
गणेश बहादुर मगर,डडेल्धुरा
करिव एक दशकदेखि बाँझै छाडिएको डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका वडा. ५ सेलागाँउका खेतमा यस वर्षदेखि व्यवसायिक तरकारी खेती सुरु गरिएको छ । डडेल्धुरा जिल्ला सदरमुकाम सँगै जोडिएको बस्ती हो सेलागाँउ । बदलिदो समयसँगै सेलागाँउका अधिकांश परिवारहरू बसाइ सर्दै तराई तिर झरिसकेका छन् । गाँउमा हाल ३९ घरधुरीको बसोवास रहेको तथ्यांक भए पनि अधिकांश घरधुरीले गाँउसँगै जोडिएको राजमार्ग छेउछाउमा बसाइ सरेपछि सबै परिवारको भेट केवल पूजापाठमा मात्र हुने गर्दछ ।
कोही तराई तिर, कोही राजमार्ग छेउछाउतिर भने कोहि रोजगारीको सिलसिलामा देश बाहिर गएपछि खेती किसानी गर्नेहरूले किसानी छोड्दै गए । पछिल्लो समय हावापानीमा आएको परिवर्तनको असरका कारण पनि खेतीपाती छाड्नेहरू बढे भने जंगली जनावरको आतङ्कले खेतिपातीमा लागेको मेहनत नफर्किएपछि करिव एक दशक देखि सेलागाँउको करिव २५०० रोपनी जमिन बाँझो रहेको स्थानीय टेक राज अवस्थीले बताउनुभयो ।
बाँझो जमिन हराभरा पार्दै सेलागाँउवासी
सेलागाँउमा केहि परिवार बाहेक अधिकांश अवस्थी जातिका मान्छेहरू बस्ने गर्दछन् । गाउँको सिरानमा पञ्चायतकालमा निर्माण भएको करिव पौने दुई लाख लिटर क्षमता भएको पानी पोखरी र त्यो पानी वितरणका लागी ५ वटा सहायक पोखरी जस्ता कृषिका लागी अत्यावस्यक भौतिक संरचना भएर पनि कृषि कर्म छाडेका सेलागाँउवासीहरु हत्पत्त कृषि कर्ममा फर्कन चाहेनन ।
हराभरा खेती हुने मलिलो माटो, थोरै भए पनि बर्षभरी पानिको सुविधा, पानी संकलन तथा वितरण गर्न शाखा लाइनहरू तयारी अवस्थामा, कृषि उपजहरूको बजार छैन भनौँ भने बजार आफै बारी सम्म आउन सक्ने सम्भावना, कृषि कर्ममा कसैले सहयोग गर्दैन भनौँ भने गाँउको सिरानमै नगरपालिका, वडा कार्यालय, कृषि ज्ञान केन्द्र अनि कृषिको क्षेत्रमा काम गर्ने थुप्रै गैरसरकारी संघ संस्थाहरुको कार्यालय छ तर पनि सेलागाँउको करिव करिव सबै जमिन बाँझै ।
केही समय पहिले सेलागाँउमा अवस्थी परिवार समाजको गठन भयो र समाजले सेलागाँउकतीबाँझो जमिनमा हरियाली फर्काउने सपना बुन्यो र त्यही अवस्थी परिवार समाजले जन्मायो असिग्राम कृषि तथा पशुपालन समूह । अवस्थी परिवार समाजका केही अगुवाहरूले गाँउको बाँझो जमिनमा सुन फलाउन सकिने भन्दै गाउँलेहरूलाई उत्प्रेरणा दिन थाल्यो भने जिल्ला स्थित सरोकारवालाहरूसँग समन्वय गर्दै सेलागाँउवासीलाई कृषि कर्ममा फिर्ता गर्न पहल थाले ।
उखान नै छ “त आँट म पुर्याउँछु । ” समूहले काम सुरु गरे सँगै सहयोग गर्ने हातहरूले हौसला दिईरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आलु पकेट क्षेत्र निर्माणका लागी करिव ५०० रोपनी क्षेत्रफललाई तारबारले घेरवार गर्न सहयोग गरेको छ, साथै अनुदानमा आलुकाबीउ दिएको छ । पहिलो वर्ष परीक्षणका लागी २८ परिवारले २८ कुईन्टल आलु लगाएका छन् भने आगामी वर्ष १०० क्विन्टल आलु लगाउने लक्ष राखिएको छ ।
आलु मात्र होईन सेला गाँउमा अरु ताजा तरकारीको पनि प्रशस्तै सम्भावना रहेको छ । पहिले पनि पनि प्रशस्तै ताजा तरकारी उत्पादन हुने ठाँउ हो र अहिले पनि आलु संगै केहि जमिनमा ताजा तरकारी हरु लगाउन थालिएको छ भने भविश्यमा आलु संगै ताजा तरकारी खेती गर्ने सोचिरहेका छन् ।
सरोकारवालाहरुको स्थलगत भ्रमण
बत्तीमुनीको अँध्यारो
जिल्ला सदरमुकामसँग मुस्किलले १० मिनेटको पैदल दुरीमा रहेको गाउँ, स्थानीय सरकार अर्थात अमरगढी नगरपालिकालाई सिरानमा राखेको गाँउ तर विगत केही वर्ष यता देखी नगरपालिकाको कृषि शाखामा यो गाँउबाट कुनै कार्यक्रम माग गरिएको छैन र कुनै प्रस्तावना पेश गरिएको रेकर्ड छैन । समूहको निमन्त्रणामा सेलागाँउ पुग्नु भएका अमरगढी नगरपालिका कृषि शाखा प्रमुख रमेश भण्डारीले सेलागाँउ साँच्चिकै बत्ती मुनिको अँध्यारो अवस्थामा बसिरहेको बताउनुभयो । स्थलगत भ्रमण पश्चात् निकै हर्षित हुँदै हामीहरूले पनि यति नजिक अनि प्रशस्त सम्भावना बोकेको सेलागाँउलाई हेर्न नसकेको र आगामी दिनमा विभिन्न निकायहरूसँग समन्वय गरी उक्त समूहलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सेलागाँउका मान्छेहरू बजार जादैन भन्दा पनि जानै पर्ने हुन्छ किनकि गाँउसँगै जोडिएको छ डडेल्धुराको किर्तिपुर बजार र तुफानडाँडा बजार । बजार तिर उक्लिँदा हातमा साग तरकारी बोकेर लान सके सहजै बिक्री हुने सम्भावना छ र गाँउको टुप्पोदेखिफेदसम्म मोटरबाटोको उपलब्धताले गर्दा व्यापारीहरू सोझै गाँउसम्मै आएर तरकारीहरू खरिद गर्न सक्ने सम्भावना रहेको भएता पनि जमिन बाँझो रहनु दुखद थियो भन्दै सेलागाँउलाई एक दशक पछि भए पनि नमुना तरकारी पकेट क्षेत्र बनाउन पहल गर्ने कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख खेम राज पनेरुले बताउभयो ।

हराभरा हुदै सेलागाँउ
कस्तो छ डडेल्धुरामा तरकारी खेतीको सम्भावना?
सुदूरपश्चिम प्रदेशको मध्यबिन्दुबाट पर्ने डडेल्धुरा जिल्ला आलु तथा अन्य तरकारी उत्पादनको दृष्टिले पनि उपयुक्त जिल्लाको रुपमा लिइन्छ । यहाँको हावापानी, जमिन, सिँचाइ सुविधा मात्र नभएर उत्पादन भएको तरकारीको लागि बजारसम्मको पहुँचको दृष्टिकोणले पनि उपयुक्त जिल्लाको रुपमा लिइन्छ । पछिल्लो समयमा डडेल्धुरा किसान तथा कृषि समूहहरू व्यवसायिक आलुखेती तर्फ आकर्षित भएको देख्न सकिन्छ ।
परम्परागत खेतीको तुलनामा व्यावसायिक रुपमा आलु खेती गर्दा आर्थिक रुपमा फाइदा भएको देखेर होला आजभोलिपरम्परागत अन्नबालीको खेतीलाई छाडेर तरकारी खेती तर्फ आकर्षित हुनेको संख्या बढ्दो छ । कृषि ज्ञान केन्द्र डडेल्धुराको तथ्यांक अनुसार गत आर्थिक वर्ष ०७८ / ७९ मा डडेल्धुराको १०९० हेक्टर जमिनमा आलु खेती गरिएको थियो भने यो आर्थिक वर्ष ०७९ / ८० मा डडेल्धुराको ११७० हेक्टर जमिनमा आलु खेती गरिएको छ । आर्थिक वर्ष ०७८/७९ मा डडेल्धुरामा कुल २० हजार ९ सय २८ मेट्रिक टन उत्पादन भएको थियो भने आर्थिक वर्ष ०७९ / ८० मा करिव २५ हजार ७ सय मेट्रिक टन आलु उत्पादन भएको तथ्यांक कृषि ज्ञान केन्द्र डडेल्धुरासँग रहेको छ ।
डडेल्धुरामा उत्पादन भएको आलुबीउको रुपमा सुदूरपश्चिमका सबै जिल्लामा निर्यात हुन्छ भने यहाँ उत्पादन भएको आलु तरकारीको रुपमा सुदूरपश्चिमका सबै जिल्ला तथा नेपालगन्ज, बुटवल सम्म निर्यात हुने गरेको छ । डडेल्धुराको आलु विभिन्न व्यक्तिसमूह तथा कम्पनीहरूको माध्यमबाट तरकारी तथा बिउको रुपमा बाहिर निर्यात भइरहेको छ । डडेल्धुरामा उत्पादन भएको आलु हाराहारी ८० प्रतिशत तरकारीको रुपमा प्रयोग हुने गरेको पाइएको छ भने बाकि २० प्रतिशत बिउको रुपमा प्रयोग भएको देखिन्छ ।
कृषि ज्ञान केन्द्र डडेल्धुराको अनुसार बिउको रुपमा प्रयोग हुने आलुको ५० प्रतिशत आन्तरिक खपत हुने गरेको छ भने वाकि ५० प्रतिशत निर्यात हुने गरेको छ । डडेल्धुरामा उत्पादन हुनेगरेको आलु डडेल्धुराको दह ब्यारेक, कैलालीको पहलमानपुर तथा कञ्चनपुरको सुडा स्थित कोल्डस्टोरमा राखिने गरेको र पछि सिजनमा तरकारी तथा बिउको लागी प्रयोग गर्ने गरिएको छ ।
२०७९ को कृषि विकास निर्देशनालय डोटीको तथ्याङ्क अनुसार सुदूरपश्चिममा कूल खेतीयोग्य जमिनको ५१ हजार दुई सय ५० हेक्टर जग्गा बाँझो रहेको छ । जस मध्ये डडेल्धुराको कुल ११ हजार छ सय १६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा १० हजार छ सय ६७ हेक्टरमा खेती भइरहेको छ । अझै पनि ९४९ हेक्टर खेतीयोग्य जमिन बाँझै रहेको तथ्यांकले देखाउदछ । जसरी सेलागाँउ ले एक दशक पछि आफ्नो गाँउ लाई कृषिकर्ममा फिर्ता गर्दैछ त्यसरी नै जिल्लाका अन्य गाँउहरु ले पनि आफ्नो गाँउलाई व्यवसायिक कृषि कर्ममा फर्काउन आवश्यक देखिन्छ ।