डडेल्धुराको गन्यापधुरामा कोल्ड स्टोरको उद्धाटन

गणेशबहादुर मगर, डडेल्धुरा
डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा निर्माण भएको कोल्ड स्टोरको आज एक औपचारिक कार्यक्रमका विच उद्धाटन गरिएको छ । गन्यापधुराको वडा नम्बर २ स्थित पारीखेतमा निर्माण गरिएको कोल्ड स्टोरको सोमबार एक कार्यक्रमका बीच उद्धाटन गरिएको हो । गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीले कोल्ड स्टोरको उद्धाटन गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष कार्कीले गन्यापधुरा गाउँपालिकामा स्थापना गरिएका दुई वटै कोल्ड स्टोर प्रभावकारी रुपमा सञ्चालन हुनेमा विश्वास व्यक्त गरे । ‘पछिल्लो समय गन्यापधुराका किसान तरकारी खेतीमा सक्रिय भएर लागेका छन्, उनले भने, ‘उनीहरुको सहजताका लागि पालिकाको वडा नं. २ र ५ मा कोल्ड स्टोर बनाएको छ ।
कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष मनोज देउवाले कोल्ड स्टोरको प्रयोगमा ल्याएर फाइदा लिन किसानहरुलाई आग्रह गरे । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप तामाङका अनुसार पालिकाको ४६ लाखको लागतमा कोल्ड स्टोर निर्माण गरिएको हो । कोल्ड स्टोरमा १० टन कृषि उपज भण्डार गर्ने क्षमता छ ।
उद्धाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ज्ञानु सेठी देउवा, सिँचाई डिभिजन कार्यालय डडेल्धुराका प्रमुख रामरथ खरेल लगायतको पनि उपस्थिति रहेको थियो । गन्यापधुरा गाउँपालिकामा दुई वटा कोल्ड स्टोर बने पनि औपचारिक रुपमा उद्घाटन भएर संञ्चालन हुने पहिलो कोल्ड भए पछि स्थानीय किसानहरु खुसी छन् ।
गन्यापधुरा गाउँपालिकाकै वडा नं. ५ मा पनि कोल्ड स्टोर निर्माण सम्पन्न भई संञ्चालन हुने तयारीमा रहेको छ ।

You might also like