बैतडीको पाटन नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका बिषयमा भर्चुअल माध्यमबाट सुझाव संकलन गरेको छ ।
सोमबार नगरपालिकाले रोजगारी संगै अन्य कामले बाहिर रहेका व्यक्तिहरूबाट अनलाइन जुम मिटिङ मार्फत आगामी आर्थिक २०८०र०८१ को नीति तथा कार्यक्रममा बारेमा सुझाव संकलन गरेको हो । गत वर्षपनि नगरपालिकाले भर्चुअल मार्फत निती तथा कार्यक्रमका बारेमा सुझाव संकलन गरेको थियो ।
भर्चुअल मिटिङमा सहभागी अधिकांश नागरिकले कृषि र शिक्षाको क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव दिएको नगर उपप्रमुख कमलसिंह बोहराले बताए ।
स्थानीयस्तरमै रोजगारीको सिर्जना हुने खालका योजनाहरु ल्याउनुपर्नेमा उनीहरुको जोड छ ।
सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले पहल गर्नुपर्ने, कृषिलाई व्यवसायीकरण गर्नुपर्ने, फोहर व्यवस्थापनमा सहज हुने खालको नीति तथा कार्यक्रम ल्याउन मिटिङमा सहभागीहरुले सुझाव दिएको उपप्रमुख बोहराले बताए ।
संकलित सुझावलाई आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर अघि बढ्ने नगरपालिकाले जनाएको छ । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा नागरिकले दिएका सुझावलाई समेट्ने नगर प्रमुख गौरीसिंह रावलले बताए ।
जिल्लाका अन्य स्थानीय तहहरुले पनि अनलाइन मार्फत सुझाव दिन आग्रह गरेको छ । जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका लगायतका स्थानीय तहहरुले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमका लागि सुझाव दिन आग्रह गरेको हो ।
You might also like