आलिताल गााउपालिकाको सार्वजनिक सुनुवाई सम्पन्नः निर्माण व्यवसायी प्रति जनताको अत्याधिक गुनासो

१६ असोज
पछिल्लो समय निर्माण व्यवसायीहरुले गरेको ढिलासुस्ती प्रति स्थानियहरुले सार्वजनिक रुपमै गुनासो गर्न थालेका छन् ।
आलिताल गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० मा सम्पन्न गरेका योजना, कार्यक्रम तथा सेवाप्रवाहका सन्दर्भमा सोमबार आयोजना गरिएको सार्वजनिक सुनवाई कार्यक्रममा गुनासो गर्दै कार्यक्रमका सहभागी गाउँपालिकाका बासिन्दाहरुले हालसम्म अस्पतालको भवन निर्माणमा चरम लापरवाही गर्ने निर्माण व्यवसायीलाई कारवाही नगरिएकोमा गम्भीर आपत्ती जनाएका छन ।
आधारभुत अस्पताल भवन निर्माणमा ढिलाई हुँदा अस्पताल सञ्चालनमा आउन नसकेकोले स्थानीयले रेबिज र सर्पडंसको उपचारबाट बञ्चित हुनुपरेको आलिताल गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख धनबहादुर क्षेत्रीले बताए । उनले ठेकेदारलाई पटक पटक म्याद थप गर्दा पनि निर्माण कार्य अधुरै रहेको बताए ।
कार्यक्रममा सहभागी स्थानीय अगुवा लालबहादुर बोहराले ठेकेदारको चरम लापरवाहीका कारण आलिताल गाँउपालिकाको प्रशासकीय भवन निर्माण कार्यमा निकै ढिलासुस्ती भइरहेको गुनासो गरे । स्थानीय रमेश सोवले आलिताल गाउँपालिकाको प्रमुख बजार क्षेत्र गोदाम बजारमा खानेपानीको समस्या रहेको बताउँदै अविलम्व खानेपानी योजना निर्माण गर्न गाउँपालिकालाई आग्रह गरे ।
कार्यक्रमका सहभागीहरुले आलिताल गाउँपालिकाले निःशुल्क एम्वुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरिएको भए पनि दुबै एम्वुलेन्स बिग्रेर सेवा सञ्चालन हुन नसकेको गुनासो गरेका छन । कार्यक्रमका सहभागीहरुले कृषिजन्य उपजको बजारीकरणमा समस्या उत्पन्न भएको, किसानले उपजको वास्तविक मुल्य पाउन नसकेको, बर्षातको समयमा अवरुद्ध ग्रामीण सडकहरु हालसम्म सञ्चालनमा आउन नसक्दा यातायात सेवा प्रभावित भएको, सामुदायीक विद्यालयहरुमा शैक्षिक गुणस्तर खस्किदै गएको, आर्युवेद स्वास्थ्य केन्द्रमा सदैव औषधी अभाव हुने गरेको गुनासो गरेका थिए ।
दशै तिहार जस्ता महत्वपुर्ण चाडपर्व नजिकिए पनि बजार अनुगमन हुन नसक्दा स्थानीय बजारमा महंगी र कालोबजारी बढेको, युवा बेरोजगारी न्युनीकरणका लागि गाउँपालिकाले प्रभावकारी रुपमा काम गर्न नसकेको, योजना निर्माणका क्रममा गुणस्तर सुधार गर्न खासै पहल नभएको र वास्तविक आवश्यकतामा आधारित योजनाहरु कार्यान्वयन हुन नसकेको र बर्षेनी बेरुजु बढ्दै गएको गुनासो गरेका छन ।
गुनासो सुनवाईगर्दै प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिँह ठगुन्नाले विधि प्रकृयाअनुसार कार्यसम्पादन भइरहेको र प्राप्त सुझाव र सल्लाहका आधारमा अगामी दिनमा थप सुधार गरेर अघि बढने प्रतिवद्धता ब्यक्त गरे । उपाध्यक्ष मैनाकुमारी रावल बोहराले बजार अनुगमनमा तिब्रता दिने बताउँदै योजनाहरुको नियमित अनुगमन र गुणस्तर सुधारका लागि पहल गर्ने प्रतिवद्धता ब्यक्त गरिन ।
आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिँह पार्कीले गुनासो सुनवाईगर्दै व्याप्त समस्याहरुको समाधान गर्ने र शुशासन प्रवद्र्धनका लागि निरन्तर पहल गर्ने प्रतिवद्धता ब्यक्त गरे । सार्वजनिक सुनवाई कार्यक्रमको सहजीकरण झिल्को मिडिया एण्ड कन्सलटेन्सी सर्विस प्रा.लि. डडेल्धुराले गरेको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.