लामो खडेरीका बावजुत नमुना बन्दै बत्थडाको तरकारी खेती

गणेश बहादुर मगर, डडेल्धुरा
यस वर्ष पुष महिनाको मध्य सम्म आई पुग्दा पनि हिउँदे वर्षा नहुदाँ डडेल्धुराका अधिकांश किसानहरू चिन्तामा डुबिरहेको देखिए पनि आलिताल गाँउपालिका वडा नं.३ बत्थडाका किसानहरूमा भने उत्साह आइरहेको देखिन्छ ।
डडेल्धुराको भित्रिमधेश क्षेत्रमा पर्ने आलिताल गाउँपालिकाको करिव करिव लेकाली बेल्टमा पर्ने वडा नं. ३ को वत्थडा गाँउमा गत वर्षबाट पहिलो पटक व्यवसायिक तरकारी तथा मसला खेती सुरु भएको छ । जम्मा २६ परिवारको बसोबास रहेको बत्थडामा बैजनाथ अगुवा कृषक समुह गठन गरी तरकारी तथा मसला खेतीमा होमिएका छन् ।

विक्रिका लागी तयार भैसकेको मुला


बत्थडाका अधिकांश घरधुरीले यस भन्दा पहिले निर्वाहमुखी खेतीपाती गर्ने गरेको र कसै कसैले मात्र घरायसी प्रयोगका लागी सामान्य साग तरकारी लगाउने गरेको भएपनि पछिल्लो समय तरकारी र अन्य खेतीपातीको लागी हावापानी प्रतिकुल भएका कारण खेतीपाती तर्फ ध्यान दिन छाडेका थिए । तर आजभोली २६ वटै घरधुरीका बारी प्रशस्त तरकारी तथा मसला खेतीले भरिएकोे देख्न सकिन्छ ।
किसानहरुलाई माटो र बाटो सुहाउँदो कृषिमा संलग्न गराई उनिहरुको जिविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले आलिताल गाउँपालिकाले मसलावाली पकेट क्षेत्र कार्यक्रम अन्तर्गत बैजनाथ अगुवा कृषक समुहलाई गत वर्ष १० लाख सहयोग गरेको थियो । बत्थडाका किसानहरूका अनुसार पालिकाको कृषि प्राविधिकहरू आएर गाँउमै व्यवसायिक कृषि सम्बन्धी तालिम पनि दिइएको थियो ।

पानि संकलन गर्ने पोखरी


गाँउपालिकाबाट प्राप्त अनुदानबाट समुहले २६ वटै घरको आँगनमा स–साना पानी संकलन गर्ने
ट्याङ्कीहरू निर्माण गरेका छन् । हात मुख धोएको, भाडा धोएको, कपडा धोएको र घरायसी कामबाट खेर गएको पानी उक्त ससाना ट्याङ्कीहरू मा जम्माहुने गर्दछ र उक्त पानीलाई किसानहरुले बारीमा प्रयोग गर्ने गर्दछन् । घरायसी काम बाट खेर गईरहेको पानि लाई जतन साथ प्रयोग गर्न स्प्रिंकलको प्रयोग गरीएको छ जसले थोरै पानिको पनि उच्चतम प्रयोग गरेको देख्न सकिन्छ । खेतीपातीका लागी पानी नंै छैन भन्नेहरुका लागी यो गतिलो उदाहरण हुन सक्छ ।
गतवर्षबाट मात्र सुरु भएको तरकारी तथा मसला खेतीबाट युवाहरू विशेष गरी उत्साहित भएका छन् । रोजगारका लागी भारत तर्फ जाने सबै युवाहरूलाई गाँउमै रोक्न सकिएला या नसकिएला तर केही युवाहरूको सोचमा भने निकै परिवर्तन आएको देख्न सकिन्छ । बत्थलाका २७वर्षीय पूर्णबहादुर बोहरा यस पटक सफल भए भने भारत तिर नजाने यतै बसेर आफ्नो मालिक आफै बन्ने सपना बुनिरहेका छन् ।

यस पटक सफल भए भने सायद रोजगारका लागी भारत तर्फ जादैन होला


बत्थडा गाँउ बाख्रापालनको लागी निकै उपयुक्त ठाँउ हो, त्यसैले यहाँका प्रायः सबै घरमा बाख्रा पालन गरिएको छ र बाख्राको मललाई तरकारी तथा मसला खेतीमा प्रयोग गरिरहेका छन् । तरकारी उत्पादन सुरु भएपछि निकै उत्साहित देखिएका बत्थडाबासीहरु भविष्यमा तरकारी बिक्री नभएपनि आफूहरूले ताजा तरकारी खान पाइरहेकोमा खुसीव्यक्त गर्दै तर तरकारी र मसालाको बजार निकै राम्रो रहेको बताउँछन् ।
वत्थडा गाँउको मेहेनत देखेर खुसीहुँदै यहाँको राम्रो कुरालाई सिको गर्दै अर्को समुदायले पनि यस्तै नमुना काम गर्न चाह्यो भने आफ्नो तर्फबाट तथा आलिताल गाँउपालिका बाट सहयोग हुने आलिताल गाँउपालिका वडा नं. ३ का वडा अध्यक्ष बल बहादुर बुढाले बताईरहेका छन् ।
मसला खेती कार्यक्रम अन्तर्गत पानी संकलन गर्ने ट्याङ्की निर्माणमा सहयोग गर्नुका साथै ५ वटा हाते ट्रयाक्टर पनि सहयोग गरिएको छ भने बत्थडा गाँउमा हाल मसला खेती अन्तर्गत लसुन, अदुवा, बेसार लगाईएको छ भने ताजा तरकारीहरुमा बन्दा, काउली, टमाटर, मुला हरु पनि लगाईएको छ ।
मौसमनले साथ नदिएको अनि खडेरीले मार्कामा पारेको यो सिजनमा आफ्नो बारी हराभरा बनाएका बत्थडाबासीले सबै भन्दा थोरै आम्दानी गर्नेले पनि कम्तिमा४० देखी ४५ हजार सम्म आम्दानी गर्ने अनुमान गरेका छन् ।
स्वतस्फुर्त रुपमा निकै आशावादी बनेर वत्थडा गाँउका भर्खरका युवा देखी ६५ वर्षका वृद्धहरू समेत निकै मेहनतका साथ तरकारी तथा मसला खेतीमा लागीरहेको उक्त गाँउमा स्थलगत अनुगमनमा पुग्नु भएका आलिताल गाउँपालिकाका उपाध्यक्ष मैना कुमारी बोहरा (रावल) ले “सबैले यसरी नै इमान्दारिताका साथ योजनाहरूलाई सही ढंगले कार्यान्वयन गर्न सके आलिताल गाउँपालिका समृद्ध हुन सक्ने” बताउनुभयो ।

बत्थडाबासी जनाताको काम देखेर हामी हरु निकै उत्साहित छौ, मैना कुमारी बोहरा रावल, उपाध्यक्ष, आलिताल गाँउपालिका


नेपालमा एक वर्ष यता औसत वार्षिक वर्षा ८७.५ % अर्थात १६०२ मिलिमिटर मात्र पानी परेको तथ्यांक जल तथा मौषम विज्ञान विभागले देखाईरहेको छ । मंसिर १५ गते देखी फाल्गुन १७ गते सम्मको अवधिलाई हिउँदे अवधि भनिन्छ । हिउँदमा औसत ६०.१ मि.ंमि औसत वर्षा हुन पर्नेमा पुषको मध्य सम्म जम्मा ३.१ % हिउँदे वर्षा भएको तथ्यांकले जनाउँछ । यस्तै अवस्था रहने हो भने आकाशे पानीमा निर्भर किसानहरूले खडेरीका कारण निकै दुखपाउने कुरामाकुनै दुई मत हुन सक्दैन ।अतः कृषि कर्ममा लागेका वा लाग्न चाहने कृषकहरूले पानीको वैकल्पिक उपायको बारेमा बेलैमा सोच्न आवश्यक देखिन्छ ।

You might also like