स्वविय निर्वाचनमा मतदाता बोक्दै अमरगढी नगरपालिकाको जिप

५ चैत्र
डडेल्धुरा सदरमुकाम स्थित डडेल्धुरा बहुमुखी क्याम्पसमा आइतबार बिहान बाट जारी स्ववियु निर्वाचनका क्रममा मतदाता बोक्न अमरगढी नगरपालिकाको सवारी साधनको दुरुपयोग गरिएको फेला परेको छ।

त्रिभुवन विश्वविद्यालयको आगिंक क्याम्पसका रुपमा रहेको यो क्याम्पसमा नेपाल विद्यार्थी संघले मतदाता ओर्सान सरकारी सवारी दुरुपयोग गरिरहेको फेला परेको हो।

सरकारी साधन दुरुपयोग गरेको विषयमा चुनावी प्रतिस्पर्धामा रहेका अन्य विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन्।

नगरप्रमुख र उपप्रमुखसहित कांग्रेसको बहुमत रहेको अमरगढी नगरपालिकाको स्वामित्वमा रहेको से.१.झ.२३९ नम्बर प्लेटको बोलेरो जीप दुरुपयोग गर्दै मतदाता ओसारेको संयुक्त प्यानलबाट स्ववियु सभापतिका उम्मेदवार मदनबहादुर बोहराले जानकारी दिए।

चुनावी प्रतिस्पर्धामा रहेका विद्यार्थी संगठनहरु अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले पनि नेपाल विद्यार्थी संघले सत्ताको दुरुपयोग गर्दै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मतदाताहरु प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाएका छन्।

जिल्ला प्रशासन कार्यालयले सो सम्बन्धमा विद्यार्थी नेताहरुबाट गुनासो आएकोले तत्काल अमरगढी नगरपालिकालाई सवारी साधनको दुरुपयोग रोक्न निर्देशन दिएको जनाएको छ।

यस सम्बन्धमा अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीराज उपाध्यायले स्ववियु निर्वाचनका क्रममा नगरपालिकाका उपप्रमुख सवारी साधनमा चढेर क्याम्पस पुगेको र विद्यार्थीहरु बोक्ने काम नभएको जिकिर गरे। उनले उपप्रमुखले सवारी साधन प्रयोग गरेको विषयलाई अन्यथा भन्न नमिल्ने बताए।

प्रत्यक्षदर्शी विद्यार्थीहरुले भने नेवि संघका उम्मेदवारहरुले अमरगढी नगरपालिकाको सवारी साधन दुरुपयोग गरेर मतदाता ओसार्ने काम भएको बताए।

‘एक पटक होइन्, पटक, पटक नगरपालिकाको सवारी साधनमा विद्यार्थीलाई बोकेर मतदानस्थलसम्म पुगाइएको छ,’ विद्यार्थी नेता करन साउँदले भने, ‘यसवाहेक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा स्ववियु निर्वाचन प्रभावित पार्न आचारसंहिताको धज्जी उडाउने काम भएको छ।’

डडेल्धुरामा जसरी पनि नेपाल विद्यार्थी संघलाई विजयी गराउनु पर्ने भन्दै क्याम्पस प्रशासनले पनि मतदाता प्रभावित पार्न खोजिरहेको भन्दै विद्यार्थी नेताहरुले आक्रोश ब्यक्त गरेका छन्। स्ववियु निर्वाचन प्रभावित तुल्याउन निर्वाचनको मिति घोषणा भएपछि विद्यार्थी भर्ना गरिएको आरोप छ।

You might also like