रुडुक द्धारा डडेल्धुरामा ‘किशोर–किशोरी सशक्तिकरण कार्यक्रम’ सुरु

डडेल्धुरा जिल्ला सदरमुकाम अमरगढी नगरपालिका वडा नं.५ खलंगामा रहेको महेन्द्र माविमा ‘किशोर–किशोरी सशक्तिकरण कार्यक्रम’ सञ्चालनमा आएको छ । पपुलेसन कनेक्सन यु.एस.ए.को सहयोगमा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)ले ‘किशोर–किशोरी सशक्तिकरण कार्यक्रम’ सञ्चालनमा ल्याएको हो । कार्यक्रम सञ्चालन आएपछि सोमबार महेन्द्र माविमा शुभारम्भ कार्यशाला सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी अमरगढी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष टंकबहादुर क्षेत्रले रुडुकले सुरुवात गरेको किशोर–किशोरी सशक्तिकरण कार्यक्रमको सफलताको शुभकामना दिए । ‘यो कार्यक्रमले विभिन्न विषयमा विद्यार्थीलाई थप जानकारी हुने अपेक्षा गरेको छ,’ उनले भने ।
सोमबार आयोजित कार्यक्रम शुभारम्भ कार्यशालामा बोल्दै रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर बहादुर साउदले विद्यार्थी तथा अभिभावकलाई किशोर–किशोरीको किशोरावस्था, यौन तथा प्रजनन, वाल विवाह, साइबर बुलिङका सम्बन्धमा संवेदनशिल र अभिमुखिकरण गराउनका लागि किशोर–किशोरी सशक्तिकरण कार्यक्रम सञ्चालनमा ल्याइएको जानकारी दिए । ‘कार्यक्रमअन्तर्गत विद्यालयका शिक्षक र अभिभावकहरुलाई अभिमुखीकरण गरिनेछ भने बालबालिकालाई प्रजनन स्वास्थ्य र किशोरावस्थाको अवधिमा हुने परिवर्तनका विषयमा अभिमुखीकरण गराइनेछ,’ साउदले भने, ‘महिनावारी सरसफाईबारे नर्सबाट सहजीकरण, सर्ने र नसर्ने रोगबारे चिकित्सवकबाट सहजीकरण, परिवार नियोजन र यसको प्रयोग तथा वाल विवाह र त्यसको परिणमबारे पनि सहजीकरण गर्ने तयारी छ ।’
साइबार बुलिङ र सामाजिक सञ्जालको प्रयोगबारे पनि नेपाल प्रहरीका अधिकारीमार्फत विद्यार्थीलाई सहजीकरण गराउने कार्यक्रमको लक्ष्य रहेको कार्यकारी निर्देशक साउदले बताए । कार्यक्रमअन्तर्गत विद्यालयस्तरीय रचनात्मक अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनेछ भने विद्यार्थीलाई छात्रवृत्ति दिने र प्रदेशस्तरीय निवन्ध प्रतियोगिता पनि सञ्चालन गरिने रुडुकले जनाएको छ ।
कार्यक्रममा महेन्द्र माविका प्रधानाध्यापक सुरेन्द्र ऐरले रुडुकले आफ्नो विद्यालयमा किशोर–किशोरी सशक्तिकरण कार्यक्रम ल्याएको भन्दै धन्यवाद ज्ञापन गरे । ‘यो कार्यक्रमले विद्यार्थीलाई विभिन्न विषयमा थप जानकारी त दिने नै छ त्यसबाहेक अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न पनि टेवा पुग्नेछ,’ उनले भने । कार्यक्रम रुडुक डडेल्धुराका अध्यक्ष मानकुमारी थापाको अध्यक्षतामा भएको हो ।

You might also like