डडेल्धुराका नाथ पूर्ण छात्रवृत्तिमा अध्ययनका लागि छनौट

४ भाद्र
डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाका एक विद्यार्थी पूर्ण छात्रबृत्तिमा विज्ञान संकाय अध्ययन गर्न छनोट भएका छन् । परशुराम नगरपालिका का स्थानीय दुर्गेश नाथ काठमाडौंको लुम्बिनी एकेडेमीक फाउन्डेसनमा छनोट भएका हुन् ।
नेपाल विद्यार्थी संघले डडेल्धुराबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल २८ जना विद्यार्थीलाई छात्रबृत्तिमा अध्ययनका लागि लुम्बिनि एकेडेमिक फाउन्डेसनसंग सम्झौता गरेको थियो । सम्झौताअनुसार परशुराम नगरपालिकाले नाथलाई सिफारिस गरेपछि उनलाई पूर्ण छात्रबृत्तिमा अध्ययनका लागि छनोट गरिएको नेविसंघ डडेल्धुरा अध्यक्ष पवन ऐरले जानकारी दिए ।
नाथ सानै हुँदा उनका बुवाको निधन भएको थियो । आर्थिक अवस्था कमजोर भएका नाथ एसईईमा भने उत्कृष्ट नतिजा ल्याउन सफल भएका थिए । आर्थिक अवस्था कमजोर र पढाईमा दख्खल भएकाले उनलाई पूर्ण छात्रबृत्तिमा विज्ञान संकाय अध्ययन गर्न छनोट गरिएको ऐरले बताए ।
डडेल्धुराका सात वटा स्थानीय तहबाट एसइईमा उत्कृष्ट भएकालाई छात्रवृत्ति दिने गरि नेविसंघ केन्द्रीय सदस्य इन्जिनियर भुवन भट्ट र जिल्ला अध्यक्ष ऐरसंग फाउन्डेसनले तीन वर्षका लागि सम्झौता गरेको थियो । सम्झौताअनुसार पूर्ण छात्रवृत्तिबाट प्रत्येक सात वटा स्थानीय तहबाट १, १ जना गरी ७ जना र आंशिक छात्रवृत्ति प्रत्येक स्थानीय तहबाट ३,३ जना गरी २१ जनाले पाउनेछन् । आशिंकमा कुल शुल्कमा ७५ प्रतिशत छुट हुने सम्झौतामा उल्लेख छ ।

You might also like