सवारी दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु

१९ कार्तिक

आज बिहान साढे २ बजे धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च म२७७६ नम्बरको बोलेरो गाडी डोटीको शिखर नगरपालिका ६ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी विष्णुहरी कोइरालाका अनुसार उक्त गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको हो।

दुर्घटनामा परी बाजुराको हिमाली गाउँपालिका ः ५ की २२ वर्षीया राधिका मलाल, सोही स्थानकी ३२ वर्षीया धनशोभा बुढा, धनशोभाकी ६ वर्षीय छोरा कबिन्द्र बुढा र बिमला मलालकी ८ महिनाकी छोरी प्रार्थना मल्लको मृत्यु भएको एसपी कोइरालाले जानकारी दिए।

बिमला मलाल गम्भीर घाइते छिन्। उनीसँगै थप पाँच जना घाइते भएको एसपी कोइरालाले जानकारी दिए। घाइतेहरूमा हिमाली गाउँपालिकाः ५ बस्ने ३० वर्षीय प्रकाश बुढा थापा, २३ वर्षीय खोम बहादुर मलाल, २४ वर्षीय दान बहादुर बुढा र २१ वर्षीय राजबहादुर मलाल छन्।

उनीहरूको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको एसपी कोइरालाले जानकारी दिए।

गाडीका चालक बाजुराको गौमुल गाउँपालिकाः ४ काडाकोटका २९ ‍वर्षीय महेश बुढालाई नियन्त्रणमा लिएर दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.