गड्यौला मल उत्पादन गरेर बार्षिक लाखौं आम्दानी गर्दै डडेल्धुराका चन्द्र ठकुराठी

राम धामी

डडेल्धुरा, २७ माघ

डडेल्धुराको भागेश्वर गाउँपालिका–४ किमौलाका चन्द्र ठकुराठीले गड्यौला मल उत्पादन गरेर बार्षिक लाखौं रकम आयआर्जन गरिरहनु भएको छ ।

२०६७ साल फागुनदेखि गड्यौला मल उत्पादन गरिरहनु भएका ठकुराठीले यसबर्ष मात्रै २० टन गड्यौला मल सुदूरपश्चिमका बिभिन्न जिल्लाहरुमा निर्यात गर्नु भएको छ भने जिल्लाभित्र र छरछिमेकका बस्तीहरुमा पनि प्रतिकिलो रु ३५ रुपैयाँका दरले गड्यौला मल बिक्री गरिरहनु भएको छ ।

सशस्त्र युद्धका बेला तत्कालिन नेकपा (माओवादी) को नेतृत्वमा रहेर बिभिन्न स्थान घुम्ने क्रममा ठकुराठीले गड्यौला मल उत्पादनका बारेमा थाहा पाउनु भएको हो । ‘आफ्नो ठाँउमा पनि गड्यौला मल उत्पादन गर्न पाए व्यवसायिक कृषि विकासमा क्रान्ति ल्याउन सकिन्छ भन्ने लागेर उत्पादन सम्बन्धी जानकारी लिएको थिए,’ उँहाले भन्नुभयो,‘हाल व्यवसायीक रुपमा गड्यौला मल उत्पादन गरिरहेको छु ।’

भागेश्वर गाउँपालिका व्यवसायीक तरकारी र फलफूल उत्पादनका लागि अग्रणी मानिन्छ । ठकुराठीले पनि गड्यौला मल उत्पादनसँगै व्यवसायीक रुपमा भैसीपालन र बेमौसमी तरकारी तथा फलफूल खेती गरिरहनु भएको छ । विद्यार्थी जीवनदेखिनै राजनीतिमा होमिनु भएका ठकुराठी २०५६ सालदेखि होलटाइमर भएर माओवादी राजनीतिमा लाग्नु भएको हो ।

ठकुराठीले गड्यौला मल उत्पादन गर्न थालेपछि प्रदेश कृषि विकास निर्देशनालय दिपायलबाट भौतिक संरचना निर्माण गर्न तीन लाख ५० हजार र कृषि ज्ञान केन्द्र डडेल्धुराबाट गोदाम घर निर्माण गर्न तीन लाख अनुदान रकम पाउनु भएको छ । यसवाहेक पाँच लाख रुपैया बैंकको ऋण समेत लिएर गड्यौला मल उत्पादनका लागि झण्डै ३० लाख बराबरका भौतिक संरचना निर्माण स्वलगानीमा गरिएको उँहाले बताउनु भयो ।

गड्यौला मल उत्पादन सँगै ठकुराठीले स्थापना गर्नुभएको कृषि तथा पशुपालन फर्ममा परिवारका सात जनाले पूर्णकालिन रुपमा काम गरिरहनु भएको छ भने तीन जनाले ज्यालादारीमा काम गरिरहनु भएको छ । ‘कृषि विज्ञानमा कक्षा १२ उत्तिर्ण दुई जना भतिजाहरु पनि सँगै काम गरिरहनु भएको छ,’ ठकुराठीले भन्नुभयो,‘युवाहरु कामका लागि विदेसिने प्रचलन बढ्न थालेका बेला स्थानीय स्तरमा स्वरोजगारी प्रर्वद्धनसँगै कृषि उत्पादनमा आत्मनिर्भर बन्न आफ्नै बारीमा पसिना बगाई रहेको छु ।’

राजनीतिमा लागेका मानिसहरु काम नगरेरै धनी बन्ने गरेकाले राजनीति प्रति वितृष्णा बढे्का बेला समुदाय स्तरमा आत्मनिर्भरताको अभ्यास गर्न आफु व्यवसायीक रुपमा कृषि पेशामा लागेको ठकुराठीले बताउनु भयो । वास्तविक किसानसम्म सरकारी अनुदान र सेवा सुविधा पुग्न नसकेको अनुभव सुनाउनु हुँदै उँहाले गरिखाने किसानलाई सहयोग गर्ने नीति राज्यले लिुनुपर्ने बताउनु भयो ।

हाल नेकपा माओवादी केन्द्र भागेश्वर गाँउपालिकाका इन्चार्ज रहनुभएका ठकुराठीले राजनीतिसँगै कृषि व्यवसायलाई निरन्तरता दिने योजना बनाउनु भएको छ । अर्गानिक कृषि उत्पादनका लागि गड्यौला मल निकै लाभदायकर प्रभावकारी हुने भए पनि व्यवसायीक किसानहरुले अझै रसायनिक मल प्रयोग गर्न नाछाडेको अबस्थामा कृषि ज्ञान केन्द्रले उत्पादित मल वितरणमा सहयोग गरिरहेको जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले सुदूरपश्चिम प्रदेशमै गड्यौला मल उत्पादनका क्षेत्रमा सिर्जनात्मक काम गरेर ठकुराठीले अर्गानिक कृषि उत्पादनका क्षेत्रमा महत्वपुर्ण योगदान पुगाउनु भएको बताउनु भयो । कृषि ज्ञान केन्द्रसँग बजेट र कार्यक्रमको अभावमा ठकुराठीलाई खासै सहयोग गर्न नसकिए पनि उँहाले उत्पादन गर्नुभएको मल बिक्री वितरणमा सहजीकरण गरिररहेको उँहाले जानकारी दिनुभयो ।

व्यवसायीक रुपमा भैसीपालन गरिरहनु भएका ठकुराठीले भैसीको मलमुत्र प्रयोग गरेर गड्यौला मल उत्पादन गरिराख्नु भएकाले कृषिजन्य उत्पादनका लागि गड्यौला मल निकै प्रभावकारी रहेको भट्टले बताउनु भयो । ‘अनियन्त्रित र अवैज्ञानिक रुपमा जथाभावी रसायनिक मलको प्रयोग गर्ने प्रवृती बढ्दै गएकाले माटोको उर्बराशक्ति कमि हुँदै गएको छ,’उँहाले भन्नुभयो,‘गड्यौला मलको प्रयोगबाट व्यवसायीक कृषि उत्पादन गर्ने परिपाटीको विकास हुन सकेमा दिर्घकालिन रुपमा दिगो कृषि विकासँगै माटोको उर्बरा शक्ती बढाउन सकिन्छ ।’  

You might also like
Leave A Reply

Your email address will not be published.