल्यो । तीनपटक आफैले प्रतिष्प्रर्धा गरेका देउवासँग गठबन्धन गरेर २०७८ सालको निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित खगराजलाई मुख्यमन्त्रीका रुपमा अघि सारिएको थियो ।
सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित भएसँगै माओवादी संसदीय दलको नेता बनेका खगराजले पार्टीमा प्रदेश इन्चार्जको जिम्मेवारी निर्वाह गरिरहे । एमालेसँग गठबन्धन गरेर राजेन्द्रसिँह रावल नेतृत्वको छोटो अवधीको सरकारमा विना विभागीय मन्त्री बनेका खगराजले पार्टी केन्द्रको निर्णयअनुसार एमालेसँगको गठबन्धन तोडनुपर्ने बाध्यता भएपछि काँग्रेस नेतृत्वको सरकारमा सहभागी हुँदा मन्त्री पदमा भने आशक्ती देखाएनन् ।
मुख्यमन्त्री कमलबहादुर शाहीलाई सघाउने र पछिल्लो अढाई बर्ष मुख्यमन्त्री बन्ने योजनामा रहेका बेला गत माघ १२ गते एकाएक संसदीय दलको नेताबाट हटाइयो । ११ जना सदस्य रहेको माओवादीको सुदुरपश्चिम प्रदेश संसदीय दलले बहुमतबाट खगराजलाई हटाउने निर्णय भयो ।
बहुमत सदस्यहरूले यसअघि प्रमुख सचेतक रहेका मानबहादुर धामीलाई संसदीय दलको नेता चयन गरेको निर्णयलाई पार्टीको प्रदेश समितिबाट रोक्ने प्रयास गरेपनि अन्नतः आफै सदस्य रहेको स्थायी समितिले निर्णय अनुमोदन गरेपछि अब खगराजको मुख्यमन्त्री बन्ने सपना लगभग तुहिएको छ ।
पार्टी पंक्तिमा यस घटनाले तिव्र विवाद सिर्जना गरिरहेको देखिए पनि अब खगराजसँग आफैले निर्माण गरेको माओवादी संगठनतिर फर्किनुको विकल्प देखिदैन । उनले सामाजिक सञ्जालमार्फत पार्टी र जनतास्तरसम्म पुगेर न्याय माग्ने आषयको टिप्पणी गरेका छन । खगराजले आत्मादेखिनै यस्तो निर्णय गरेका हुन भने अब उनले जनतामाझ फर्किनै पर्छ ।
विकट बस्तीसम्म पुगेर जसरी युद्धकालमा उनले संगठन निर्माण गर्न पसिना बगाएका थिए, बलिदानी संघर्षको इतिहासबाट ब्याज खान थालेको आरोपबाट मुक्त हुन सक्नुपर्छ । कमसेकम पनि डडेल्धुराबासी र प्रदेश सभा निर्वाचन क्षेत्रका मतदातामाझ पुगेर खगराजले आफुमाथि भएको अन्यायको उजागर गर्ने र सिँगो पार्टी पंक्तिबाट न्याय माग्ने हिम्मत गर्न सक्नुपर्छ ।
यसबेला संयमता गुमाउन पुगेमा खगराजले आफ्नो राजनीतिक लक्ष्य र जीवनको उदेश्य पुरा गर्न सक्ने छैनन् । अधुरो शिक्षा प्रणाली र हरक्षेत्रमा मौलाएको राजनीतीकरणले दिन–प्रतिदिन बढ्दो युवा पलायन र उर्वर भूमि बाझिने क्रमले सिर्जिएको देशको भयावह अवस्था जगजाहेर छ ।
कुनै राजनीतिक दल वा नेतृत्वप्रति दोषारोपण नगरी हरेक राजनीतिकर्मीदेखि हामी सर्वसाधारण नागरिकले आ–आफ्नो भागको जिम्मेवारी स्वयं लिँदै हीनताभाव होइन, जस्ताको तस्तै स्वीकारभावमा आ–आफ्ना ठाउँबाट सक्दो पहलकदमी नलिने हो भने नराम्रो परिस्थिति कायमै रहिरहन्छ ।
विगत र भविष्यमा निरर्थक भौँतारिने मनलाई के गर्दा आफूसँगै समाज देश र मानवजगतको बृहत् हित होला भनी वर्तमानमा आत्मचिन्तन गर्नु खगराजको अहिलेको आवश्यकता हो । जोसँग जे छ, उसले त्यही दिन सक्छ भन्ने भगवान् बुद्धको प्रसिद्ध भनाइ छ । आफूमा जोस, जाँगर, सकारात्मक र सहयोगी भाव भएको व्यक्तिले मात्र त्यो अरूलाई पनि बाँड्न सक्छ ।
खगराजको राजनीति जनहितमा सर्मपित हो भने सत्य नै बृहत् हित हो । सत्यको कुनै रूप, रंग, आकारप्रकार हुँदैन, केवल अनुभव गर्ने कुरा हो । मानवमा रहेका गुण खोज्नु र खोज्नका लागि सत्यता, स्वाध्याय, निरअहंकारिता, क्षमाशीलता, सर्व कल्याण भाव, सेवाभाव, मधुर वाणी, लक्ष्यसँग एकाकार र मुमुक्षाजस्ता दिव्य नवव्रत पालना गर्नु मानवीय धर्म हो ।
आध्यात्मवादी नभए पनि यसबेला खगराजले मानवीय धर्म निर्वाह गर्न चुक्नु हुँदैन । माओवादी केन्द्रमै रहेर लोकप्रियताका आधारमा पार्टी नेतृत्वलाई न्याय दिन बाध्यपार्ने वा विद्रोह गरेर आफ्नो नयाँ राजनीतिक भविष्य खोज्ने केवल दुई विकल्प खगराजसँग छन । अपितु, खगराजलाई जनताको माझमा पुग्नेबाहेक थप सुविधा भने छैन ।
यसबेलामा सुदूरपश्चिम र विशेषगरि डडेल्धुराका थुप्रै माओवादी कार्यकर्ताहरुले खगराजलाई अन्याय भएको भन्दै रोष ब्यक्त गरिरहेका छन भने कतिपयले खुसीयाली मनाएका छन । राजनीतिक जीवनमा नेताहरुलाई विपत्ती पर्नु अस्वभाविक होइन् । पटक पटक अन्याय झेलेका खगराजले जनमुखी बनेर जनशक्तिको आँडमा राजनीतिमा सफलता हासिल गर्ने विकल्प रोज्न सक्नुपर्छ ।
जनयुद्धकालिन इतिहासको ब्याज खाने होइन, अहिलेको जिम्मेवारीलाई कुशलतापुर्वक निर्वाह गरेर जनताको माझबाट आफुलाई थप मजवुद बनाउन खगराजले ढिलाई गर्नु हुँदैन । राजनीतिक षडयन्त्रलाई परास्त गर्दै जनप्रिय नेताका रुपमा आफुलाई स्थापित गर्ने वा उनकै शब्दमा राजनीतिक आत्महत्या तर्फको बाटो रोज्ने फैसला खगराजकै विवेकमा निर्भर छ ।

You might also like