
२ श्रावण
सुदूरपश्चिमको पहाडि जिल्लाहरु मध्ये पहिलो पटक डडेल्धुरामा ‘मेडिकल ल्याब टेक्नोलोजी’ विषयमा डिप्लोमा पढाइ हुने भएको छ। डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिका को चिम्रिकोटमा एक दशक पहिले स्थापना भएको ह्वाइट पार्क कलेजमा यस वर्षदेखि उक्त ३ वर्षे डिप्लोमा कोर्स पढाइ हुने भएको हो।
यसै वर्ष स्तरोउन्नति भएको कलेजमा ल्याब टेक्नोलोजी विषय यस वर्ष बाट सुरु गरिने भए पनि प्री डिप्लोमा तर्फ सर्भे इन्जिनियरिङ (अमिन), पशु विज्ञान (भेटेनरी जेटिए), सिभिल सव ओभरसियर र बाली विज्ञान (कृषि जेटिए) तर्फ भने हजारौँको संख्यामा विद्यार्थिहरु उत्पादन गरिसकेको ह्वाईटपार्क कलेजका प्रबन्ध निर्देशक राजेन्द्र भण्डारीले बताए।
अहिलेसम्म मेडिकल ल्याबको डिप्लोमा गर्न तराईका जिल्ला का साथै राजधानि तिर जानुपर्ने बाध्यता रहेकोमा अब सुदुरपश्चिमको केन्द्रबिन्दुमा पर्ने डडेल्धुरामा पढाइ हुने भएपछि सुदूर पहाडका सातै जिल्लाका विद्यार्थीलाई मात्र नभई डडेल्धुरा मौसम र आर्थिक रुपमा कम खर्चिलो ठाँउ भएकोले तराईका विद्यार्थिहरुको पनि रोजाईमा पर्ने भण्डारीले बताए।