डडेल्धुरामा सुदूरपश्चिम प्रदेश स्तरीय महोत्सव हुने

डडेल्धुरा । डडेल्धुरामा सुदूरपश्चिम प्रदेश स्तरीय महोत्सव २०८० को आयोजना हुने भएको छ। जिल्ला सदरमुकाम स्थित टुंडिखेलमा यहि फागुन २४ गतेदेखि चैत्र ४ गतेसम्म सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन, कला, संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेलाको आयोजना हुने भएको हो । बिहीवार उद्योग वाणिज्य संघ डडेल्धुराले पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव सञ्चालनबारे औपचारिक जानकारी दिएको हो ।

स्थानिय कला,संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको बजारीकरण संगै पर्यटन प्रवद्धन र डडेल्धुराको समग्र विकासको लक्ष्य उद्येश्यका साथ महोत्सव आयोजना हुनलागेको हो ।महोत्सवमा स्थानीय उत्पादनसंगै कृषि उपजको प्रदर्शनी पनि राखिने छ भने रमाइलो मेला पनि हुनेछ । स्थानीयसंगै राष्ट्रिय कलाकारको प्रस्तुती सहित जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता,खुला पुरुष महिला डेउडा प्रतियोगिता समेत हुने उद्योग वाणिज्य संघका उपाध्यक्ष दीपकबहादुर महताले जानकारि दिए।

महोत्सवमा करिब ८० लाख बराबरको खर्च हुने अनुमान गरिएको छ भने महोत्सव आयोजना गर्नका लागि मूल आयोजक समितिसंगै विभिन्न उपसमिति पनि गठन गरिसकिएको उपाध्यक्ष महताले बताए ।

महोत्सवमा टिकट शुल्क एक सय रुपैयाँ तोकिएको छ । विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ भने ७० वर्षमाथिका ज्येष्ठ नागरिक तथा क र ख वर्गका अपाङ्गता भएका नागरिकलाई प्रवेश शुल्क निशुल्क हुने बताइएको छ ।

महोत्सवमा टिकटबाट संकलन भएको रकमको ५ प्रतिशत डडेल्धुरामा क्रिकेट मैदान निर्माणका लागि सहयोग गरिने आयोजक डडेल्धुरा उद्योग वाणिज्य संघले जनाएको छ।

You might also like