डडेल्धुराको सदरमुका बागबजारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता रेशमलाल चौधरीलाई रिहा गरेको विरोधमा राष्ट्रपति तथा शिर्ष नेताहरुको पुतला दहन गरिएको छ।
सोमबार साँझ नेपाल विद्यार्थि (विपी) र स्वतन्त्र युवा एकता समाजले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पुतला जलाएको हो।
देउवाको गृहजिल्ला समेत रहेको डडेल्धुरा सदरमुकामस्थित बागबजारमा उनीहरुले ुनालायक राष्ट्रपति मुर्दावाद, जनघाति निर्णय फिर्ता गर, राष्ट्रविरोधी दलाल भ्रष्ट नेता मुर्दावाद, नालायक सरकार मुर्दावाद, नेपालीवाद जिन्दावाद लगायतका नारा लगाउँदै पुलता जलाएका थिए।
पुतला दहनपछि कोणसभामा बोल्दै नेवि संघ(विपी) का जिल्ला सभापति मदन बोहराले सर्वोच्च अदालतले आजीवन जेल सजाय सुनाएको चौधरीलाई रिहा गरिनु सरकारको गलत कदम भएको बताएका छन्। उनले भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेतृ आरजु देउवा तथा मन्जु खाणको नाम आउदा समेत सरकार चुप लागेर बसेको आरोप लगाएका छन्। उक्त प्रकरणमा पक्राउ परेकालाई कार्वाही गरेर दोषी छुटाउने प्रयास नगर्न समेत उनले सरकारलाई आग्रह गरेका छन्।
यस्तै स्वतन्त्र युवा एकता समाजको तर्फबाट बोल्दै सुरत तमौलीले सुरक्षाकर्मीको हत्या योजनाकारलाई छुटाउने सरकारको निर्णयलाई राष्ट्रघाति भनेका छन्। त्यस्तै गरेरहे कुनदिन आक्रोशित जनताले तिनै शिर्ष नेताको हत्या गर्ने चेतावनी समेत उनले दिएका छन्।
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि रेशम चौधरी आज मात्रै रिहा भएका हुन्।