जनगणनाको जिल्लागत नतिजा सार्वजनिक

१२ असार
राष्ट्रिय जनगणनाको नतिजा अनुसार पछिल्लो १० वर्षमा डडेल्धुराको जनसंख्या घटेको छ । १० वर्षमा डडेल्धुराको जनसंख्या २ हजार ४९२ ले घटेको हो । ०६८ सालमा भएको जनगणनाअनुसार जिल्लाको जनसंख्या १ लाख ४२ हजार ९४ रहेको थियो भने ०७८ को जनगणनाअनुसार जिल्लाको जनसंख्या १ लाख ३९ हजार ६०२ रहेको छ ।

तथ्यांक कार्यालय डडेल्धुराको आयोजमा हिजो जिल्ला स्तरीय नतिजा सार्वजनिक कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । कार्यालयका तथ्यांक अधिकृत चन्द्रबहादुर पालले गणनाको विधि, गणनाको प्रक्रिया, जनसंख्या र वृद्धिदरको अवस्था लगायतका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेको अध्यक्षातामा भएको नतिजा सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्का रहेकी थिइन् ।
कार्यक्रममा प्रदेशसभा सदस्य खड्काले सार्वजनिक तथ्यांककै आधारमा विकासका योजना पनि अगाडि बढाउन सकिने बताइन् । सबै क्षेत्रको वास्तविक तथ्यांक सार्वजनिक भइदिए विकास निर्माण गर्न सहज हुन्छ उनले भनिन् । ०७८ सालमा सम्पन्न भएको जनगणनाको नतिजा राष्ट्रिय रुपमा भने ०७९ चैत १० गते सार्वजनिक गरिएको थियो । डडेल्धुरामा सोमबार सार्वजनिक गरिएको हो ।

You might also like
Leave A Reply

Your email address will not be published.