तिहार पर्वको अवसर पारि डडेल्धुरा सदरमुकाममा नेपाली कला र संस्कृति झल्काउने गरी देउसी–भैलो खेलिएको छ। सोमबार अमरगढी नगरपालिका–१ दहमा रहेको रणबम गणको आयोजनामा देउसी–भैलो खेलिएको हो।
अमरगढी नगरपालिका–५ बसपार्कमा नेपाली सेनाको रणबम गणले संस्कृति झल्काउने उदेश्यका साथ देउसी–भैलो कार्यक्रम राखेको हो। तिहारको पाँचदिन धुमधामसँग देउसी भैलो खेल्ने चलन रहेको भएपनि पछिल्लो समयमा मौलिक भैलो हराउँदै गएको छ।
पुरानो संस्कृतिको संरक्षण गर्ने उदेश्यले देउसी–भैलो कार्यक्रम आयोजना गरिएको रणबम गणका गणपति एवं प्रमुख सेनानी प्रवीण थापाले बताए। नेपाली सेनाका जवानहरूले दौरा–सुरुवाल र ढाका टोपी तथा चोलो, पटुकीसहित आकर्षक पोशाकमा सजिएर देउसी भैलो खेलेका थिए ।
देउसी–भैला कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्का, अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, प्रहरी नायब उपरीक्षक दीपककुमार कार्की, सशस्त्र प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर पाल, स्थानीय तहका जनप्रतिनिधि, पत्रकार र स्थानीयबासीको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा तिहार तथा देउसी भैलोको बारेमा जानकारी दिनुका साथै तिहार संग सम्बन्धित गितहरुमा नृत्य तथा देउडा दोहोरी गित गाईएको थियो ।