डडेल्धुरामा मनाईयो जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस

२१ जेष्ठ
डडेल्धुराको सदरमुकाममा आज एक कार्यक्रमका साथ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइएको छ।

दलित महिला संघ (फेडो) डडेल्धुराको आयोजनामा दिवसका अवसरमा अमरगढी नगरपालिका–५ तुफानडाँडादेखि जिल्ला प्रहरी कार्यालयसम्म सचेतनामूलक र्‍याली निकालिएको थियो।
‘जातीय विभेद तथा छुवाछुत प्रथा अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, ‘जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गरौं, ‘विभेद रहित समाजको स्थापना गरौं भन्ने नाराका साथ र्‍याली निकालिएको थियो। जिल्ला प्रहरी कार्यालय अगाडि आयोजित कोषसभामा बोल्ने वक्तहरूले समाजमा जातीय भेदभाव तथा छुवाछुत अझै पनि अन्त्य हुन नसकेको बताएका थिए।

नागरिक समाज डडेल्धुराका संयोजक रमेश जोशीले जातीय भेदभाव अन्त्य गर्नका लागि सबैले एकजुट भएर अगाडि बढ्नुपर्ने बताए। समाजमा रहेका छुवाछुत हटाउनका लागि सरकारी निकाय, राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवीका साथै आम नागरिकको महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका डडेल्धुरा अध्यक्ष सुन्दर जैरुले मुलुकमा जातीय छुवाछुत अन्त्य गर्न राज्य गम्भीर बन्नुपर्ने बताए। उनले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस दलित र त्यस सम्बद्ध अधिकारीकर्मीहरूले मात्र नभई यहाँका प्रत्येक स्थानीय तहहरूले मनाउनु पर्नेमा जोड दिए।
स्थानीय सरकारको ध्यान कानून बनाउनमा रहेको तर कानून कार्यान्वयनमा ध्यान नै नपुगेको उनको भनाइ छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जातीय छुवाछुतसम्बन्धी घटनामा प्रहरी संवेदनशील भएर लागिरहेको बताए। उनले आगामी दिनमा पनि यस्ता किसिमका घटनाहरूमा प्रहरी प्रहरी संवेदनशील भएर लाग्ने प्रतिबद्धतासमेत जनाए।
फेडो डडेल्धुराका सचिव अन्जु गैरेले कागजी रूपमा जातीय छुवाछुत अन्त्य भएतापनि व्यवहारिक रूपमा भने अझैं विभेद कायमै रहेको बताइन्। सीप गरेर वाफत पनि दलित समुदायको सम्मान गर्नुको सट्टा अपमान भइरहेको उनको भनाइ थियो।
उनले जिल्ला सदरमुकाममा पढ्न आएका दलित समुदायका विद्यार्थीहरूलाई गैरदलितहरूले कोठासमेत नदिने गरेको गुनासो पोखिन्। सदरमुकाम क्षेत्रमा जातीय छुवाछुत अन्त्य भएको जस्तो देखिएपनि ग्रामीण भेगमा अझैं भेदभाव यथावत् नै रहेको उनले बताइन्।
२०६३ साल जेठ २१ गतेका दिन सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको थियो। यसैको सम्झनामा २०६८ सालदेखि जेठ २१ गते ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ मनाइन्छ।

You might also like
Leave A Reply

Your email address will not be published.