डडेल्धुराको समृद्धीका आधारहरु विषयक अन्तरकृया कार्यक्रम समपन्न

राम धामी
८ फाल्गुन
डडेल्धुरा जिल्लाको समृद्धीका लागि व्यवसायीक कृषि उत्पादन मुख्य आधार रहेको आर्थिक क्षेत्रका जानकार तथा सरोकारवालाहरुले बताएका छन ।
डडेल्धुरा सदरमुकाममा सोमबार सम्पन्न डडेल्धुराको समृद्धीका आधारहरु विषयक अन्तरकृया कार्यक्रममा सहभागी स्थानीय विज्ञ तथा सरोकारवालाहरुले कृषिमा आधारित अर्थतन्त्रको विकास गर्न सकिएमात्रै डडेल्धुरा समृद्ध हुने दाबी गरेका हुन ।
पश्चिम टुुडै दैनिक धनगढीले आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै भिजन डडेल्धुराका परिकल्पनाकार समेत रहेका सुदूरपश्चिम प्रदेश सभाका साँसद डा. ताराप्रसाद जोशीले कृषि उत्पादनको व्यवसायीकरणमार्फत डडेल्धुरा समृद्ध हुने दाबी गरे ।
‘व्यवसायीक रुपमा कृषि उत्पादन बढाउन सकिने प्रयाप्त सम्भावना छन,’ उनले भने,‘कृषि उत्पादनका लागि प्रयाप्त उर्वराशक्ती भएको माटो छ । उत्पादनमा क्रियासिल हुनसक्ने उमेर समुहको जनसंख्याको बाहुल्यता छ । पुर्वाधार विकासमा जोडदिदैं उन्नत प्रविधिको प्रयोग गरेर वृहत्तर उत्पादनमा जोड दिने हो भने बजारीकरणका लागि पनि खासै समस्या छैन ।’
भारतीय कृषि उपज सस्तोमा भित्रिने गरेकाले यँहाका किसानहरुलाई प्रतिष्प्रर्धा गर्न कठिनाई रहेको बताउँदै उनले स्थानीय कृषि उपजको लागत मुल्य घटाउन उत्पादनमा आधारित अनुदानको व्यवस्था गरिनुपर्ने र वास्तविक किसानसम्म अनुदान पुग्नुपर्ने औल्याए ।
कृषि क्षेत्रको व्यवसायीक विकास हुन सकेमात्रै कृषिमा आधारित अन्य उद्यमहरुको सम्भावनाको ढोका खुल्ने दाबीगर्दै साँसद जोशीले विदेशमा गएर जस्तोसुकै काम पनि गर्न पछि नहटने तर आफ्नो भूमिमा पसिना बगाउन नसक्ने अबस्थाका कारण कृषि क्षेत्र ओझेलमा परेको बताए ।
अपार सम्भावनाको खानी भएकाले कृषि क्षेत्रको व्यवसायीक विकासका लागि कृषिमा आधारित उद्योग स्थापना गर्न राज्यले लगानी गर्नुपर्ने साँसद जोशीको माग छ । उनले राज्यको खराब नीतिकै कारण मुलुकमा कृषि क्रान्ती ल्याउन नसकिएको जिकिर गरे ।
कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सभाकी साँसद सरस्वती खड्काले कृषि क्षेत्रको दिगो र व्यवसायीक विकासबाटै डडेल्धुरा समृद्ध हुने दाबी गरिन । उनले किसानले उत्पादनको उचित मुल्य पाउने वातावरण बन्न नसकेकोले विचौलियाहरुको ब्रम्हलुट हुन नदिन राज्यले नीतिगत रुपमै सुधार गर्नुपर्ने बताइन ।
कृषि उपजको बजारीकरण गर्न कृषिजन्य उत्पादनमा आधारित उद्योगहरुको विकास गरिनुपर्ने बताउँदै अधिवक्ता विष्णु भट्टले डडेल्धुराको समृद्धीकालागि कृषि प्रमुख आधार भएकाले एक गाउँ एक उत्पादनमा जोड दिनुपर्ने सुझाए ।
आर्थिक विकास र समृद्धीका लागि सुशासन पहिलो सर्त भएको जिकिरगर्दै उनले सुशासनको अभ्यास बिना विकासको प्रतिफल प्राप्त हुन नसक्ने बताए । ‘सुशासनको प्रत्याभुती हुनेगरि कृषि क्षेत्रमा राज्यले लगानी गर्नुपर्छ,’ उनले भने,‘अनुदान वास्तविक किसान सम्म् पुग्न नसक्नुको कारण सुशासनको कमि हो ।’
कृषिमा आधारित पर्यापर्यटनको अपार सम्भावना भएकाले पुर्वाधार विकास र पर्यटन संस्कृतिको विकासका लागि योजनाहरु आवश्यक रहेको पत्रकार गणेश मगरले बताए । ‘डडेल्धुरामा धार्मिक पर्यटन प्रवद्र्धन, जडिबुटी खेती, फलफूल र नगदे बालीको उत्पादनमा जोड दिन सकिएमा नारामा नभई वास्तविक रुपमै डडेल्धुरा समृद्ध बन्नसक्छ ।’ उनले भने ।
ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराका कार्यकारी निर्देशक अमर साँउदले डडेल्धुरा जिल्लाको वातावरण निकै अनुकल भएकाले यँहा ठुला शैक्षिक प्रतिष्ठान र अस्पतालहरु सञ्चालन गर्न सकिने बताए । उनले हाल सुदूरपश्चिम प्रदेशका साथ पहाडी जिल्ला पुग्न डडेल्धुराको बाटो भएर जानुपर्ने अबस्थामा पनि यँहाको आर्थिक विकास हुन नसकेको बताउँदै निकट भविष्यमै बिभिन्न द्रुतमार्गहरु बनिरहेकाले डडेल्धुरा जिल्लालाई हिलस्टेसनका रुपमा विकास गर्न आवश्यक रहेको बताए ।
कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले उर्वराशक्ती प्रयाप्त भएको माटो भएकाले कृषिका लागि डडेल्धुरा उपयुक्त भए पनि पुर्वाधारको अभावका कारण व्यवसायीक कृषि उत्पादन चुनौतीपुर्ण बन्दै गएको जिकिर गरे । उनले सिँचाईको अभाव, जमिनको खण्डीकरण, उत्पादन लागत बढि हुनु र निर्वाहमुखी कृषिप्रणाली कायमै रहेकाले कृषिको व्यवसायीकरण हुन नसकेको बताए ।
कृषि क्षेत्र संघीयता पश्चात निकै ओझेलमा परेको दाबीगर्दै उनले तीनवटै तहका सरकारबीच समन्वय र सहकार्य हुन नसकेमा मुलुकको विकास सम्भव नहुने बताए । वास्तविक आवश्यकताका आधारमा योजना तर्जुमा गर्नुपर्नेमा जोडदिदैँ उनले पहुँच र पैसाको भरमा योजना ल्याउने प्रवृतिका कारण योजनाहरु प्रभावकारी र उपलब्धीमुलक बन्न नसकेको जिकिर गरे । कार्यक्रममा बोल्दै नागरिक समाज डडेल्धुराका संयोजक रमेश जोशीले ठुलाठुला सपना देखाउने र आश्वासन बाडने तर समान्य किसिमको काम पनि नगर्ने परिपाटीका कारण मुलुकको समृद्धी ओझेलमा परेको बताए ।
उनले डडेल्धुराको समृद्धीका लागि कृषि, पर्यटन र पुर्वाधार विकासमा जोड दिइनुपर्ने औल्याए । डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले संघीय सरकारले डडेल्धुरा जिल्लामा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरिसकेको र संघीय सरकार मातहतको एकमात्रै विशिष्ठ श्रेणीको अस्पताल डडेल्धुरामा रहेकाले स्वास्थ्य सेवाको पहुँच बढाउन सकिएमा डडेल्धुरा समृद्ध हुने बताए । उनले डडेल्धुरा शैक्षिक हवसँगै उपचारका लागि सुदूरपश्चिम प्रदेशको केन्द्रविन्दु बन्न सक्ने सम्भावना रहेको बताए । नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले स्थानीय तहले बजेट अभावका कारण कृषि क्षेत्रको विकासमा खासै योगदान पु¥याउन नसकिएको बताए ।
‘अझै पनि बस्तीहरुमा खानेपानी समस्या समाधान गर्न सकिएको छैन, सिँचाई योजना निर्माण गर्न जरुरी छ,’ उनले भने,‘तर, बजेट अभावका कारण चाहेरै पनि केहि गर्न सकिने अबस्था छैन ।’ भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले पहाडी क्षेत्रबाट तराईका जिल्लातिर बसाई सर्ने क्रम बढ्दै गएकाले अधिकांस कृषि योग्य जमिन बाझो बन्दै गएको बताए । उनले फलफूल उत्पादनका लागि अग्रणी मानिने भागेश्वर गाउँपालिकामा दलहन र खाद्यान उत्पादनका प्रयाप्त सम्भावना भए पनि कृषि योग्य भूमी बाँझै रहनु प्रमुख समस्या रहेको जिकिर गरे ।
कार्यक्रममा बोल्दै डडेल्धुरा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दीपक महताले कृषिसँगै धार्मिक पर्यटन प्रवद्र्धनमा लगानी गर्न सकिएमा डडेल्धुरा समृद्ध हुने जिकिर गरे । उनले स्थानीय उत्पादनमा आधारित साना उद्योगहरुको विकासका लागि लगानी चाहिने र लगानी प्रवद्र्धनका लागि सरकार प्रतिवद्ध हुन जरुरी रहेको बताए । पश्चिम टुडे दैनिकले आफ्नो बार्षिकोत्सवका अवशरमा प्रकाशन गर्ने विशेषांकका लागि सुदूरपश्चिम प्रदेशमा समृद्धीका आधारहरु विषयमा विशेष सामाग्री प्रकाशन गर्न यँहाका नौ वटै जिल्लामा अन्तरकृया गरिरहेको र अन्तरकृया कार्यक्रममा आएका विचारहरुको निष्कर्षका आधारमा विशेष सामाग्री प्रकाशन गरिने प्रधान सम्पादक दीर्घराज उपाध्यायले जानकारी दिए ।

You might also like
Leave A Reply

Your email address will not be published.