चितवन नेपालको मध्य भागमा रहेको ब्यवस्थित शहर हो । चितवन संग देवघाट ,चितवन राष्ट्रिय निकुञ्ज जस्ता महत्वपुर्ण स्थान रहेका छन । पुर्व पश्चिम यात्रा गरेको हरेकले चितवन टेकेकै हुन्छ। मेरो यात्राको क्रम योजना बनाएर जाने धेरै कम हुन्छ । कुनै नया ठाउँ पुग्न संयोग नै हुनु पर्छ । पुर्व योजना बिना नै धेरै ठाउँ पुगिएको हुन्छ । कहि योजनाबद्ध पुगिन्छ भने कहि आकस्मिक । काठमाडौ जादा आउदा तथा पुर्वी नेपाल को यात्रा गर्दा चितवन छोएरै जानु पर्ने हुन्छ । त्यसैमा चितवनमा अन्य कार्यक्रमका लागि पनि केन्द्र मानिएकाले भरतपुर पटकपटक पुगिएको थियो । सौराहा पनि पुगिसकेको थिए । भरतपुरमा त धेरै साथीहरू चिनजानका पनि थिए । विभिन्न प्रकृतिका कार्यक्रममा समावेश भइएको थियो । कुनै समय राजनीति त कुनै बेला साहित्यिक भने संघसंस्थाका कार्यक्रममा सरिक भइएका ले पनि चितवन का बिषयमा जानकारी ताजा छ ।
पल्लव साहित्य प्रतिष्ठानले आयोजना गर्ने साहित्यिक जमघटमा गोर्खे साइलो दाईको निम्तोमा दुई तीन पटक पुगिएको छ । गोर्खे दाइको निम्तोले धेरै साहित्य साधकहरु संग भेट गरायो । चिनजान गर्ने मौका जुरायो । दधी सुवेदी,टंक उप्रेती ,बुद राना,बिबस पोखरेल जस्ता कविहरु संग साक्षात्कार गरायो । चितवनको सदरमुकाम पुगिए पनि समग्र चितवनका बिषयमा जान्ने बुझ्ने तथा घुम्ने मौका पाइएको थिएन । नारायणीको किनारमा रहेको रामघाट तिर पुगिएको थियो । चितवनको दक्षिण तर्फ रहेको त्रिबेणीधाम पारी पट्टीको वाल्मीकि आश्रम पनि पुगिसकेको थिए । नवलपरासी बाट भएर गण्डक नहरको पुलबाट भारतीय गाडी प्रयोग गरेर त्यहा पुगेका थियौ । सिताजी ले प्रयोग गरेका सामग्री,लवकुशले बाललिला गरेका सामग्रीहरु हेरियो। उत्तर तर्फको देवघाट क्षेत्रमा केही दिन आश्रममा बटुकहरु संगै गुरुकुलमा रमाएर बसिएको थियो । हरिहर आश्रममा बसिएको थियो । हरिहर आश्रम,गलेश्वर आश्रम देवघाट पुगे पछि अधिकांश बसिन्छ नै ।
विभिन्न समयको बसाईले चितवनका बिषयमा धेरै जान्ने बुझ्ने मौका मिलेको थियो । मध्य नेपालको महत्वपुर्ण शहर हो चितवन । चितवन अरुहरु स्थान पुगिए पनि माडी जान सकिएको थिएन। एउटा संयोग पर्यो चितवनको माडी क्षेत्रमा जाने मौका मिल्यो । माडीको अयोध्यापुरीमा रहेको मगर होमस्टेमा बसेर माडीका बारेमा जान्ने,बुझ्ने मौका मिल्यो । चितवन राष्ट्रिय निकुञ्ज पार गरे पछि अति नै रमणीय बस्तीमा टेकियो । चितवन जिल्लाको दक्षिणी सिमानामा रहेको माडी क्षेत्र भरतपुरबाट करिब ३८ कि.मी.जति टाढा रहेको छ । हुनत वाल्मीकि आश्रम माडी क्षेत्रमा नै पर्ने भए पनि निकुञ्जले अलग गरिदिएको छ । वाल्मीकि आश्रम त म अघि नै पुगिसकेको थिए । भरतपुर भएर पहिलो चोटि माडी पुग्ने अवसर पाइयो । अधिकांश भाग राष्ट्रिय निकुञ्ज रहेको चुरे पहाड तथा दक्षिणमा सोमेश्वर पर्वतमालाले घेरिएको यो सुन्दर हरियाली उपत्यका हो । निकै उत्पादन हुने समथर उपत्यका प्रकृतिले निकै सिगारेको छ।
प्रकृतिले पक्षपात रहित समान रुपले सौन्दर्यता बाडेको हुन्छ । प्रकृतिका अनुपम छटाछन्नताले हरेक स्थानलाई मनमोहक बनाएको हुन्छ । चाहे डडेल्धुराको कस्या टाकुरो होस वा इलामको अन्तुडाडा,मनोरम आलिताल होस वा फेवाताल,तराईका चारकोसे झाडी होउन वा रंगुन तथा माडी उपत्यकाहरुलाई प्रकृतिका बरदान नै मान्न सकिन्छ ।
वरिपरिबाट वनले घेरिएको माडी नगरपालिका हरियाली र मनोरम छ । वन्यजन्तु र मानिसबीचको द्वन्द्वले चिनिएको माडी अहिले पर्या–पर्यटनले चिनिन थालेको छ । वन तथा वन्यजन्तु अवलोकन का लागि दिन प्रतिदिन पर्यटक कोहि बास बस्ने गरि त कोहि फर्किने गरि माडी पुगेका हुन्छन । ठाउँ ठाउँमा होमस्टे निर्माण भएसँगै पर्यटकको आगमन बढेको छ।आन्तरिक मात्र होइन माडीमा विदेशी पर्यटक पनि आउन थालेका छन।आन्तरिक पर्यटन प्रवर्द्धनमा विभिन्न संघसंस्थाले जोड दिएर पनि पर्यटक बढेका छन । आन्तरिक पर्यटनको बिकास भनेरै त होइन तर हाम्रो बसाई पनि पर्यटकीय नै थियो । हामी त्यहाका थिएनौ । पाहुना भएर होमस्टेमा बस्यौ अन्य पर्यटकले जस्तै ।
माडी नगरपालिका–८, शिवद्वारमा मगर समुदायले ०७२ पुस १२ गतेदेखि होमस्टे सञ्चालन गरेका रहेछन । शिवद्वारमा अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे ११ वटा घरमा चलाइएका रहेछन । एक घरले दुईवटा कोठाको होमस्टे बनाएका छन् । मगर संस्कृतिको संरक्षणमा जोड दिइएको छ । त्यहा आयआर्जनमा गरेका सफल अभ्यासका नमुना प्रत्यक्ष देख्न पाइन्थे त्यही बाट मनोरम हिम श्रङ्खला देख्न पाइने गजवको दृश्य थियो । सायदै मधेस ,भित्री मधेस क्षेत्र बाट यसरी हिमाल हेर्न सकिने माडी नै हो । रंगुन उपत्यका काटेर या त तराई जादा चुरेबाट हिमाल हेर्न पाइन्थ्यो या थपला भन्दा माथि झिक्ना पुगेर हेर्दा । तर माडी उपत्यकाको मध्य भागबाट हिमश्रङ्खला हेर्न मिल्ने रहेछ । हामीले पनि हेर्न पायौ ।
घरबासको बसाई ब्यवस्थापन संगै संस्कृति को प्रस्तुति अति महत्वको थियो। मगर भाषाको गीतलाई अति नै आलंकारिक रूपमा प्रस्तुत गरिएको थियो। गीतको प्रसंग अनुबाद गरि सुनाएका थिए । सृष्टिकर्ता ब्राह्मजी ले फूलको सृष्टि गर्नु भयो।त्यो फूल बिष्णुजीलाई अर्पण गर्नु भयो।बिष्णुजीले बैकुण्ठ चतुर्दशीका दिन शिवजी अर्पण गर्नु भयो । शिवजी ले सुर्य भगवानलाई दिनु भएको थियो । सुर्य भगवानले हामीलाई दिनु भयो । हामीले तपाईंहरुको स्वागतका लागि समर्पण गरेका छौ । पाहुना भगवान नै हुन । त्यही सम्झेर स्वागत गरेका छौ । मगर पहिरनमा रहेका महिलाहरूले स्वागत गरेका थिए । स्वागत सहित हामी बस्ने घर तोकिएका थिए । तोकिए बमोजिम निर्धारित घरमा बास बस्न पुग्यौ । मगर जातिको परिकार पाउन सकिन्छ कि भनि हामीले जिज्ञासा राखेका थियौ । तर ब्यवस्थापन गर्न कठिनाइ रहेको जानकारी पाए पछि जे ब्यवस्था थियो त्यहि भोजन गर्यौ ।
आय आर्जनको मुख्य आधार बनाइएको छ होमस्टेलाई । आय आर्जनका अन्य धेरै उपाय अपनाईए का छन यहा । माछा पालन ब्यवसायलाई जोन ,सुपरजोनका रुपमा निर्माण भएका माछा पोखरी निर्माण भएका छन ।खेतबारीको छेबैमा निर्माण भएका पोखरीले मानव बन्यजन्तु द्वन्द न्यूनीकरण गरेको पाइन्थ्यो भने आम्दानीको ठूलो आधार पनि थियो।
स्थानीय बासिन्दा संग विविध बिषयमा छलफल गर्ने क्रममा माडी क्षेत्रको नाम रहेको सम्बन्धमा बिभिन्न किम्बदन्तीहरु पाइन्छन् भन्ने बुझ्नमा आयो । चितवन धार्मिक ,सांस्कृतिक रुपले निकै धनी छ । हरिहर क्षेत्र देवघाट,पवित्र सप्तगण्डकी निरन्तर बगि रहेकी ,त्रिवेणी जहाँ गजेन्द्रमोक्ष धाम,वाल्मीकि आश्रम जस्तै माडी क्षेत्र पनि सोमेश्वरको भुमि मानिन्छव। अयोध्यापुरी पनि छ ।त्यसै गरि माडी नामकरण संग माण्डब्य ऋषिलाई पनि जोडिएको पाइन्छ । माण्डब्य ऋषिले माडी क्षेत्रमा तपस्या गरेर यहाँका बासिन्दाहरुलाई मार्ग दर्शन गर्नु भएको र माण्डब्य ऋषिको तपस्थली भएकाले माडी भनिएको भन्ने किम्बदन्ती रहेको कुरा बुढापाका ब्यक्तिहरु बाट जानकारी पाइयो । आदीबासी थारुहरुको भाषामा पानी जमेको स्थानलाई माड् भन्ने गरेका र माडी उपत्यका भित्र पानी जमेको देखेर थारुहरुले माड्–माड् भन्दै आउदा माडी नाम रहेको आदीबासी थारुजातका मानिसहरूको कथन थियो ।थारुहरु भुमीपुत्र भन्ने गरेको पाइए पनि गहिरिएर सोद्धा डगौरा,चौधरीहरु दाङबाट र अन्य थारु राजस्थानको थार क्षेत्र बाट बसाई सर्दै आएको बुझियो । डगौरा थारुको मुल थलो दाङ नै हो दाङबाट नै पुर्व पश्चिम छरिएका हुन । बसाइँसराइ बसेको नया बस्तीका रुपमा थियो माडी उपत्यका । लम्जुङ,तनहु,गोर्खा, सिन्धुली आदि पहाडी ठाउँ बाट बसाइँसराइ गरेकाहरुको बाहुल्यता रहेको छ । सिन्धुली माडीका मानिसहरु बसोबास गर्दै गर्दा माडी नामाकरण भएको हुन सक्ने पनि मत थियो ।
तत्कालीन गर्दी,बघौडा,कल्याणपुर र अयोध्यापुरी गा।बि।स।रहेको यस क्षेत्रलाई एकिकृत रुपमा माडी क्षेत्र भनिएको र नेपाल सरकारले २०७१ साल मंसिर १६ गते ४ वटै गा.बि.स.लाई मिलाएर माडी नगरपालिका गठन गरेको थियो । यस नगरपालिकाको वडानं। १,२,३,४,५र ६ मा मुख्य थारुबस्ती रहेको भएता पनि अन्य जात जातिहरुमा,ब्राम्हण ,क्षेत्री, मगर,गुरुङ, तामाङ,बिश्वकर्मा , परियार, बोटे, दराई, राई, चेपाङ, गन्धर्ब,मधेसी,मुस्लिम लगायतका जातजातिको बसोबास रहेको छ ।
माडी क्षेत्र नदि कटानको उच्च जोखिममा रहेको छ।राप्ती नदिको कटान एकातिर छ भने नदिका कारणले श्रीलंका जस्तै हुन्थ्यो बर्खा तिर । पुल बने पछि सदरमुकाम संग जोडिएको छ । सन्तुलित बिकासको समुन्नत नगर हुदैछ माडी । चारैतिर चितवन राष्ट्रिय निकुञ्जले घेरेको माडी उपत्यका बाट हिमाल देखिन्छ।माडीबाट हिमाल देखिनाले पनि पर्यटकको थप आकर्षक बनेको छ। पर्यटन ब्यवसाय पनि माडीको समृद्धिको आधार भएको छ । राष्ट्रिय निकुञ्जका कारणले उद्योग कलकारखाना खोल्न नमिल्ने भए पनि आय आर्जन र उन्नतिका अन्य थुप्रै पाटा छन । जसको माडी बासीले पूरा पूरा प्रयोग गरेका पनि छन । बाँस उत्पादनमा नौलो आयाम नै पाइयो माडी उपत्यका मा। बासका विभिन्न फर्निचर तथा कटेज,तथा रडको सट्टामा बासको प्रयोग गरेको पाइयो । दिगो जीबिकोपार्जन का कैयौ अभ्यास गरिएका छन । मध्यवर्ती क्षेत्र भएकाले वन्यजन्तुले नोक्सान गर्न नसक्ने बालिको प्रयोग गरिएको थियो। अति रमणिय रहेको सुन्द्रर उपत्यका सरकारले राष्ट्रिय निकुञ्ज बनाएर झनै सौन्दर्य थपेको छ।निर्माणको क्षेत्रमा अक्षत मानिएको माडी उपत्यकामा बिकासले गति निकै पाएको छ । सडक,पुल निर्माण भए पछि मुल प्रवाह संग जोडिएको छ।
परशुराम १२ डडेल्धुरा