२० कार्तिक
डडेल्धुरा सदरमुकाम सडक किनारमा अनधिकृत रुपमा निर्माण भएका घर,टहरामा आज देखी अमरगढी नगरपालिकाले आफैले डोजर चलाएको छ ।
नगरपालिकाको वडा नम्बर ५ अन्तर्गत महाकाली राजमार्गको बागबजार बसपार्क देखि रानीधारा सम्म तीन सय मिटर सडक विस्तारका क्रममा घरको क्षतिपूर्ति र मुआब्जा भूक्तानी लिइसकेका घर टहराहरु भत्काउन सुरु गरेको हो ।
घर तथा जग्गा धनिहरुलाई सडक मापदण्ड भित्र रहेका घर तथा खोका टहरा लगायतका संरचनाहरु हटाउन नगरपालिकाले पटक पटक सूचना तथा माईकिङ्ग गर्दा समेत केही व्यक्तिहरुले हालसम्म त्यस्ता संरचनाहरू नहटाएको पाइए पछि नगरपालिकाले आफै हटाउन लागेको हो ।
गत सोमबार मात्रै नगरपालिकाले अन्तीम पटकका लागि सात दिनको म्याद दिएर उक्त क्षेत्रको सडक खण्डमा पर्ने घर तथा टहराहरु यथासिघ्र हटाउन भनी सूचना गर्दा समेत ऐलानी, प्रति जग्गामा बनेका घर खोका, टहरा लगायतका संरचनाहरु नहटाएको पाईएपछि नगरपालिकाले आज बाट आफै हटाउन लागेको अमरगढी नगरपालिका वडा नं.५ का वडा अध्यक्ष टंक बहादुर क्षेत्रीले बताउनुभयो ।