सर्वाधिक पुरुस्कार भएको भलिबल प्रतियोगिताको तयारी पूरा

पदम जोरा,डडेल्धुरा
डडेल्धुराको परशुराम नगरपालिका–४ कटालमा भोली माघ २२ गते देखि सुरु हुने सर्वाधिक धनराशिको पुरुष र महिला खुला भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ।
भागेश्वर माध्यमिक विद्यालय कटालको ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजना हुने विद्यालय व्यवस्थापन समिति अध्यक्षकप महलिा पुरुष भलिवल प्रतियोगिताको तयारी पूरा भएको हाछ । माघ २२ देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरसिंह माल ‘डायमण्ड’ ले जानकारी दिए।

उनका अनुसार प्रतियोगिताको उदघाटन प्रमुख अतिथिका रुपमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले गर्नु हुने छ भने विशिष्ट अथितिमा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री गीतादेवी माल, परशुराम नगरपालिकाका नगर–प्रमुख भरत बडायर जोशी, उप–प्रमुख विमलाकुमारी बोहरा महता, आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की र उपाध्यक्ष मैनाकुमारी रावल बोहरा रहनु हुने तालिका विद्यालयले सार्वजनिक गरेको छ ।
यसका साथै कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरिने आयोजकले जनाएको छ । कार्यक्रममा लोक डेउडा गायक रमेश मल्ल, डेउडा तथा हास्य कलाकार जेआर भट्ट र मोडेल डान्सर अनुष्का भण्डारी सहितका प्रस्तुति रहने विद्यालयका प्रधानाध्यापक जनकराज अवस्थीले जानकारी दिए ।

पुरुष खुल्ला भलिबल प्रतियोगिताको विजेताले एक लाख ५१ हजार एक सय ११ रुयैयाँ प्राप्त गर्नेछ। उप–विजेताले एक लाख एक हजार एक सय ११ र तेस्रो हुने टिमले ५० हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । यसका साथै ट्रफी, मेडल र प्रमाण–पत्रसमेत प्रदान गरिने भएको छ ।
खुला महिला भलिबलतर्फ प्रथम हुने टिमले ७५ हजार एक सय ११, द्वितीयले ५१ हजार एक सय ११ र तृतीय हुने टिमले २५ हजार एक सय ११ रुयैयाँ प्राप्त गर्ने अध्यक्ष मालले जानकारी दिए। यो जिल्लाकै सर्वाधिक धनराशिको भलिबल प्रतियोगिता हो । यसअघि जिल्लाका कुनै पनि विद्यालयले एक लाख ५१ हजार वा सोभन्दा बढी पुरस्कार धनराशि भलिबल गरेका छैनन्। विभिन्न विधामा उत्कृष्टलाई पनि पुरस्कार दिइने आयोजकले जनाएको छ।

You might also like