
१० असोज
डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–४ को महाभारत क्षेत्रमा प्रसिद्ध लाटागन्यापको ‘शिखरजाँत’ आज लाग्दैछ ।
शिखरमा ६ गाउँबाट देउरो जाने गर्दछन्। गन्यापधुरा गाउँपालिका स्थित मालिगाउँ, रुमायल, जैसेरा र रेल यस्तै डोटीको शिखर नगरपालिकाको थप्सा र बानीडुग्रेसैनबाट संयुक्त रुपमा देउरो जाने परम्परा रहेको छ।
देउरो जाने क्रममा पनि विभिन्न ठाउँहरूमा दाइन, दमाहा तथा भोक्करहरू बजाएर जाने गरिन्छ। दमाहा पनि लाटागन्याप देवताबाट विशेषा अधिकार प्राप्त दमाइ जातिका व्यक्तिहरूले मात्रै बजाउने गरेका गन्यापका धामी जयराज भट्टले जानकारी दिए।
मेला भर्नको लागि जाने दर्शनार्थीले साता अगाडिदेखि नै शुद्ध खानेकुरा खाने गर्दछन्। यसरी चोखो खाना खाएर उपासना गरि मेलामा सहभागी भइ चोखो मनले मागेको वरदान पूरा हुने धार्मिक विश्वास रही आएको छ।
मेला भर्नको लागि डडेल्धुरा, डोटी लगायत सुदूरपश्चिम तथा देशका विभिन्न ठाउँहरूबाट भक्तजनहरू आउने गरेको गन्यापका दोरिया हरिलाल भट्टले बताए। जाँतमा गाइने देउडा, फाग, चैत, धुमारी पनि लाटागन्यापको गाथामा आधारित हुने गरेका उनको भनाइ छ। शिखर मेलाको अवसर मा आज गन्यापधुरा गाँउपालिकामा विदा दिईएको छ ।