डडेल्धुरा–आईतबारदेखि दादुरा–रुबेलाविरुद्धको खोप अभियान देशभर सुरु भएको छ ।
डडेल्धुराका एक सय ८१ वटा खोपकेन्द्र मार्फत वालबालिकाहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । खोप अभियानको अन्तिम दिन हरेक वडाका स्वास्थ्य केन्द्र मार्फत खोप लगाइने स्वास्थ्य कार्यालय डडेल्धुराका खोप फोकल पर्सन हरिप्रसाद भट्टले बताए ।
डडेल्धुरा जिल्लाका ११ हजार आठ सय २३ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने लक्ष्य छ । नवदुर्गा गाउँपालिकामा एक हजार छ सय ५, अमरगढी नगरपालिकामा एक हजार सात सय ४३, अजयमेरु गाउँपालिकामा एक हजार एक सय ७६, भागेश्वर गाउँपालिकामा एक हजार एक सय ३४, परशुराम नगरपालिकामा तीन हजार दुई सय ९, आलिताल गाउँपालिकामा एक हजार छ सय ८१ र गन्यापधुरा गाउँपालिकामा एक हजार एक सय ३३ बालवालिकालाई दादुरा–रुबेला खोप लगाइने स्वास्थ्य कार्यालय डडेल्धुराका निमित्त कार्यालय प्रमुख भवानीसिँह कुँवरले बताए ।
अभियान अमरगढी नगरपालिका वडा नं ४ कार्यालयबाट औपचारिक रुपमा सुरु भएको छ । कार्यक्रममा बोल्दै जिल्ला खोप समन्वय समिति डडेल्धुराका संयोजकसमेत रहेका जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले खोप अभियानलाई सार्थकता दिन स्वास्थ्यकर्मीले विशेष रुपमा खटनपटन गर्नुपर्ने बताए ।
सुदूरपश्चिम प्रदेशमा पाँच लाख २३ हजार आठ सय ३९ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ । कैलाली र कञ्चनपुरमा नौ महिनादेखि १५ वर्षमुनिका र सात पहाडी जिल्लामा नौ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने योजना छ । कैलालीमा दुई लाख ४० हजार सात सय ५, कञ्चनपुरमा एक लाख ६५ हजार पाँच सय ३२, डोटीमा १ हजार दुई सय ९५ र बैतडीमा २१ हजार तीन सय २४ जना बालबालिकालाई खोप लगाइने छ ।
यसैगरि दार्चुलामा १० हजार चार सय १०, बझाङमा १८ हजार तीन सय ७६, बाजुरामा १३ हजार नौ सय ४२ र अछाममा २३ हजार तीन सय ७९ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाउने लक्ष्य रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । प्रदेशभरि खोप अभियानमा छ हजार सात सय ६४ स्वास्थ्यकर्मी परिचालन, आठ हजार तीन सय ४० जना स्वयंसेवक खटिने तथा तीन हजार तीन सय ८२ वटा खोप सेसन रहने स्वास्थ्य निर्देशनायका निर्देशक डा जगदीश जोशीले बताए ।
खोप अभियानमा दादुरा–रुबेला खोपको बाहेक नियमित खोप लगाउन छुटेका बालबालिकाको पहिचान गरी नियमित खोप पनि लगाइने उनले बताए । हाल यस प्रदेशमा एक सय १५ दादुराका बिरामी रहेको निर्देशनालयले जनाएको छ ।
राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितका अनुसार दादुरा–रुबेला खोप अभियानको कार्यक्रम फागुन १३ देखि चैत ७ गतेसम्म सन्चालन हुनेछ । दादुरा–रुबेला खोप अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई यो खोप लगाइने छ । तराई मधेशका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइने छ । रुकुमपश्चिम र जाजरकोटमा भने यो खोप अभियान सम्पन्न भइसकेको छ ।
यसअघि सन् २०१८ मा दादुरा रोग नियन्त्रणमा आएको बताइए पनि सन् २०२३ मा यसले धेरै जिल्लाहरुमा प्रकोपको रुप लिएपछि सरकारले फेरि खोप अभियान चलाएको हो । अब सन् २०२६ भित्र दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्य सरकारले राखेको छ । देशभर ५७ लाख २ हजार नो सय ९३ बालबालिकालाई यसपटक दादुरा र रुबेलाको खोप लगाइने लक्ष्य छ । यो खोप नेपालभरका ४ हजार सात सय ९८ केन्द्रबाट लगाइने छ ।
You might also like